Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

हङ्गेरीले कम्युनिस्ट शासनका गोप्य दस्ताबेज सार्वजनिक गर्यो

Advertisement800×200-1

हङ्गेरीले अनलाइनमा प्रकाशित गर्न लागेको सरकारी गोप्य दस्ताबेजहरूले चार दशक लामो कम्युनिस्ट शासनमा छिमेकी, सहकर्मी, साथी र आफन्तहरूलाई कसले सुराकी गरेका थिए भन्ने कुरा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। सरकारले प्रजातान्त्रिक रूपान्तरणमा यो महत्त्वपूर्ण कदम हुने बताएको छ। कतिपयका लागि यसले कम्युनिस्ट सत्ताको समयमा परिचालित जासुसहरू र त्यस बेला भएका पक्राउ, सोधपुछ र बेपत्ताबारे स्पष्टीकरण सोध्ने मौका दिने छ। अन्य कतिपयलाई दशकौँदेखि लुकाइएका गोप्य कुराहरूको रहस्योद्‌घाटन हुने छ।

सन् १९८०को दशकको कम्युनिस्ट हङ्गेरीका विपक्षी अभियानकर्मी बालिन्ट मोजोरलाई आफूमाथि नजिकबाट निगरानी भइरहेको थाहा थियो। उनले शिक्षकहरूको भेलामा सत्ताबारे बोलेको एउटा आफ्नै अभिव्यक्ति पनि प्रहरीका एक सूचनादाताबाट हात पारेका थिए। मोजोरले भने, “मैले त्यस बेलै सत्ता परिवर्तनबारे कुरा गरेको रहेछु, जुन कुरा मेरो स्मृतिबाट पनि मेटिइसकेको थियो।” अब मोजोरले यो कुरा थाहा पाउनेछन् कि ती सूचनादाता को थिए।

दस्ताबेजहरूको पहिलो किस्ता बुधवार सार्वजनिक गरिएको छ। विवादका बीच सरकारले ४५ वर्षे कम्युनिस्ट शासनको आघातमा मल्हम लगाउन मानिसहरूलाई यसले सहयोग गर्ने दाबी गरेको छ। यसका साथै, हङ्गेरीको अभिलेखालयका प्रमुख गेर्गु बेन्देगुज चेहले भनेका छन्, “पूर्वएजेन्टहरूका सबै फाइलहरू हामी स्क्यानिङ गरेर प्रकाशित गर्दै छौँ।”

कम्युनिस्ट शासनको पतनपछि पोल्यान्ड र जर्मनीलगायत केही देशहरूले आफ्ना अभिलेखहरू छिटै सार्वजनिक गरेका थिए। हङ्गेरीले भने आफ्नो अनलाइन अभिलेखमा जोकोहीले पनि खुला र कुनै रोकतोकबिना खोजी गर्न सक्ने जनाएको छ। बालिन्ट मोजोरले भने, “कुनै न कुनै हिसाबले आफ्नो विगतको सामना नगरी कुनै पनि राष्ट्र झूटका आधारमा बाँचिरहन सक्दैन।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर