Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालमा बाङ्गलादेशी नागरिकको गिरफ्तारीको वृद्धि

Advertisement800×200-1

नेपालमा विभिन्न गैर कानुनी क्रियाकलापमा संलग्न भएको अभियोगमा पक्राउ पर्ने र निकाला हुनेहरूमा चिनियाँ नागरिकपछि बाङ्गलादेशी नागरिक सबैभन्दा अगाडि रहेको विभिन्न सरकारी तथ्याङ्कहरूले देखाएका छन्। अधिकारीहरूका अनुसार पछिल्ला दिनहरूमा बाङ्गलादेशका नागरिकहरूको गिरफ्तारी पनि बढेको छ। सबैभन्दा ताजा घटनामा कार्तिक १६ गते ५ जना विदेशी नागरिक काठमाण्डूमा पक्राउ परेका छन्। उनीहरूलाई थप कारबाहीको निम्ति अध्यागमन विभागमा बुझाइएको छ। तीमध्ये ४ जना बाङ्गलादेशी र एक जना भारतीय नागरिक रहेको विभागले जनाएको छ।

एक साताअघि पनि दुई जना बाङ्गलादेशी पक्राउ परेको प्रहरीको तथ्याङ्क छ। विभागकी प्रवक्ता गीता घिमिरे भन्छिन्, “पछिल्ला दिनहरूमा निष्कासनमा पर्ने बाङ्गलादेशी नागरिकहरूको सङ्ख्या बढेको देखिन्छ।” विभागका अनुसार पछिल्लो पटक गिरफ्तारहरूको बयान लिने काम भइरहेको छ भने त्यसअघि पक्राउ परेका दुई जनालाई नेपालबाट निष्कासन गर्ने प्रक्रियाको निम्ति गृहमन्त्रालयमा पठाइएको छ। बाङ्गलादेशको दूतावाससँग विवरणको खोजी गर्दै अध्यागमन विभागका अनुसार पछिल्लो १० महिनामा ८६ जना बाङ्गलादेशीहरू निष्कासन गरिएका छन्।

सशस्त्र प्रहरीको सक्रियताले गर्दा बाङ्गलादेशी नागरिकहरूको निगरानीमा वृद्धि भएको अधिकारीहरूले बताएका छन्। काठमाण्डूमा सशस्त्र प्रहरीले गरेको गिरफ्तारी त्यसकै परिणाम भएको जनाइएको छ। बाङ्गलादेशी नागरिकहरू मूलतः पर्यटक भिसामा नेपाल आएर गैर कानुनी क्रियाकलापमा संलग्न हुने गरेको अधिकारीहरू बताउँछन्। सशस्त्र प्रहरीले एक महिनाअघि पनि १० जना बाङ्गलादेशीहरूलाई पक्राउ गरेको थियो।

अधिकारीहरूका अनुसार बाङ्गलादेशीहरू तीन प्रकारका गैर कानुनी काममा संलग्न देखिन्छन्। कोही अनुमतिबिना स्थल मार्गबाट प्रवेश गरेर काम गरिरहेका छन्, कोही भिसाको समय सकिएपछि गैर कानुनी रूपमा बसिरहेका छन् र अन्य भिसामा आएर काम गरिरहेकाहरू पनि पाइएका छन्। अध्यागमन विभागकी प्रवक्ता गीता घिमिरेका अनुसार सुरक्षा निकायबाट हस्तान्तरण गरिएका बाङ्गलादेशीहरूलाई निश्चित अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखेर निष्कासन गर्ने गरिन्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर