Skip to main content
Advertisementxtreme adv

इरान युद्धमा अमेरिकाका ८१ सैन्य विमानमा क्षति, ३.३ अर्ब डलरसम्मको नोक्सानी

इरानविरुद्ध अमेरिकाले यसै वर्ष सुरु गरेको सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ मा लडाकु विमान र मानवरहित विमान (ड्रोन) सहित कम्तीमा ८१ अमेरिकी सैन्य विमान नष्ट वा क्षतिग्रस्त भएका छन्। अमेरिकी संसद्लाई बजेटसम्बन्धी अनुसन्धान र विश्लेषण उपलब्ध गराउने गैरदलीय सरकारी निकाय कंग्रेसनल बजेट अफिस (सीबीओ) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले यो तथ्याङ्क प्रस्तुत गरेको छ। प्रतिवेदन अनुसार, अगस्ट १ सम्मको अवधि भित्र इरानविरुद्ध अमेरिका–इजरायल युद्धमा अमेरिकी विमानहरूको क्षति ३ अर्ब ३० करोड अमेरिकी डलरसम्म पुगेको अनुमान गरिएको छ। प्रतिवेदनले फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वको बढ्दो आर्थिक भारलाई औँल्याएको छ। युद्धले आठौं महिना पुर्‍याए पनि स्थायी युद्धविराम हुन सकेको छैन।

पूर्वसैन्य अधिकारी तथा सरकारी परामर्शदाता संस्था किल्लोवेन ग्रुपका अध्यक्ष हार्लान उलम्यानले युद्धमा देखिएको असमानताले साना सैन्य शक्ति भएका देशहरूले पनि विश्वकै शक्तिशाली सेनालाई चोट पु¥याउनसक्ने प्रमाणित गरेको बताए। अलजजीरासँगको कुराकानीमा उनले भने– इरानले अमेरिकी सैन्य उपकरण र मध्यपूर्वमा रहेका सैन्य आधारहरूमा केही हदसम्म सफलता हासिल गरेको छ। ‘इरानका लागि अमेरिकी सैन्य संरचनाहरू धेरै निशानामा उपलब्ध छन्। एउटा सानो ड्रोनले ठूलो सैन्य सम्पत्तिमा कस्तो क्षति ल्याउनसक्छ भन्ने कल्पना गर्न सकिन्छ। खाडी क्षेत्रका देशहरूमा यस्ता उदाहरणहरू देखिएका छन्,’ उलम्यानले बताए। सोमबार सार्वजनिक प्रतिवेदनमा ८१ क्षतिग्रस्त वा नष्ट विमानमध्ये १२ वटा एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान, एउटा एफ–३५ ए लाइटनिङ टु लडाकु विमान, र सातवटा केसी–१३५ स्ट्राटोट्याङ्कर इन्धन ढुवानी गर्ने विमान रहेको उल्लेख छ।

युद्धको बदलिँदो स्वरूप उलम्यानजस्ता विशेषज्ञहरूले अमेरिकी सैन्य संरचनामा देखिएका केही कमजोरीलाई आधुनिक युद्धको बदलिँदो स्वरूपसँग जोडेर हेरेका छन्। कम खर्चमा उपलब्ध ड्रोनको प्रयोग युद्धमा बढ्दो छ। रुसले युक्रेनमाथि गरेको युद्ध यस कुराको उदाहरण हो, जहाँ तुलनात्मक रूपमा सानो सैन्य शक्ति रहेको युक्रेनले ड्रोन युद्ध प्रयोग गरेर ठूलो सैन्य शक्तिलाई चुनौती दिइरहेको छ। इरान युद्धका क्रममा अमेरिकी सैन्य सामग्री राखिएको बेलायतको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड सैन्य आधारमा ड्रोन आक्रमण हुने आशङ्काका कारण अमेरिकाले आइतबार त्यहाँका करिब एक दर्जन विमान अरू स्थानमा सारिएको थियो। उलम्यानले यस्तो घटनाले ड्रोन आक्रमणको जोखिमका कारण ठूला सैन्य शक्तिहरू पनि रक्षा अवस्थामा पुग्न सक्ने देखाएको बताए।

‘इरानी आक्रमणको डरले अमेरिकाले बेलायतबाट आफ्ना बी–१ बमवर्षक विमानहरू अन्यत्र सार्नुपरेको देख्यौँ। यस्तै युक्रेनले रूसभित्रै साना ड्रोनहरू प्रक्षेपण गरेर रुसी सैन्य संरचनालाई निशाना बनाएको ‘अपरेसन स्पाइडरवेब’ मा पनि यस्ता घटना भेटिएका थिए,’ उनले थपे। युद्धको लागतले बढायो राजनीतिक दबाव इरानविरुद्धको युद्धमा बढिरहेको खर्चले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि राजनीतिक दबाव बढाएको छ। यसै वर्ष ट्रम्प प्रशासनले युद्धको आवश्यकतालाई कारण देखाउँदै सन् २०२७ को आर्थिक वर्षका लागि रक्षा बजेटमा १.५ ट्रिलियन अमेरिकी डलर विनियोजन गर्न आग्रह गरेको थियो। तर अमेरिकी संसद्मा विशेष गरी डेमोक्र्याटिक पार्टीका सांसदहरूले बढ्दो खर्चमाथि प्रश्न उठाएका छन्।

गत महिना ४५ जना डेमोक्र्याटिक सिनेटर र एक स्वतन्त्र सिनेटरले रक्षामन्त्री पिट हेगसेथलाई खुलेर पत्र लेख्दै युद्ध खर्चको पारदर्शी विवरण सार्वजनिक गर्न माग गरेका थिए। उनीहरूले थप बजेट उपलब्ध गराउने विषयमा संसद्ले विचार गर्नुअघि युद्ध खर्चको विस्तृत विवरण आवश्यक रहेको भनेका छन्। ‘अमेरिकी करदाताहरूले पेट्रोल र डिजेलको मूल्य बढेसँगै आफ्नो खल्तीबाट थप १०० अर्ब डलर खर्च गरिसकेका छन्। युद्धका कारण खाद्यान्न, घरकर्जा, र हवाई टिकटजस्ता वस्तु तथा सेवाको मूल्य बढ्दा थप कम्तीमा ६० अर्ब डलर खर्च भएको छ,’ सिनेटरहरूले पत्रमा उल्लेख गरेका थिए, ‘अब तपाईंहरूले फेरि अमेरिकी नागरिकबाट पैसा माग्दै हुनुहुन्छ। यो त्यस्तो युद्धलाई आर्थिक सहयोग गर्ने कुरा हो, जसलाई संसद्ले अनुमति दिएको थिएन र राष्ट्रपतिले कुनै रणनीतिक योजना बिना सुरु गरेका थिए।’ कंग्रेसनल बजेट अफिसले सेप्टेम्बरमा सार्वजनिक गरेको अर्को प्रतिवेदनमा अगस्ट १ सम्म इरानसँगको युद्धमा लगभग ३८ अर्ब अमेरिकी डलर खर्च भइसकेको अनुमान गरिएको थियो। त्यसो रकममा युद्ध अवधिमा प्रयोग भएका हतियार र नष्ट भएका सैन्य उपकरणहरूको प्रतिस्थापन खर्च, इन्धनको मूल्य वृद्धि तथा अन्य सैन्य कारबाहीका लागतहरू समावेश छन्। ‘द्वन्द्व थप एक महिना लम्बिएमा २ अर्ब डलर अतिरिक्त खर्च हुने छ,’ प्रतिवेदनमा उल्लेख छ। तर, द्वन्द्व जुलाईमा देखिएको तीव्रता capture गरेमा मासिक खर्च ३ अर्ब डलरसम्म पुग्न सक्ने पनि प्रतिवेदनले जनाएका छन्। सर्वेक्षणहरूले अमेरिकी मतदातामाझ युद्ध अलोकप्रिय रहेको देखाएका छन्।

बढ्दो युद्ध खर्चले अमेरिकी मध्यावधि निर्वाचनमा प्रभाव पार्नसक्ने विषयमा विश्लेषकहरू चर्चा गरिरहेका छन्। उक्त निर्वाचनले ट्रम्पको रिपब्लिकन पार्टीले संसदमा आफ्नो नियन्त्रण कायम राख्न सक्छ कि सक्दैन भन्ने निर्धारण गर्नेछ। तर, उलम्यानले सोमबार सार्वजनिक प्रतिवेदनले मध्यावधि निर्वाचनमा निर्णायक प्रभाव पार्ने सम्भावना कम रहेको बताएका छन्। ‘म यस्तो विचारमा छैन कि यो प्रतिवेदनले आगामी निर्वाचन परिणामलाई प्रभाव पार्नेछ। युद्ध बिरोधी अमेरिकी नागरिकहरू पनि सैन्य कारबाहीका क्रममा यस्तो क्षति हुनु अपेक्षित हो भनी सोच्न सक्छन्,’ उनले भने।