Skip to main content
Advertisementxtreme adv

धनञ्जय डी सिल्भाले श्रीलंकाको टेस्ट क्रिकेट कप्तानीबाट राजीनामा दिए

२२ असोज, काठमाडौं । श्रीलंकाका टेस्ट कप्तान धनञ्जय डी सिल्भाले तत्काल लागू हुने गरी कप्तानीबाट राजीनामा दिएका छन्। ३५ वर्षका डी सिल्भाले भने खेलाडीका रूपमा राष्ट्रिय टोलीका लागि उपलब्ध रहने बताएका छन्। उनले श्रीलंका क्रिकेटको छनोट समितिलाई पठाएको पत्रमा नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको उल्लेख गरेका छन्। ‘मेरो इमानदार विचारमा नेतृत्वको जिम्मेवारी अब अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’ उनले पत्रमा भनेका छन्।

डी सिल्भाले सन् २०२४ देखि २०२६ सम्म श्रीलंकाको टेस्ट टोलीको नेतृत्व गरेका थिए। उनको कप्तानीमा श्रीलंकाले १८ टेस्ट खेल्दा सातमा जित, आठमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको थियो। दिमुथ करुणारत्नेले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि डी सिल्भालाई २०२४ मा श्रीलंकाको टेस्ट कप्तान नियुक्त गरिएको थियो।

उनको नेतृत्वमा श्रीलंकाले घरेलु मैदानमा अफगानिस्तान र बंगलादेशविरुद्ध तथा बंगलादेशको भ्रमणमा शृंखला जितेको थियो। घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध पनि श्रीलंकाले शृंखला जितेको थियो। कप्तानका रूपमा आफ्नो दोस्रो टेस्टमै डी सिल्भाले बंगलादेशविरुद्ध सिल्हेटमा दुवै इनिङ्समा शतक बनाएका थिए। उनका उत्कृष्ट प्रदर्शनमा श्रीलंकाले उक्त खेल ३२८ रनले जितेको थियो। कप्तानीका क्रममा उनले थप दुई शतक बनाएका थिए भने ब्याटिङमा ३६.४५ को औसत कायम गरेका थिए।

श्रीलंका क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एश्ली डी सिल्भाले धनञ्जयलाई बाँकी खेलाडी जीवनका लागि शुभकामना दिएर टेस्ट टोलीलाई दिएको नेतृत्वका लागि धन्यवाद व्यक्त गरेका छन्। श्रीलंका क्रिकेटले डी सिल्भाको स्थानमा नयाँ टेस्ट कप्तानको नाम सार्वजनिक गरेको छैन।