
२२ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी बोर्ड बैठक नेपालमा आयोजना गर्ने तयारी भइरहेको छ। नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले एनपीएल २०२६ को अवधिमा आईसीसीको बोर्ड बैठक नेपालमै राख्ने तयारी भइरहेको बताएका छन्। ‘आईसीसीको बोर्ड बैठक एनपीएलकै सन्दर्भमा नेपालमै आयोजना गर्ने विषय प्रायः अन्तिम चरणमा पुगेको छ, केही विषयहरु बाँकी छन्। चाँडै नै आधिकारिक जानकारी सार्वजनिक हुनेछ’ सिंहले बताएका छन्।
आईसीसीबाट प्रतिनिधिहरू उपस्थित हुने भएकाले नेपालको पर्यटकीय क्षेत्र र क्रिकेट विकासमा सकारात्मक प्रभाव पर्ने र थप सहयोग पुग्ने सिंहको विश्वास छ। एनपीएलको अन्तिम चरणका केही खेलहरू मात्र बाँकी रहेका बेला उक्त बैठक आयोजना गर्न सकिने सिंहले बताएका छन्। ‘त्यस बेला क्रिकेटको वातावरण समेत हेरेर आईसीसीले नेपालप्रति सकारात्मक दृष्टिकोण विकास होस् भन्ने वातावरण सिर्जना गर्न खोजिरहेका छौं’ उनले भने। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा अहिले एनपीएलका लागि तीव्र तयारी भइरहेका छन्।







