Skip to main content
Advertisementxtreme adv

संखुवासभामा स्क्रब टाइफस बिरामीको संख्या ५६० पुगेको छ

२२ असोज, संखुवासभा । संखुवासभामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको संख्या ५६० पुगेको छ । साउन यता स्क्रब टाइफसका ५६० जना सङ्क्रमित बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिएका छन् । वर्षायाममा घाँसपात र झाडी बढ्ने तथा त्यसमा काम गर्नेको संख्या बढेकाले स्क्रब टाइफस सङ्क्रमितको संख्या वृद्धि भएको बताइएको छ । चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामध्ये संखुवासभामा सबैभन्दा बढी सङ्क्रमण देखिएको उनले बताए ।

संखुवासभा कोशी प्रदेशमा पहिलो र देशभर तेस्रो स्थानमा रहेको सूचना अधिकारी श्रेष्ठले जनाएका छन् । उनका अनुसार साउनदेखि असोज २१ गतेसम्म जिल्लाका अस्पतालहरूमा ३९३ र विभिन्न पालिकास्थित स्वास्थ्य संस्थामा १६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । पछिल्लो समयमा जिल्लाको सभापोखरी गाउँपालिका स्क्रब टाइफसको उच्च जोखिममा रहेको जानकारी समेत दिइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी ११० र चैनपुर नगरपालिकामा ४३ जनामा स्क्रब टाइफस पुष्टि भएको उनले बताए । जिल्लामा अहिलेसम्म स्क्रब टाइफस सङ्क्रमणका कारण कुनै बिरामीको मृत्यु भएको छैन भनी जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितको संख्या बढ्दै गएपछि नियमित रूपमा तथ्यांक अद्यावधिक गर्न थालिएको सूचनाधिकारी श्रेष्ठले जानकारी दिएका छन्।