Skip to main content

फ्रान्समा विद्यार्थी आन्दोलनले सार्वजनिक ऋण संकट उजागर, युरोपभर आर्थिक प्रभावकाे जोखिम

लण्डन । फ्रान्समा अभूतपूर्व रूपमा फैलिएको विद्यार्थी आन्दोलनले देशको वित्तीय दबाबको स्थिति उजागर गरेको छ। युरोपको दोस्रो ठूलो अर्थतन्त्रले बढ्दो बजेट घाटालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला यो समस्या समाधान अझै कठिन देखिन्छ। फ्रान्सको सार्वजनिक वित्तीय अवस्था अहिले जोखिमपूर्ण बनेको छ। देशको तथ्यांक विभागका अनुसार जुन महिनामा फ्रान्सको सार्वजनिक ऋण ४ ट्रिलियन डलरभन्दा बढी पुगेको थियो, जुन देशको कुल अर्थतन्त्रको आकारभन्दा पनि ठूलो हो। ऋणपत्रको प्रतिफल बढेसँगै उक्त ऋणको ब्याज तथा व्यवस्थापन लागत पनि गत वर्षको तुलनामा अर्बौँ डलरले वृद्धि भएको छ।

यसैबीच, सरकारी खर्चमाथि दबाब बढिरहेको छ। वृद्ध जनसंख्याका कारण पेन्सन खर्च बढिरहेको छ भने सरकारले रक्षा क्षेत्रमा समेत थप खर्च गर्ने तयारी गरिरहेको छ। उता, माध्यमिक तहका विद्यार्थीहरूले कर्मचारी अभाव समाधान गर्न, कक्षाकोठामा हुने अत्यधिक भीड कम गर्न तथा जीर्ण विद्यालय पूर्वाधार सुधार गर्न माग गरिरहेका छन्। फ्रान्सको वित्तीय समस्या समाधान गर्ने प्रयासले पूर्वमा पनि सामाजिक असन्तोष निम्त्याएको थियो। सन् २०२३ मा अवकाशको उमेर बढाउने सरकारको प्रयासविरुद्ध व्यापक प्रदर्शन भएका थिए।

गत साता फ्रान्सेली सरकारले बजेट घाटा कम गर्ने उद्देश्यले सरकारी खर्चमा ठूलो कटौती र कर वृद्धि प्रस्ताव गरेको थियो। तर अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि सांसदहरूले यी वित्तीय उपायलाई कमजोर बनाउन सक्ने भन्दै ऋणपत्रका लगानीकर्ता चिन्तित रहेको क्यापिटल इकोनोमिक्सका प्रमुख युरोपेली अर्थशास्त्री एर्न्ड्यु केनिङहमले बताए। आगामी निर्वाचनमा राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई दक्षिणपन्थी वा वामपन्थी उम्मेदवारले विस्थापित गर्नसक्ने सम्भावनाले फ्रान्सको वित्तीय अनुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।

दक्षिणपन्थी नेसनल र्‍याली पार्टीकी मरिन ले पेनले हालै सार्वजनिक वित्त स्थिर बनाउन ठूलो मात्रामा सरकारी खर्च कटौतीको प्रस्ताव गरे पनि उनको पार्टी महँगा कर कटौतीका योजनामा प्रतिबद्ध रहेको केनिङहमले बताए। ‘निर्वाचनपछि वित्तीय लोकप्रियतावाद बढ्न सक्ने विषयमा लगानीकर्ताले चिन्ता राख्नेछन्। अर्को वर्षको निर्वाचनअघि वा पछि ऋणपत्रको प्रतिफलबीचको अन्तर निकै बढ्ने ठूलो जोखिम छ,’ उनले भनेका छन्। ऋणपत्रको प्रतिफलमा ठूलाे वृद्धि हुँदा फ्रान्समा सम्भावित ऋण संकट सम्बन्धी चिन्ता गत साता उत्कर्षमा पुगेको थियो। यसले फ्रान्सेली सरकारी ऋणपत्रमा ठूलो बिक्री दबाब सिर्जना गर्नुका साथै प्रतिफलमा तीव्र वृद्धि गरायो।

फ्रान्स र जर्मनीको सरकारी ऋणपत्रको प्रतिफलबीचको अन्तर सन् २०१२ यताकै उच्च स्थानमा पुगेको छ। यसको मतलब लगानीकर्ताले जर्मनीको तुलनामा फ्रान्सको ऋणमा धेरै बढी प्रतिफल मागिरहेका छन्। जर्मनीलाई तुलनात्मक रूपमा सुरक्षित लगानी मानिन्छ। फ्रान्सेली ऋणपत्र बजारमा आएको गिरावटले युरोपका अन्य उच्च प्रतिफल भएका ऋण बजारमा पनि यसको प्रभाव फैलने जोखिम बढाएको छ। केही विश्लेषकले यसलाई सन् २०१० को युरोजोन ऋण संकटसँग तुलना गरेका छन्।

अक्सफोर्ड इकोनोमिक्सका प्रमुख युरोपेली अर्थशास्त्री एन्जेल तालाभेराले भने, ‘फ्रान्सको आकार र प्रणालीगत महत्वलाई ध्यानमा राख्दा यसले युरोजोन र अन्य युरोपेली देशहरूमा असर पु-याउने सम्भावना धेरै छ र सम्पूर्ण क्षेत्रका लागि गम्भीर संकट निम्त्याउन सक्छ।’ यही चिन्ताका कारण सोमबार युरो अमेरिकी डलरको तुलनामा २०२५ को मे महिनापछि कमजोर भएको थियो। युरोपेली संघका २१ देशहरूले प्रयोग गर्ने युरो करिब १.१२ डलरसम्म थियो र केहि समय १.१२ डलरबाट तल झरेको पनि थियो।

फ्रान्सबाहिर पनि उच्च जोखिम पछिल्लो समय वित्तीय बजारमा देखिएको अस्थिरताले युरोपको कमजोर आर्थिक पुनरुत्थानमा असर पुर्याउनसक्ने देखिन्छ। एआईमा भएको लगानी, युरोपेली निर्यातको बढ्दो माग तथा जर्मनीमा रक्षा खर्च वृद्धि हुँदा युरोपको अर्थतन्त्र केही बलियो बनेको छ। हालै सार्वजनिक सर्वेक्षण अनुसार गत महिनामा युरोजोनको उत्पादन र सेवा क्षेत्रमा तीन वर्षयताकै तीव्र गतिमा आर्थिक गतिविधि बढेको थियो। ‘आर्थिक वृद्धि पुनः गति लिँदैछ र युरोपले अपेक्षा गरेभन्दा बढी लचकता देखाएको छ,’ मोर्गन स्टान्लीले भनेका छन्।

तर बढ्दो सरकारी ऋणपत्रको प्रतिफल आर्थिक वृद्धिका लागि स्पष्ट जोखिम बनेको छ। नेदरल्यान्ड्सको बैंक आईएनजीका समष्टिगत अर्थशास्त्र प्रमुख कार्स्टेन ब्रेज्स्कीले भने, ‘सरकारहरूले खर्च कटौती नगरे ब्याजदर निरन्तर बढ्नेछ।’ सरकारी ऋणपत्रको प्रतिफल बढ्दा समग्र अर्थतन्त्रमा ऋण लिन महँगो हुन्छ। यसले घर र गाडी खरिदको लागत बढाउने तथा लगानी घटाउने काम गर्छ। सरकारका लागि पनि ऋण लिन महँगो हुने भएकाले प्रतिफल अझ बढ्न नदिन निश्चित स्तरको खर्च कटौती जरुरी हुन्छ।

सार्वजनिक ऋणको दिगोपनाबारे चिन्ता बढ्दै जाँदा पछिल्ला केही सातामा फ्रान्स, जर्मनी र बेलायतका सरकारी ऋणपत्रहरुको प्रतिफल बहुवर्षीय उच्चतम तहमा पुगेको छ। क्यापिटल इकोनोमिक्सका उपप्रमुख युरोजोन अर्थशास्त्री ज्याक एलेन–रेनोल्ड्सले भने, ‘युरोपको सार्वजनिक वित्तीय अवस्थाले युरोजोनको वित्तीय बजार र अर्थतन्त्रका लागि गम्भीर जोखिम सिर्जना गरेको छ।’