
अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टोले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौंले शुक्रबार सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको छ। बोसिस्टोले सुरुवाती दुई संस्करणमा कर्णाली याक्सबाट क्रिकेट खेलेका थिए।
यसपटक अस्ट्रेलियन स्टार डेभिड वार्नरसँगै बोसिस्टो काठमाडौंमा अनुबन्ध भएका छन्। काठमाडौंले यसअघि श्रीलंकाका सहान अराचिगे र भारत/यूएईका केएस भरतलाई पनि अनुबन्ध गरिसकेको छ। ३३ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० प्रतियोगितामा अनुभव छ।
उनी अस्ट्रेलिया यू-१९ टोलीको कप्तानी गर्दै सन् २०१२ को विश्वकप खेलेका थिए। फाइनलमा भारतसँग पराजित भए तापनि उनी विश्वकपको उत्कृष्ट खेलाडी थिए। फर्स्ट क्लास क्रिकेटमा उनले २८ खेल खेलेर ११०० भन्दा बढी रन बनाएका छन्। साथै, अफ ब्रेक बलिङ गर्ने उनी १७ विकेट पनि लिएका छन्। टी-२० मा २१ खेलमा उनले ४०० रन बनाएका छन् र ३ विकेट लिए।







