
नेपाल निर्वाचन २०८२ : १६१ स्थानको नतिजाको टुङ्गो, मतगणना ‘अन्तिम चरणमा’ पुग्दा समानुपातिकतर्फ के छ?
तस्बिर स्रोत, EPA/Shutterstock
प्रतिनिधिसभाको निर्वाचन सकिएको चौथो दिन सोमवार बिहानसम्ममा १६५ स्थानमा भएका मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै १२४ सीटमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।
रास्वपाले सुनिश्चित गरेको उक्त सीट बहुमतका लागि चाहिने १३८ भन्दा १४ सीट मात्र कम हो।
सोमवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फका कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६१ स्थानको टुङ्गो लागेको आयोगको विवरण छ।
यद्यपि समानुपातिक तर्फबाट राष्ट्रिय दल बन्नेहरूमाझ बाँडिने ११० सीटको टुङ्गो हुनै बाँकी छ।
समानुपातिकतर्फ समेत रास्वपा निकै अगाडि देखिएको छ। ७८ लाखभन्दा धेरै मतगणना भइसक्दा उक्त दलले करिब आधा मत पाएको देखिन्छ।
सोमवार बिहान ८ बजेसम्मको अवस्था अनुसार धनुषा-१ मा मतगणना अदालतमा मुद्दा परेका कारण रोकिएको छ गोरखा १, इलाम-१ र संखुवासभा-१ को अन्तिम परिणाम आउन बाँकी छ।
आयोगका एकजना प्रवक्ताले बीबीसीसँग कुरा गर्दै मतगणना “अन्तिम चरणमा” पुगेको बताउँदै धनुषा-१ को अवस्थामा अहिल्यै प्रस्ट भन्न नसकिने भए तापनि सोमवार अबेर वा मङ्गलवार बिहानसम्म अन्य सबैजसो नतिजा आइसक्ने अपेक्षा गरिएको बताएका छन्।
रास्वपा र दोस्रो दलबीचको फराकिलो अन्तर
प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपालाई नेपाली कांग्रेसले पछ्याइरहेको छ।
पछिल्लो आमनिर्वाचनमा ८९ सीटसहित पहिलो दल बनेको कांग्रेसको यतिखेर रास्वपासँगको अन्तर भने निकै फराकिलो छ।
उसले प्रत्यक्षतर्फ १०० भन्दा बढी अन्तरले १७ सीट मात्र जित्न सकेको छ।
समानुपातिकतर्फ रास्वपाको मत ३९ लाख कटिसक्दा कांग्रेसले करिब १३ लाख मत पाएको देखिन्छ।
एमाले र नेकपाको हैसियत के छ?
तस्बिर स्रोत, EPA
पछिल्लो प्रत्यक्षतर्फको गणनामा एमालेले ८ सीट जित्न सफल भएको छ भने समानुपातिकतर्फ उक्त दल करिब ११ लाख मतसहित तेस्रो स्थानमा छ।
अघिल्लो चुनावमा नेकपा (एमाले)लेले कुल ७८ सीट जितेको थियो।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षतर्फ ७ स्थानमा जितेको छ भने समानुपातिकतर्फ साढे पाँच लाख मत कटाएको छ।
अघिल्लो चुनावका मुख्य रूपमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर हालको नेकपा बनेका हुन्। जतिखेर माओवादी केन्द्रको कुल ३२ र एकीकृत समाजवादीको कुल १० सीट थिए।
अब गणना बाँकी कहाँ?
अन्तिम अवस्थामा उम्मेदवारी रद्द भएको विषयलाई लिएर रीट निवदेन दर्ता भएपछि “अस्थायी रूपमा रोकिएको” धनुषा-१ को “अदालतको आदेशपछि” जारी हुने देखिएको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।
“त्यसबाहेक अन्यत्र सबै प्रत्यक्षतर्फका नतिजा सोमवार अबेरसम्म आइपुग्छन्,” आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी भन्छन्। “समानुपातिकतर्फ समेत गरेर भोलिसम्म एकआधबाहेक सबैजसो नतिजाको टुङ्गो लाग्छ।”
उनले धनुषा-१ को हकमा बाहेक देशभर अन्यत्र मतगणनामा अवरोध रहेको कुनै उल्लेख्य परिस्थिति नरहेको बताउँछन्।
थपघट होलान् राष्ट्रिय दल?

प्रतिनिधिसभामा राष्ट्रिय दल बन्नका लागि समानुपातिकतर्फ तीन प्रतिशत ‘थ्रेश्होल्ड’ चाहिन्छ।
यसपटकको चुनावमा १ करोड ९ लाखभन्दा बढी मतदाता थिए।
करिब ६० प्रतिशत मतदान भएका हिसाबले बदर मतले केही तलमाथि हुँदा कम्तीमा ३ लाख १५ हजारभन्दा बढ्ता मत पाउने र प्रत्यक्षतर्फ कम्तीमा एक सीट जित्ने दल राष्ट्रिय दल बन्न पाउने देखिन्छ।
हालसम्म रास्वपा, कांग्रेस, एमाले र नेकपाले मात्र ३ लाख मत कटाएका छन्।
विगतमा राष्ट्रिय दल रहेका जनमत पार्टी, जसपा नेपाल लगायतका दलको प्रत्यक्षमा कुनै सीट नजितेका कारण राष्ट्रिय दल बन्ने बाटो लगभग सकिएको छ।
राप्रपाले थ्रेश्होल्ड कटाइसकेको छैन भने नयाँ दलका रूपमा आएको श्रम संस्कृति पार्टीले ३ सीट जितेर समानुपातिकतर्फ थ्रेशहोल्ड नजिक देखिए पनि त्यो कटाइसकेको अवस्था छैन।
एकमात्र स्वतन्त्रको जित
स्वतन्त्र उम्मेदवारका हैसियतमा यसपटक म्याग्दीमा महावीर पुनले मात्र जित हासिल गरे।
प्रत्यक्षतर्फका कुल ३,४०० भन्दा धेरै उम्मेदवारहरूमध्ये एक तिहाइभन्दा धेरै करिब १,२०० स्वतन्त्र उम्मेदवार थिए।
यसअघिको संसदमा स्वतन्त्र हैसियतमा चुनाव जितेका पाँचजना सांसद् थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।