
आगामी ठूला चाडपर्वहरूलाई लक्षित गर्दै बुधवारदेखि देशभरि विशेष सुरक्षा योजना कार्यान्वयनमा आएको छ भनी नेपाल प्रहरीका प्रवक्ताले जानकारी दिएका छन्। सर्वसाधारणको सुरक्षा मात्र नभई औद्योगिक प्रतिष्ठान र सडक सुरक्षासम्मका विषयहरू विशेष सुरक्षा योजनामा समेटिएको उनले बताए। नेपाल प्रहरीले एक पूर्वअतिरिक्त महानिरीक्षकको सुझावअनुसार पछिल्लो विपद् र बेरोजगारीको अवस्थालाई हेर्दा चोरी र लुटपाटका घटना बढ्न सक्छन् भनी त्यसअनुसार रणनीति तयार गर्नुपर्नेमा जोड दिएको छ। प्रहरीले जनाएका अनुसार करिब डेढ महिना, अर्थात् छठपर्वको भोलिपल्ट कार्तिक ३० गतेसम्म यो विशेष सुरक्षा योजना लागू रहनेछ। कतिपय जिल्लाले केही दिनअघि यो योजना लागू गरिसकेका थिए भने अब बुधवारदेखि देशभरि लागू गरिएको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।
विशेष सुरक्षा योजनाअन्तर्गत देशभरि ५० हजारभन्दा बढी प्रहरी खटाइने बताइएको छ। योजना कार्यान्वयनको समयावधि बढाइएको र थप जनशक्ति तथा प्रविधिको उपयोग गरिएको कारण यसपालीको योजना विगतका भन्दा भिन्न रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए। उनका अनुसार विगतमा घटनाक्रमपछि सुरक्षा योजना लागू गरिन्थ्यो भने यसपटक अलि अघिदेखि नै योजना कार्यान्वयनमा आएको छ। “घर तथा व्यवसायिक प्रतिष्ठानहरूको विशेष सुरक्षा व्यवस्था गरिएको छ। सवारी दुर्घटना कम गर्न यात्रु र राजमार्ग सुरक्षा विशेष व्यवस्था गरिएको छ,” काफ्लेले बताए।
महिला, बालबालिका, ज्येष्ठ नागरिक र लैङ्गिक एवं यौनिक अल्पसंख्यकहरूको सुरक्षामा पनि विशेष ध्यान दिने प्रहरीले जनाएको छ। विगतमा बढ्दो एआई दुरुपयोग र डिजिटल माध्यमबाट हुने ठगीसमेत यस योजनामा समावेश गरिएको छ। “डिजिटल ठगीमा विशेष निगरानी छ। फेक अनलाइन शपिङ, फेस्टिभ अफर, नक्कली चिठ्ठा र उपहार सम्बन्धि मेसेज, फेक इन्भेस्टमेन्ट प्राफिट स्किम आदि घटना हुन सक्छ। एआई प्रयोग गरेर फेक अडियो र भिडिओ निर्माण हुनसक्छ,” काफ्लेले जानकारी दिए।
टेक्नोलोजीको प्रयोगमा आधारित सुरक्षा निगरानी भएता पनि सीसीटीभीबाट मुख्य बजार, चोक, नाका र भीडभाड हुने ठाउँमा निगरानी बढाइएको छ। ड्रोन प्रयोगमा वृद्धि गरिएको र एरियल सर्भेल्यान्स समेत गरिरहेको प्रहरी मन्त्रालयले जनाएको छ। शरीरमा जडान गरिने क्यामरासहित अधिकतम प्रहरीलाई उपलब्ध गराइन्छ भने आवश्यक स्थानमा सुँघ्ने कुकुरद्वारा ‘सर्च अपरेशन’ पनि सञ्चालन गरिने छ।
सुरक्षाविद्हरूले चाडपर्वका बेला समूहबीच झैझगडा हुन सक्ने र सीमाना क्षेत्रमा तस्करी लगायतका घटना बढ्ने खतरा रहेको बताएका छन्। “बेरोजगारी र महंगीका कारण लुटपाट, चोरी, डकैती जस्ता आर्थिक अपराध बढ्न सक्ने खतरा यथावत छ,” पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले बताए।
अपराध नियन्त्रण र घटनाको सफल अनुसन्धानमा विशेष ध्यान दिइएको भन्दै केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले सर्वसाधारणलाई निश्चिन्त भएर चाडपर्व मनाउन आग्रह गरे।






