Skip to main content
Advertisementxtreme adv

अमेरिकाले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन गर्‍यो

संयुक्त राष्ट्र महासभामा सहभागिता गर्न न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञलाई अमेरिकाले देशबाट निष्कासन गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडाइ र अन्तिम म्याद बितिसकेपछि उनीहरूले देश नछाडेपछि अमेरिकाले यसलाई औपचारिक रूपमा पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो कामप्रति कडा छन्। महासभा सकिएको लामो समय बितिसक्दा पनि इरानी प्रतिनिधिमण्डलका दुई सदस्य अझै न्युयोर्कमै भेटिएका थिए। उनीहरूको बसाइँको अवधि सकिएपछि उनीहरूलाई निष्कासन गरिएको हो।’

अमेरिकी अधिकारीहरूका अनुसार विदेश मन्त्रालयले गत सोमबार संयुक्त राष्ट्रका लागि इरानी मिसनलाई सम्पूर्ण प्रतिनिधिमण्डल तुरुन्त फिर्ता लैजान कडा आदेश दिएको थियो। तर, इरानले भने सोमबार विदेश मन्त्री अब्बास अरागची नेतृत्वको टोली पूर्वनिर्धारित तालिकाअनुसार फर्किसकेको र अमेरिकाले झुटा समाचार फैलाएको दाबी गरेको छ। इरानको खण्डनका बाबजुद, शुक्रबार अमेरिकी अधिकारीहरूले इरानका दुई कूटनीतिज्ञ अझै न्युयोर्कमै रहेका पत्ता लगाएपछि उनीहरूलाई तत्काल अमेरिका छाड्न अन्तिम चेतावनी दिएका थिए। त्यसपछि एक कूटनीतिज्ञ शुक्रबार राति र अर्को शनिवार बिहान अमेरिकाबाट बाहिरिएका छन्। होर्मुज जलमार्ग खोलेर क्षेत्रीय युद्धविराम र परमाणु कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताहरू कुनै निष्कर्षमा नपुगी टुंगिएपछि वासिङ्टन र तेहरानबीच सम्बन्ध अझ जटिल बन्दै गएको छ। कूटनीतिक प्रयासहरू असफल भइरहेका बेला र नयाँ सैन्य भिडन्तको जोखिम बढिरहेको अवस्थामा अमेरिकाको यो कदम तेहरानमाथि थप दबाब सिर्जना गर्ने रणनीति अन्तर्गत मानिन्छ।