

शेख हसिना: बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री स्वदेश फर्कने तयारीमा


बाङ्ग्लादेश सरकारले हाल भारतमा बस्दै आएकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले नयाँ राहदानीका लागि गरेको आग्रह अस्वीकार गरिदिएको छ। शेख हसिना फरार व्यक्ति भएको भन्दै दिल्लीले उनलाई सुपुर्दगी गर्नुपर्ने बाङ्ग्लादेश सरकारको तर्क छ। भारत र बाङ्ग्लादेशबीचको सुपुर्दगी सन्धिबमोजिम आफूलाई ढाका सुम्पन शेख हसिनाले दिल्लीलाई आग्रह गर्नुपर्ने सरकारका एक मन्त्री हुमायू कबीरले बताएका हुन्। हालै शेख हसिनाले स्वदेश फर्कनका निम्ति नयाँ राहदानीका लागि दिल्लीस्थित बाङ्ग्लादेश उच्चायोगमा आवेदन दिएकी थिइन्। बाङ्ग्लादेशमा प्रतिबन्धित अवामी लीगका धेरै नेताहरूले पछिल्लो खबरको पुष्टि गरेका थिए। शेख हसिनाले दिएको आवेदनको बीबीसी बाङ्ग्लासँग प्रतिलिपि छ।
अवामी लीगका नेताहरूले बीबीसी बाङ्ग्लालाई बताएअनुसार शेख हसिनाले लन्डनस्थित कानुनी फर्म म्याट्रिक्स च्याम्बर्समार्फत् आवेदन दर्ता गराएकी छन्। “हामीलाई म्याट्रिक्स च्याम्बर्स नामक संस्थाबाट एउटा ईमेल प्राप्त भएको छ। त्यो ईमेलमा बाङ्ग्लादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राहदानी उपलब्ध गराउन आवेदन दिइएको छ,” दिल्लीस्थित बाङ्ग्लादेश उच्चायोगका प्रेस अधिकारी सईदुर रहमानले बीबीसी बाङ्ग्लासँग भने। सन् २०२४ को अगस्ट ५ मा बाङ्ग्लादेश छाडेदेखि दुई वर्षभन्दा बढी समयदेखि शेख हसिना भारतमा बस्दै आएकी छन्। केही महिनाअघि उनले बाङ्ग्लादेश फर्कने घोषणा गरेकी थिइन्।
शेख हसिनाले डिसेम्बरमा स्वदेश फर्कने चाहना व्यक्त गरेकी छन्। प्रतिबन्धित अवामी लीगका सङ्गठन सचिव एसएम कमालका अनुसार शेख हसिना डिसेम्बरमा स्वदेश फर्कन चाहन्छिन्। “दुई वर्षभन्दा बढी समयअघि भएको जनविद्रोहले उनको लामो शासनको अन्त्य गरेपछि बाङ्ग्लादेश फर्कने योजना कार्यान्वयन गर्ने दिशामा यो हसिनाको अहिलेसम्मकै स्पष्ट कदम हो,” समाचार संस्था रोयटर्सले सोमवार बिहानको एउटा समाचारमा लेखेको थियो।
शेख हसिनाको बाङ्ग्लादेशी नागरिकता र अन्तर्राष्ट्रिय मानव अधिकार सम्झौता एवं सन्धिहरूअन्तर्गतको दायित्वलाई उद्धृत गर्दै उनका वकिलहरूले ती आवेदनहरूमा द्रुत निर्णयका लागि अनुरोध गरेका थिए। गत वर्ष नोभेम्बर १९ सम्म शेख हसिनाविरुद्ध सन् २०२४ को जुलाईमा विद्यार्थी र नागरिकहरूले गरेको विरोध प्रदर्शनसँग सम्बन्धित हत्या र मानवताविरुद्धको अपराधका लागि ६६३ मुद्दा दायर गरिएको थियो। शेख हसिनाले फिर्तीको घोषणा गरेर बाङ्ग्लादेशमा रहेका आफ्ना पार्टी कार्यकर्ताहरूलाई जोखिममा पारेकी छन्।

सम्बन्धित खबर









