Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एन्भिडियाले चिनियाँ जासुससँग सीईओको ‘सम्बन्ध’बारे छानबिन गर्न ठूलो कानुनी फर्मलाई नियुक्त गर्यो

Advertisement800×200-1

विशाल अमेरिकी प्रविधि कम्पनी एन्भिडियाले सन्दिग्ध चिनियाँ जासुससँग आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन वाङको ‘सम्बन्ध’ रहेको विषयमा अनुसन्धान गर्न अमेरिकाको सबैभन्दा ठूलो कानुनी फर्ममध्ये एकलाई रोजेको छ। एन्भिडियाका सहसंस्थापक वाङले आफ्नो वैवाहिक सम्बन्धबाहिर एक महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्। एलिस वाङ नाम गरेकी ती महिलाले बेइजिङका लागि जासुसी गर्ने गरेको आरोप लागेको छ। एन्भिडियाले मङ्गलवार न्यूयोर्कस्थित कानुनी फर्म वाचटेल, लिप्टन, रोजन एन्ड काट्जलाई अनुसन्धानको जिम्मेवारी दिएको जनाएको छ। उक्त अनुसन्धानको नेतृत्व सो फर्मका वकिल जुन किमले गर्ने छन्। कम्पनीले त्यसलाई ‘गहन र स्वतन्त्र अनुसन्धान’ भनेको छ। अर्कोतर्फ अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) ले पनि सो विषयमा छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।

शुक्रवारदेखि एन्भिडियाको शेअर मूल्य वार्षिक न्यून बिन्दुको नजिक पुगेको छ। यो अवधिमा कम्पनीको ५०० अर्ब अमेरिकी डलर बराबरको शेअर मूल्य घटेको छ। आर्टिफिशल इन्टेलिजन्स (एआई) को तीव्र विस्तारमा एन्भिडियालाई सबैभन्दा महत्त्वपूर्ण कम्पनीमध्ये एक मानिन्छ। एआईसम्बन्धी उपकरणहरूमा प्रयोग हुने कम्प्युटर चिप निर्माण गर्ने एक मात्र कम्पनी भएकाले यसको महत्त्व अझ बढेको छ। एप्पलपछि एन्भिडिया विश्वको दोस्रो सबैभन्दा मूल्यवान् कम्पनी हो। एआईको विश्वव्यापी प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न चाहने अमेरिकी अधिकारीहरूका लागि एन्भिडियाले उत्पादन गर्ने चिप राष्ट्रिय सुरक्षासँग जोडिएको विषय बनेको छ।

वाङले नामले पनि चिनिने एलिस वाङ जेन्सन वाङकी आफन्त होइनन्। उनी सिङ्गापुरको मेगास्पिड नामक कम्पनीमा कार्यकारी पदमा थिइन्। उक्त कम्पनी एन्भिडियाको ग्राहकसमेत रहँदै आएको थियो। मेगास्पिडले एन्भिडियाका चिपहरू अन्य माध्यमबाट चीन पुर्‍याउन सहयोग गरेको हुन सक्ने आशङ्का गरिएको थियो। तर एन्भिडियाले उक्त विषयमा अनुसन्धान गरिएको र आरोप निराधार रहेको पुष्टि भएको जनाएको छ। न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यसै वर्षको शुरूमा वाशिङ्टनका उच्च अधिकारीहरूलाई एउटा मेमो पठाउँदै जेन्सन वाङको चिनियाँ सन्दिग्ध जासुससँग निकट सम्बन्ध रहेको चेतावनी दिएका थिए। बेइजिङले एन्भिडियाका प्रमुखलाई निशाना बनाइएको भन्ने दाबी अस्वीकार गरेको छ। चीनको विदेश मन्त्रालयले यस्ता आरोपहरू ‘चीनलाई बदनाम गर्ने र उसको छवि बिगार्ने उद्देश्यले लगाइएको’ प्रतिक्रिया दिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर