
हुथी विरुद्धको मोर्चामा पाकिस्तानको आत्मघाती यात्रा

विद्रोहीहरूबीच लामो समयदेखिको गृहयुद्ध पुनः तातिएपछि मध्यपूर्वको सुरक्षा समीकरणले नयाँ मोड लिएको छ। हुथी विद्रोहीहरूले साउदी अरबका तेल ट्याङ्कर तथा बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गर्दै आक्रमण तीव्र पारेपछि साउदी अरबले पाकिस्तान र टर्कीसँगको ऐतिहासिक ‘मक्का सुरक्षा सम्झौता’ सक्रिय बनाएको छ। यस सैन्य सम्झौता अनुसार, साउदी भूभाग र पवित्र स्थलहरूको रक्षाका लागि पाकिस्तानले आफ्ना सैनिक परिचालन गर्ने सहमति जनाएको छ, जसले पाकिस्तानलाई जटिल भूराजनीतिक र कूटनीतिक भूमिकामा फस्ने जोखिममा पुऱ्याएको छ।
आधिकारिक रूपमा ‘अन्सार अल्लाह’ भनेर चिनिने हुथीहरू मुख्य रूपमा यमनको उत्तर-पश्चिम सादाह प्रान्तका जियादी शिया सम्प्रदायका हुन्, जसको जनसंख्या यमनको कुल जनसंख्याको लगभग एक-तिहाइ भाग ओगटेको छ। सन् १९९० को दशकमा उत्तरी र दक्षिणी यमनको एकीकरणपछि स्थापित यो समूहले सन् २०१४ मा राजधानी सना कब्जा गरेपछि देशमा विनाशकारी गृहयुद्ध सुरु गरेको थियो। अमेरिका र युरोपेली सङ्घद्वारा आतंकवादी संगठनको सूचिमा राखिएका हुथीहरूले पश्चिम विरोधी तथा इजरायल विरोधी विचारधारा पालना गर्छन्। सन् २०२३ को अक्टोबरमा गाजा युद्ध सुरु भएपछि उनीहरूले लाल सागर, बाब अल-मन्देब र स्वेज क्यानल हुँदै जाने अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूमा निरन्तर क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेका छन्, जसका कारण विश्वव्यापी आपूर्ति श्रृंखला र इन्धन मूल्यमा गम्भीर प्रभाव परेको छ।
साउदी नेतृत्वको यस मोर्चामा पाकिस्तानको प्रवेशलाई अत्यंत संवेदनशील रूपमा हेरिएको छ। सुन्नी बहुल आणविक शक्ति राष्ट्र पाकिस्तानसँग साउदी अरबसँग लामो समयदेखि रणनीतिक तथा सैन्य सम्बन्ध रहेको छ। आर्थिक रूपमा संकटमा परेको पाकिस्तानका लागि साउदी अरब प्रमुख वित्तीय दाता हो, जसले हालै मात्र आठ अर्ब अमेरिकी डलर सहयोग र लगानी उपलब्ध गराएको छ। सन् १९९० को इराकी आक्रमणको समयमा पनि पाकिस्तानी सेनाले साउदी अरबका धार्मिक स्थलहरूको सुरक्षा गरेको इतिहास छ। तर सन् २०१५ मा साउदी नेतृत्वको यमन गठबन्धनमा सहभागी हुने प्रस्तावलाई पाकिस्तानी संसदले सर्वसम्मति स्वरूप अस्वीकार गरी तटस्थ रहने निर्णय गरेको थियो।
तर यसपटक गम्भीर आर्थिक निर्भरता र मक्का सम्झौताका कारण सेना प्रमुख असिम मुनिरको नेतृत्वमा पाकिस्तानले आफ्ना सैनिक पठाउने प्रतिबद्धता जनाएको छ। विश्लेषकहरूका अनुसार, पाकिस्तानका लागि यो सैन्य कदम आत्मघाती सावित हुनसक्छ। हाल पाकिस्तान आफैँ भारतसँग सीमा तनाव, अफगानिस्तान सीमामा सशस्त्र झडप र देशभित्र बढ्दै गएको आतंकवादसँग जुधिरहेको छ। यस परिस्थितिमा यमनको जटिल युद्धमा आफ्ना सैनिक परिचालन गर्दा सेनामा ठूलो दबाब पर्ला। साथै, इरानसँग सीमाना जोडिएको पाकिस्तानमा इरानपछि दोस्रो ठूलो शिया मुस्लिम जनसंख्या छ।
हुथीहरू विरुद्ध कारबाहीमा पाकिस्तानी सेना सहभागी भए देशभित्र ठूलो धार्मिक तनाव र शिया-सुन्नी साम्प्रदायिक हिंसाको खतरा उत्पन्न हुनसक्ने विश्लेषकहरूले औँल्याएका छन्। अर्कोतिर, इरानसँगको कूटनीतिक सन्तुलन बिग्रन सक्ने डर पनि इस्लामाबादमा छ। पाकिस्तानका लागि होर्मुज जलमार्ग र लाल सागर हुँदै आउने इन्धन आपूर्ति जीवनरेखा जस्तो छ, जसलाई इरान र हुथीहरूले जुनसुकै बेला अवरुद्ध गर्न सक्छन्। साउदी अरब आफ्ना महत्वाकांक्षी आर्थिक परियोजना र विदेशी लगानी जोगाउन हुथीहरूको खतराविरुद्ध निर्णायक कारबाही गर्न चाहन्छ, तर पाकिस्तान यमनको भूमिमा हुने प्रत्यक्ष युद्धबाट टाढा रहँदै साउदी अरबको आन्तरिक सुरक्षा र हवाई प्रतिरक्षामा मात्र सीमित हुन खोजिरहेको छ। टर्कीले पनि नाटो दायित्व र सिरियाली सीमाको सुरक्षा कारणले सैन्य परिचालनमा कत्तिको लचिलोपन देखाउने हो अझै स्पष्ट छैन। यसरी साउदी अरबको आर्थिक सहायता जोगाउने चासोमा पाकिस्तान मध्यपूर्वको कहिल्यै नटूट्ने युद्धमा तानिने जोखिम उच्च भएको छ। (एजेन्सीहरूको सहयोगमा)






