Skip to main content

एन्फा कार्यसमिति बैठक बोलाउन वरिष्ठ उपाध्यक्षसहित ११ सदस्यको आग्रह

२२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बोलाउन वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ सदस्यहरूले माग गरेका छन् । एन्फाको विधानको धारा ३१(२) अनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ । यसै व्यवस्थाअनुसार कार्यसमितिका ११ जना सदस्यले बैठक बोलाउन माग गरेका हुन् । बैठकमा एन्फाको वर्तमान अवस्था, नेपाली फुटबलको विकासका लागि सरकारसँग पहल तथा समन्वय, एन्फाको निर्वाचन प्रक्रिया, तथा एन्फाका सदस्य दिलिप धिमालको निधनप्रति शोक प्रस्तावलगायतका विषयमा छलफल गर्नुपर्ने माग गरिएको छ।

मागपत्रमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसीले हस्ताक्षर गरेका छन्। त्यस्तै सदस्यहरू महेन्द्र क्षेत्री, मनिप जोशी, पेमा डोल्मा लामा, रवीन्द्र चन्द, रुपेश अधिकारी, टीकाराम लामा र भरतबहादुर बुढाथापा पनि मागपत्रमा हस्ताक्षर गरेका छन्। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले २४ जुनदेखि एन्फालाई निलम्बनमा राखेको छ। नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत खेल मिलेमतो तथा ठगीसम्बन्धी आरोपमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे हिरासतमा छन् भने नेम्वाङ र राईलाई अझै नियन्त्रणमा लिइएको छैन।