

इजरायलमा नेतन्याहुलाई नयाँ सरकार गठनमा चुनौती


इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ। गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयबारे जानकारी गराएको छ। गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका थिए। यसले आगामी सरकार गठनमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुने देखिएको छ।
संयुक्त सूचीका ११ सांसदले औपचारिक रूपमा आइजेनकोटको नाम सिफारिस गरेपछि उनलाई संसद्का ६७ सांसदको समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ। सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमतभन्दा यो संख्या बढी हो। यसअघि आठ सिट जितेको अरब नेतृत्वको अर्को दल रामले पनि आइजेनकोटलाई समर्थन गर्ने जनाएको थियो। यता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनसँग ५३ सिट भए पनि सबै सांसदको समर्थन जुट्ने निश्चित छैन।
इजरायल टाइम्सका अनुसार अति रूढिवादी यहुदी समूह नेतान्याहुसँग असन्तुष्ट छ। उनका गठबन्धनले हरेदी पुरुषलाई सैन्य सेवाबाट छुट दिने कानुन पारित गर्न नसकेपछि उक्त समूहले साथ छोडेको हो। नेतान्याहुले भने विदेशी सहयोगमा अरब दलहरूले निर्वाचनमा धाँधली गरेको आरोप पटक-पटक लगाउँदै आएका छन्। यद्यपि, उनले अहिलेसम्म त्यसको कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन्।
राष्ट्रपति आइज्याक हर्जोगले निर्वाचन परिणाम स्वीकार गर्दै नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलका नेताहरूसँग परामर्श सुरु गरेका छन्। उनले निर्वाचनमा सम्भावित हस्तक्षेपबारे अनुसन्धान गर्नुपर्ने पक्षमा समर्थन जनाए पनि प्यालेस्टिनी मूलका इजरायली मतदातामाथि आरोप लगाएर बदनाम नगर्न चेतावनी दिएका छन्। यदि दुवै उम्मेदवारले सरकार गठन गर्न नसके इजरायलमा आगामी वर्षको सुरुवातमै पुनः निर्वाचन हुनेछ।

सम्बन्धित खबर









