
२० असोज, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी लामो समयकी कप्तान हरमनप्रीत कौरले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएकी छन्। यद्यपि, उनी राष्ट्रिय टोलीबाट खेल्न भने जारी राख्नेछिन्। हरमनप्रीतको निर्णय भारतले एसियन गेम्समा महिला क्रिकेटतर्फ लगातार दोस्रो स्वर्ण जितेको केही दिनपछि आएको हो।
उनको नेतृत्वमा भारतले गत नोभेम्बरमा पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि पनि जितेको थियो। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को गुवाहाटीमा बसेको समीक्षा बैठकपछि हरमनप्रीतले कप्तानी छाड्ने निर्णय सार्वजनिक गरेकी हुन्। बीसीसीआईका सचिव देवजीत सकियाको अध्यक्षतामा बसेको बैठकमा मुख्य प्रशिक्षक अमोल मजुमदार र उपकप्तान स्मृति मन्धाना पनि सहभागी थिए।
३७ वर्षीया हरमनप्रीतले सन् २०१६ देखि भारतीय टी–२० टोलीको कप्तानी सम्हाल्दै आएकी थिइन्। उनले सन् २०२२ मा एकदिवसीय टोलीको कप्तानी सम्हालेकी थिइन् भने २०२३ मा तीनवटै प्रारूपको कप्तान बनेकी थिइन्। कप्तानी छाड्ने घोषणा गर्दै हरमनप्रीतले यो निर्णय सहज नभएको बताएकी छन्। उनले कप्तानीसँग जोडिएका बर्षौंका सम्झना, भावना, त्याग र महत्वपूर्ण क्षणहरू जीवनभर आफूसँग रहने बताइन्। ‘अब म फेरि खेलप्रतिको प्रेमका लागि खेल्न तयार छु। कप्तानीको अन्त्य भएको छ, यात्रा भने जारी छ’ उनले भनेकी छन्।
हरमनप्रीतले आफू भावनाले भरिएको अवस्थामा भए पनि शान्त मनले कप्तानी छाडेको बताउँदै भारतीय टोली अहिले राम्रो अवस्थामा रहेकोमा आफू विश्वस्त रहेको उल्लेख गरेकी छन्।






