
सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान राख्ने अभियानको घोषणा

नेपालमा रग्बी खेलको विकास र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) र नेपाल रग्बी संघको सहकार्यमा सन् २०२६ नोभेम्बरदेखि २०२८ अप्रिलसम्म सञ्चालन हुने यो दुई वर्षे अभियानमा सातै प्रदेशमा रग्बी गतिविधिहरू सञ्चालन गरिनेछ। २०२७ अप्रिलमा विश्व कीर्तिमान प्रयास र २०२८ अप्रिलमा सगरमाथा क्षेत्रमा टी–वान रग्बी प्रतियोगिता आयोजना गरिनेछ। २३ असोज, काठमाडौं।
शुक्रबार आयोजित कार्यक्रममा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टका अध्यक्ष विनोद तामाङले अभियानको घोषणा गरेका थिए भने बागमती प्रदेशका आर्थिक मामिलामन्त्री सरल सहयात्रीले अभियानको उद्घाटन गरेका थिए। अभियान तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा ‘सात प्रदेश, सात अभियान’ नारासहित देशव्यापी रग्बी यात्रा सञ्चालन गरिनेछ। प्रत्येक प्रदेशमा दुईदिने रग्बी तथा सामुदायिक महोत्सव आयोजना गर्ने योजना बनाइएको छ।
दोस्रो चरणमा, सन् २०२७ अप्रिलमा सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेल्ने प्रयास गरिनेछ। तेस्रो चरणमा, सन् २०२८ अप्रिलमा सगरमाथा क्षेत्रमा उच्च हिमाली उचाइमा टी–वान रग्बी प्रतियोगिता आयोजना गरिनेछ। यस अभियानले रग्बी विकाससँगै युवा सशक्तीकरण, महिला सहभागिता, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, जलवायु संरक्षण र जिम्मेवार साहसिक पर्यटनमा जोड दिनेछ।
अभियान घोषणा कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रामचरित्र मेहता, एसिया रग्बीका उपाध्यक्ष टंकलाल घिसिङ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, अस्ट्रेलियाका कार्यवाहक राजदूत ग्रेग क्लेवन, कर्णाली प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष प्रमोद हमाल र नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष राजकुमार कार्की लगायतका व्यक्तिहरू सहभागी थिए। कार्यक्रममा सहभागी सबैले अभियानलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।






