Skip to main content
Advertisementxtreme adv

नेपालमा पानी र बिजुलीको अनलाइन भुक्तानीको संख्या र यसको वृद्धि योजना

पानी र बिजुलीका बिलहरू अनलाइन तिर्ने ग्राहकहरूको संख्या हालका वर्षहरूमा क्रमशः बढ्दो भए तापनि अपेक्षा अनुसार पर्याप्त वृद्धि नभएकाले त्यसलाई प्रोत्साहन गर्न प्रयासहरू भइरहेका छन्, अधिकारीहरूले बताएका छन्। नेपाल विद्युत् प्राधिकरणले अनलाइन भुक्तानी गर्नेलाई सात दिनभित्र भुक्तानी गर्दा २.५ प्रतिशत छुट दिने व्यवस्था उपलब्ध गराएको छ। “अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्न मिटर रिडिङ भएको एक साताभित्र घरेलु ग्राहकले अनलाइन मार्फत भुक्तानी गरेमा नियमित २% छुटका साथै थप ०.५०% पुरस्कार पाउनेछन्। यस गरी सात दिनभित्र भुक्तानी गरेमा कुल २.५% छुट उपलब्ध हुनेछ,” प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार यो व्यवस्था पहिलो चरणमा ६ महिनाका लागि लागू गरिनेछ।

प्राधिकरणका अनुसार हाल करिब ५५ लाख ग्राहकहरूमध्ये करिब ३८ प्रतिशतले बिजुलीको बिल अनलाइन भुक्तानी गरिरहेका छन्। अनलाइन भुक्तानी सेवा करिब पाँच वर्षदेखि सञ्चालनमा आएको छ। नेपालमा मोबाइल प्रयोगकर्ता धेरै भए तापनि डिजिटल साक्षरता कम रहेको बताइन्छ। ग्राहकहरूले विभिन्न बैंक, ई-सेवा, खल्ती, फोनपे, कनेक्टआईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत पानी, बिजुली, टेलिफोन लगायतका बिलहरू तिर्न सक्छन्।

इलेक्ट्रोनिक भुक्तानीले वित्तीय पारदर्शिता बढाउने, ग्राहकको समय बचत गर्ने र कार्यालयमा जनशक्तिको आवश्यकतामा कमी आउने जस्ता फाइदाहरूका कारण अनलाइन भुक्तानीलाई प्रोत्साहित गरिने प्राधिकरणले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार घरेलु प्रयोजनका लागि विद्युत् उपभोग गर्ने ३८ प्रतिशतले अनलाइन भुक्तानी गरिरहेका छन् र यो संख्या अझै बढाउने लक्ष्य राखिएको छ।

काठमाण्डू उपत्यकामा पानीको अनलाइन भुक्तानी चार वर्षदेखि सञ्चालनमा आएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ। पानीको बिल आएकै महिनाभित्र तिर्दा केयूकेएलले तीन प्रतिशत छुट दिने व्यवस्था गर्दै आएको छ, तर अनलाइन भुक्तानीमा विशेष छुट भने उपलब्ध गराएको छैन। काठमाण्डू, भक्तपुर र ललितपुरका करिब दुई लाख ७५ हजार घरेलु उपभोक्तामध्ये ५० प्रतिशतभन्दा बढिले अनलाइन भुक्तानी गरिरहेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।