Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

Advertisement800×200-1

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ। अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको प्रक्रिया अघि बढ्न नसकेको हो। अल जजिराका अनुसार रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले मंगलबार प्रस्ताव समितिमा पठाउने निर्णय गरेको हो। यो निर्णयसँगै हेगसेथविरुद्ध तत्काल महाभियोगको औपचारिक मतदान हुने सम्भावना टरेको छ।

रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव ल्याएका थिए। इरान युद्ध सञ्चालनमा उनको भूमिका र अन्य सैन्य कारबाहीलाई लिएर प्रस्तावमा आरोप लगाइएको थियो। प्रस्तावलाई समितिमा पठाउने पक्षमा रिपब्लिकन सांसदहरूले मतदान गरेका थिए। मासी भने आफ्नै दलका सांसदहरूमध्ये प्रस्ताव समितिमा पठाउने निर्णयको विपक्षमा उभिएका एकमात्र सदस्य थिए। अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण आगामी जनवरीसम्म रहने भएकाले समितिले प्रस्तावमाथि सुनुवाइ गर्ने, अनुसन्धान अघि बढाउने वा महाभियोगका धारालाई अगाडि बढाउने सम्भावना न्यून रहेको अल जजिराले जनाएको छ।

महाभियोग प्रयास असफल भएपछि पेन्टागनका प्रवक्ता सिन पार्नेलले यसलाई हेगसेथ, रक्षा मन्त्रालय र अमेरिकी सैनिकका लागि पूर्ण विजय भएको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा प्रस्तावलाई राजनीतिक अभ्यास भन्दै समितिमा यसलाई नक्कली महाभियोगका रूपमा अन्त्य गरिने अपेक्षा व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हेगसेथको समर्थन गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा महाभियोग प्रयास दयनीय रूपमा असफल भएको प्रतिक्रिया दिएका छन्।

सिनेटमा रिपब्लिकन नेता जोन थुनले पनि राष्ट्रपति ट्रम्पको हेगसेथमाथि विश्वास कायम रहेको बताएका छन्। तर, डेमोक्र्याट सांसदहरूले भने महाभियोग प्रयास रोकिएकोमा असन्तुष्टि जनाएका छन्। सांसद माइक क्विग्लीले महाभियोगको प्रयास फेरि अघि बढाउने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मैले पिट हेगसेथलाई महाभियोग लगाउने पक्षमा मतदान गरेँ। त्यो मतदान असफल भए पनि महाभियोग हुनेछ।’ यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिका र इरानबीच वार्ता भइरहेको भन्ने खबर अस्वीकार गरेका छन्। इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भने इजरायलले अमेरिकालाई इरानसँग अनन्त युद्धमा तान्न खोजिरहेको आरोप लगाएका छन्। गालिबाफले युद्ध अन्त्य गर्न चीनले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्। अल जजिराका अनुसार रुस र इरानका कूटनीतिज्ञहरूले पनि मस्कोमा भेटेर मध्यपूर्वको बढ्दो तनाव र क्षेत्रीय द्वन्द्व समाधानका विषयमा छलफल गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय कानुनअनुसार राजनीतिक तथा कूटनीतिक माध्यमबाट संकट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर