
नेपालको पारा एसियाड टोलीको बिदाइ, ८ खेलमा १९ खेलाडी प्रतिस्पर्धा गर्न

जापानको आइची–नागोयामा अक्टोबर १८ देखि २४ सम्म आयोजना हुने पाँचौँ पारा एसियाली खेलकुदमा नेपालबाट ८ खेलका १९ खेलाडी सहभागी हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद्ले त्रिपुरेश्वरमा शुक्रबार पारा एसियाली टोलीको बिदाइ गरेको छ। तेक्वान्दोकी पलेशा गोबर्धनले चौथो संस्करणमा कांस्य पदक जितेकी थिइन् र उनी पेरिस पारालिम्पिककी कांस्य पदक विजेता पनि हुन्।
नेपालको टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा बिदाइ कार्यक्रम सञ्चालन गरेका थिए। जापानको आइची–नागोयामा अक्टोबर १८ देखि २४ सम्म हुने पाँचौँ पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न ८ खेलका १९ खेलाडी उत्साहसाथ प्रतिस्पर्धा गर्नेछन्।
नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूमा तेक्वान्दोमा पलेशा गोबर्धन र रेनु तामाङ, एथलेटिक्समा प्रभा आङदेम्बे, श्रृष्टि धेवाजु, मोहन रोका, हिमाल अर्याल र राजु गुरुङ, ब्याडमिन्टनमा प्रकाश अधिकारी, टेबलटेनिसमा केशव थापा, डिगमसिंह चेमजोङ, निर्मला भण्डारी, स्वीकृति न्यौपाने र विवेक राई, पावरलिफ्टिङमा रजनी राई र पवन घर्ती मगर, पौडीमा जेनिशा कडायत र हर्कमान घर्ती, जुडोमा संकल्प आचार्य र ह्वीलचेयर टेनिसमा रामबहादुर तामाङ रहेका छन्।
प्रशिक्षक तर्फ तेक्वान्दोमा कविराज नेगी लामा, एथलेटिक्समा ओलम्पियन विमला राना मगर, ब्याडमिन्टनमा छविलाल शाही, टेबलटेनिसमा बसन्त भारती, पावरलिफ्टिङमा क्याब्लिन महर्जन, पौडीमा शुभ श्रेष्ठ, जुडोमा योगेन्द्र विष्ट र ह्वीलचेयर टेनिसमा सूर्यभूषण वज्राचार्यजस्ता अनुभवी प्रशिक्षकहरूले टोलीलाई मार्गदर्शन गर्नेछन्। टोलीमा सेभ दि मिसन केदारबाबु सिवाकोटी र अन्य अफिसियलहरू पनि छन्। तेक्वान्दो र जुडो टोली शनिबार जापान प्रस्थान गर्नेछ। नेपाल पहिलो संस्करणदेखि नै पारा एसियाडमा नियमित रूपमा सहभागी हुँदै आएको छ र अहिलेसम्म चार संस्करणमा नेपालले १ पदक जितिसकेको छ।






