Skip to main content
Advertisementxtreme adv

डोनेत्स्कमा युक्रेनको जवाफी आक्रमण तीव्र, रुसी सेना पछि हट्न बाध्य

युक्रेनको पूर्वी क्षेत्र डोनेत्स्कमा रुसी सेना निरन्तर पछि हटिरहेको छ। क्रेमलिन समर्थक टेलिग्राम च्यानल राइबरले बुधबार रुसी सेनाले लाइमान सहरको दक्षिणतर्फका गाउँहरू गुमाइरहेको जनाएको छ। रुसी सेनाले स्लोभियान्स्क र क्रामाटोर्स्क सहरमा व्यापक आक्रमण गर्न आधारका रूपमा प्रयोग गर्ने उद्देश्यले लाइमान कब्जा गर्ने प्रयास गर्दै आएको थियो। यी दुवै सहरलाई युक्रेनको किल्लाबन्द क्षेत्रका प्रमुख सहर मानिन्छन्। यस वर्ष युक्रेनले सञ्चालन गरेको ‘अपरेसन भिवाल्डी’ नामक जवाफी आक्रमणका क्रममा लाइमान आसपास रुसी कब्जामा रहेका १७५ वर्ग किलोमिटर (६७ वर्ग माइल) भूभाग पुनः आफ्नो नियन्त्रणमा लिएको छ।

‘शत्रुले लाइमान क्षेत्रमा हासिल गरेका सफलतालाई स्लोभियान्स्कको पूर्वतर्फ आक्रमण विस्तार गर्न प्रयोग गरिरहेको छ। रुसी सेना आफ्नै आक्रमण अघि बढाउनुको सट्टा पहिले कब्जा गरेका स्थानको रक्षा गर्न र ती क्षेत्रमाथि पुनः नियन्त्रण कायम गर्न स्रोतसाधन खर्च गर्न बाध्य छन्,’ राइबरले लेखेको छ। स्लोभियान्स्कको पूर्वमा रहेको क्रिभा लुका गाउँमा महत्त्वपूर्ण भिडन्त हुनसक्ने देखिएको छ। सेभेर्स्की डोनेत्स नदीको दाहिने किनारमा अग्लो भूभागमा रहेको त्यो गाउँ रुसी नियन्त्रणमा छ। त्यहाँबाट पूर्वतिर थप जवाफी आक्रमण सञ्चालन गर्न सकिने सम्भावना छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै अपरेसन भिवाल्डी सफल भएपनि अभियान अझै पूर्ण नभएको बताएका छन्।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसी सेनासम्म गोलाबारुद र इन्धन पुग्ने आपूर्ति मार्ग अवरुद्ध पार्ने अभियान अन्तर्गत सेप्टेम्बरमा हवाई प्रतिरक्षा प्रणालीका साधन र अग्रपङ्क्तिबाट ५० किलोमिटरभन्दा टाढाका लक्ष्यमा कीर्तिमानी सङ्ख्यामा आक्रमण गरिएको थियो। युक्रेनी सेनाले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२२ मा रसियाले पूर्णस्तरको आक्रमण सुरु गरेयता १५ लाख ४५ हजार ९५० रुसी सैनिक मारिएका वा घाइते भएका छन्। युक्रेनी जनरल स्टाफले उक्त केन्द्रलाई तेल प्राप्त गर्ने, भण्डारण गर्ने र विभिन्न प्रकारका तेल मिसाउने प्रमुख केन्द्रका रूपमा वर्णन गरेको छ।