
कांग्रेस महाधिवेशन: नवनिर्वाचित सभापति गगन थापाका चुनौतीहरू के हुन्?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापालाई पार्टी सभापतिका रूपमा बहुमतले शनिबार निर्वाचित गरेको छ। शुक्रबार भएको मतदानमा थापा कुल ६,५८४ मतसहित निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का तथा सदस्यद्वय सुजन लोप्चन र राजु खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। थापाका प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। नवनिर्वाचित सभापति थापाले ल्याएको मत ९३.८८ प्रतिशत हो भने खड्गीले प्राप्त गरेको मत ५.३५ प्रतिशत हो। थापाले ल्याएको मत उनका प्रतिद्वन्द्वी खड्गीले प्राप्त गरेको मतभन्दा ६,२०९ ले बढी छ। बाँकी मतगणना शनिबार दिउँसोबाटै सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित सभापति थापालाई वरिष्ठ उपसभापतिमा निर्विरोध भइसकेका विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन्। उनले लेखेका छन्, “यो यात्रा शुरु हो, लक्ष्य प्राप्ति होइन। हामीलाई अझ धेरै हिड्नुपर्छ, देशलाई गन्तव्यमा पुर्याउनुछ। चुनौतीहरू आउँछन्, संयमले सामना गर्नुपर्छ। भिन्न मत र मनहरू जोड्नुपर्छ। विगतका गौरवलाई पछ्याउँदै कमजोरीहरू सच्याउनुपर्छ।” नेता प्रदीप पौडेलले थापालाई बधाई दिँदै भने, “हामी युग परिवर्तन गर्ने सङ्कल्प लिएर आएका छौँ। बाटो सजिलो होइन। चुनौतीहरू धेरै छन्। तर हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन।”
राजनीतिक विश्लेषक चन्द्र किशोरले नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत् पुरानोपन निरन्तरता र नयाँपन स्वीकार गरेको बताएका छन्। उनले भने, “गगन थापाको मुख्य चुनौती धेरैभन्दा धेरै कांग्रेसीलाई आफूसँग जोड्नु हो।” उनले युवा पुस्तासँग संवाद गर्नुपर्ने र पुराना पुस्तालाई सम्मान दिलाउनुपर्ने कुरामा जोड दिएका छन्।
विशेष महाधिवेशनमा गगन थापालाई निर्विरोध चयन गरिएको थियो। तर, देउवा पक्षका नेताहरूले यसलाई अवैधानिक भन्दै आएका छन्। सर्वोच्च अदालतले गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई मान्यता प्रदान गरिसकेको छ। निर्वाचन आयोगले पनि विशेष महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको छ।






