Skip to main content
Advertisementxtreme adv

ममता बनर्जी र अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लियो

२४ असोज, काठमाडौं । भारतका पश्चिम बंगाल र दिल्लीका पूर्वमुख्यमन्त्रीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा आयोजना हुँदै गरेको प्रदर्शनलाई अवरुद्ध गर्न दिल्ली प्रहरीले पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी र दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई नियन्त्रणमा लिएको हो। तृणमूल कांग्रेस (टीएमसी)का प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल एक्समार्फत बनर्जीलाई प्रहरी नियन्त्रणमा लिएको जानकारी दिएका छन्। ‘ममता दिदीसहित हामी पाँच जनालाई दिल्ली प्रहरी र सीआरपीएफले उहाँको निवास बाहिरबाट नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको छ,’ उनले भने, ‘हामीलाई कुनै अज्ञात स्थानमा लगिँदैछ। यो भारतमा लोकतन्त्रको अन्त्य हो।’

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार टीएमसी की प्रमुख बनर्जी र पार्टीका अन्य नेताहरूले दिल्लीको साउथ एभेन्यूस्थित बस बिसौनीमा प्रदर्शन गरिरहेका थिए। त्यसपछि दिल्ली प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिनुअघि बनर्जीले आफूहरू जन्तरमन्तर जान चाहेको तर प्रहरीले अनुमति नदिएको बताएकी थिइन्। ‘हामी जन्तरमन्तर जान चाहन्थ्यौं, तर जान दिइएको थिएन,’ उनले भनिन्, ‘स्थिति अहिले संकटकाल (इमर्जेन्सी) भन्दा पनि खराब छ।’ यस्तै, दिल्ली प्रहरीले आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि नियन्त्रणमा लिएको छ। पार्टीका नेताहरूसँगै जन्तरमन्तरसम्म मार्च गर्दै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। भिडियोमा प्रहरीले केजरीवाललाई लिएर जाँदै गरेको देखिन्छ जहाँ साथमा राज्यसभा सांसद संजय सिंह पनि छन्।