

बुल्गेरियामा हुस्सुका कारण ८६ गाडी आपसमा ठोक्किए, १२ जनाको मृत्यु


२५ कात्तिक, काठमाडौं । बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा गाडीहरू आपसमा ठोक्किएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्गलाई दुवैतर्फबाट बन्द गरिएको छ।
दुर्घटनाका कारण बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि आफ्नो विदेश भ्रमण बीचमै छाडेकी छन्। उनी पेरिस पिस फोरममा सहभागी हुन फ्रान्सको पेरिस गएकी थिइन्, तर दुर्घटनाको खबर पाएलगत्तै उनले कार्यक्रम छाडेर बुल्गेरिया फर्कने निर्णय गरिन्। पहिलो दुर्घटनापछि अर्को लेनमा पनि ठोक्किए गाडी। अधिकारीहरूका अनुसार पहिलो दुर्घटना राजमार्गको पूर्वतर्फ जाने लेनमा भएको थियो।
बाक्लो हुस्सुका कारण चालकहरूले अगाडि चलिरहेका गाडीहरू देख्न सकेनन्, जसले गर्दा कैयौँ गाडी आपसमा ठोक्किए। पहिलो दुर्घटना भएको केही बेरमै राजमार्गको अर्को लेनमा पनि गाडीहरू ठोक्किन पुगे। यसका साथै, अर्कोतर्फ भएको दुर्घटना हेर्ने क्रममा केही चालकहरूको ध्यान सडकबाट हट्न पुग्यो र उनीहरू पनि दुर्घटनाको सिकार बने। अधिकारीहरूका अनुसार गाडीहरूको तीव्र गतिका कारण पनि दुर्घटनाको जोखिम बढेको थियो।
हाल राजमार्ग बन्द गरिएको छ भने क्षतिग्रस्त गाडी र भग्नावशेष हटाएपछि मात्र यसलाई पुनः खुला गरिनेछ। याम्बोल क्षेत्रका गभर्नर जर्जी चालाकोभले दुर्घटनापछि कैयौँ मानिस गाडीभित्रै फसेको बताए। उनीहरूलाई बाहिर निकाल्न उद्धार टोलीले सडकछेउमा लगाइएको ब्यारियरका केही भागहरू काट्नुपरेको थियो। बाक्लो हुस्सु भएका कारण घाइतेहरूलाई अस्पताल पुर्याउन हेलिकप्टर पनि बोलाउन सकिएन।

सम्बन्धित खबर









