

काठमाण्डू बाहिरका आन्तरिक यात्रुवाहक उडानको चुनौती: नेपालमा किन धेरै चलिरहेको छैन?


नेपालमा काठमाण्डू नआइकनै देशभित्रका मुख्य सहरहरूबीच उडान सञ्चालनको प्रयास केही वर्षयता भइरहे तापनि “यात्रु अभाव” त्यसको मुख्य अवरोधका रूपमा रहेको अधिकारी तथा विमान सेवा सञ्चालकहरूले बताएका छन्। आधा दशकअघि नै नेपालमा सरकारले अन्तरप्रदेश उडान सुरु गर्दै त्यसका लागि छुटहरू दिने कार्यक्रम अघि सारेको थियो। आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् खासगरी विभिन्न प्रदेशका राजधानी एवं सहरहरूबीचमा हुने उडानका लागि विभिन्न छुट तथा प्रोत्साहन योजना अघि सारिएको थियो। सुरुमा पोखराका लागि भैरहवा र भरतपुरबाट उडानहरू सुरु गर्दा उड्डयन अधिकारीहरूले क्रमिक रूपमा काठमाण्डू बाहिरका विमानस्थलमा राति विमानहरू रहने अवस्था बन्ने र सङ्घीय राजधानी नआइकनै बाहिरबाटै यात्रुहरू गन्तव्यमा पुग्ने माहोल बन्ने अपेक्षा राखेका थिए। “काठमाण्डू विमानस्थलमा दिनहुँ बढिरहेको ट्राफिक (हवाई चाप) कम गर्ने हाम्रो मुख्य चुनौती छँदै थियो,” नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने। “मोफसलका विमानस्थल पनि चलायमान बनाउनु अर्को उद्देश्य थियो।”
विमान सेवा सञ्चालक सङ्घ नेपालले आफूहरूले यस बीचमा सञ्चालन गरेर हेरेका रुटमा पोखरासँग जोडिने केही सीमित गन्तव्य मात्र लाभदायी देखिएको जनाएको छ। बुद्ध एअरका एकजना निर्देशक समेत रहेका सङ्घका कोषाध्यक्ष रूपेश जोशीले यतिखेर नियमित रहेको भनेको “भारतीय पर्यटकको भरमा भैरहवा-पोखरा” रुट मात्र रहेको बताउँछन्। “अरू अहिले सबै बन्द भइसक्यो,” उनी भन्छन्। देशव्यापी ‘असफल’ प्रयास त्यस बीचमा पोखरा-विराटनगर, विराटनगर-भैरहवा, नेपालगञ्ज-पोखरा, जनकपुर-लुक्ला, पोखरा-जनकपुरजस्ता ठाउँमा उडान सुरु गरिए तापनि ती केही महिनाभन्दा बढ्ता चल्न सकेनन्।
केही लामो समय सञ्चालनमा रहेका रुटमा पोखरा-भैरहवा र पोखरा-भरतपुर भए तापनि यतिखेर मुग्लिङ-पोखरा खण्डमा सडकको स्तरोन्नति भएपछि हाल नियमित रूपमा पोखरा-भैरहवा रुट मात्र सञ्चालनमा रहेको बताइएको छ। “एकदमै कम चल्न सकेको सेक्टर भनेको विराटनगर-भैरहवा रह्यो। त्यहाँ श्री एअरलाइन्स र सौर्य एअरलाइन्सले एक-दुई महिनाभन्दा बढ्ता उडान गर्न सकेनन्,” क्यान सहप्रवक्ता भुल भन्छन्। पोखराबाट भरतपुर र नेपालगञ्ज नियमित नभई रहे पनि अझैसम्म पनि धेरै उडान हुने रुटमा गनिने गरेको अधिकारीहरू बताउँछन्।

सम्बन्धित खबर









