Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चिनियाँ राष्ट्रपति सी चिनफिङको ताइवानसँग शान्तिपूर्ण एकीकरणको आह्वान

Advertisement800×200-1

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानसँग ‘शान्तिपूर्ण एकीकरण’को लागि आह्वान गरेका छन्। बिहीबार बेइजिङमा चिनियाँ क्रान्तिकारी नेता डा. सन यात–सेनको १६० औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै सीले ‘इतिहासको प्रवाहलाई कसैले रोक्न नसक्ने’ भन्दै ताइवानलाई शान्तिपूर्ण एकीकरणमा आउन आह्वान गरेका हुन्। सम्बोधनको क्रममा सीले सैन्य बल प्रयोगबारे कुनै प्रत्यक्ष कुरा गरेनन्। सीको यस्तो अभिव्यक्तिपछि ताइवानले कडा शब्दमा प्रतिक्रिया दिँदै अस्वीकार गरेको छ।

चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै ‘एक देश, दुई प्रणाली’को प्रस्ताव अघि सारेको छ, जुन ताइवानका कुनै प्रमुख राजनीतिक दलले समर्थन गरेका छैनन्। सीले ताइवानसँगको एकीकरणलाई चीनका लागि ‘अटल ऐतिहासिक मिसन’ भएको बताएका छन्। उनले भने, ‘इतिहासको प्रवाहलाई रोक्न सकिँदैन। मातृभूमिको पूर्ण पुनःएकीकरण हुनैपर्छ, र यो निश्चित रूपमा पूरा हुनेछ।’ उनले ताइवान जलमार्गका दुवै किनार एउटै देश हुन् भन्ने सिद्धान्तलाई कायम राख्दै वार्ता गर्न बेइजिङ तयार रहेको पनि बताए।

ताइवानको मुख्यभूमि मामिला परिषद् (मेनल्यान्ड अफेयर्स काउन्सिल) ले भनेको छ कि न त सरकार न त ताइवानका जनताले ‘एक देश, दुई प्रणाली’ स्वीकार गर्न सक्नेछन्। परिषद्का प्रवक्ता लियाङ वेन–चिएहले पत्रकारहरूसँग भने, ‘ताइवान एकीकरणका बारेमा प्रयोग गरिएका शब्दावलीहरू विगतको भन्दा खासै फरक छैनन्।’ चिनियाँ सेनाले ताइवान टापु वरिपरि दैनिक जसो सैन्य गतिविधि सञ्चालन गर्दै प्रशान्त महासागरमा आफ्नो पहुँच विस्तार गरिरहेको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार बिहीबारदेखि चिनियाँ युद्धपोतसँगको समन्वयमा २९ वटा चिनियाँ सैन्य विमानहरूले ताइवान वरिपरि गस्ती गरिरहेको फेला परेको छ।

सीको यो सम्बोधन चीनको दक्षिणी प्रविधि केन्द्र सेन्जेनमा आयोजना हुन लागेको एपेक शिखर सम्मेलनको ठीक एक हप्ताअघि आएको हो। ताइवानमा स्थानीय निर्वाचन हुन अब दुई हप्ता समय बाँकी छ। सीले सेन्जेनमा हुने एपेक सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। ताइवानका राष्ट्रपति लाइ चिङ–ते र उनकी सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले चीनभन्दा ताइवानको छुट्टै पहिचानको वकालत गर्दै आएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर