Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

घोप्टेभीर : पृथ्वी राजमार्गमा बारम्बार समस्या निम्त्याउने नयाँ पहिरो

Advertisement800×200-1

पृथ्वी राजमार्गमा कुरिनटार नजिकै पर्ने घोप्टेभीरमा सोमवार बिहान ५ बजेतिर खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक करिब आठ घण्टापछि खुलेको अधिकारीहरूले बताएका छन्। घन्टौँ दुईतर्फी सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा तिहारका बेला यात्रा गर्ने र अन्य यात्रुहरू प्रभावित भएका थिए। अधिकारीहरूले पहिरोको दुवैतर्फबाट छवटा उपकरण प्रयोग गर्दा समेत सो सडक खुलाउन घण्टौँ सङ्घर्ष गर्नुपरेको थियो भने व्यस्त समयमा सडक अवरुद्ध भएपछि कैयौँ किलोमिटर लामो जाम भएको थियो।
“हामीले एक्स्कभेटर र लोडर गर्दै पाँच-छवटा मशीन प्रयोग गर्‍यौँ। सडकभन्दा ५०-६० मिटर माथिबाट पहिरो बारम्बार खसिरहेको छ। कमजोर बनेको त्यो भाग नसकिएसम्म यसले दु:ख दिइरहने देखियो,” नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रले भने। “यो पाँच छ महिनायता सक्रिय बनेको पहिरो हो। सुक्खा पहिरो भएकाले कुन बेला आउँछ भन्ने अनुमान गर्न पनि नसकिने हुन्छ। यो आइरहेको छ।”
आइतवार समेत सोही पहिरोले उक्त सडक केही घण्टा अवरुद्ध बनेको थियो। काठमाण्डूलाई तराईसँग जोड्ने क्रममा व्यापक रूपमा प्रयोग हुने एउटा मुख्य सडक सङ्घीय राजधानीबाट पोखरा र आसपासका गन्तव्यमा पुग्ने मुख्य बाटो समेत हो।
अनेकौँ पहिरो पृथ्वी राजमार्गको खास गरी नागढुङ्गा-मुग्लिङ खण्डमा एक दर्जनभन्दा बढी ठूला सक्रिय पहिरो छन्। खास गरी भदौ १० गतेको त्रिशूली-भोटेकोशी बाढीको मार खेपेको र त्यसयता नदीको बहाव सडकपट्टि ढल्किएसँगै सडकमाथिबाट पहिरो खस्ने र सडक भासिने जस्ता दुवै खालका समस्या देखा परिरहेको अधिकारीहरू बताउँछन्।
वर्षौँ लगाएर स्थिर पारिएको कृष्णभीरमा सडकको भाग भासिएपछि काठमाण्डू उपत्यकाको ‘लाइफलाइन’ नै अवरुद्ध हुने अवस्था देखिएको भन्दै सडक विभागका अधिकारीहरूले विज्ञको रातविपरीत भित्तो काटेरै बाटो खोल्ने निर्णय गरिएको यसअघि बताएका थिए।
अधिकारीहरूले जोखिमयुक्त ठाउँका रूपमा पहिचान भएका त्यस्ता ठाउँमा रातिका बेला चनाखो हुन र आवश्यक परे आउजाउमै रोक लगाउन सकिने अधिकार स्थानीय प्रशासनलाई दिएका छन्। “पहिले धेरैजसो मुग्लिन-नारायणगढ सडकखण्डमा देखिने सुक्खा पहिरो हाल काठमाण्डूतर्फ जाने बाटोमा देखिन थालेको छ,” आयोजनाका सूचना अधिकारी मिश्र भन्छन्। “सुक्खा पहिरो उच्च ठाडो भागमा हुने हुँदा प्राय: हाम्रा सामान्य रूपमा प्रयोग हुने उपकरण सहयोगी भइहाल्दैनन्। यसको रोकथामका लागि पर्याप्त योजना बनाएरै काम गर्नुपर्ने हुन्छ।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर