

योगदानमा आधारित निवृत्तिभरण: सैनिकको पेन्सन १६ वर्षमै प्राप्त हुन्छ कि २० वर्ष काम गर्नुपर्छ?


सैनिक नियमावली अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीले भर्ती भएको १६ वर्षपछि पेन्सन पाउँछन्। विगत सात वर्ष यता नेपाली सेनामा योगदानमा आधारित पेन्सन प्रणाली लागू भएको छ। यस अनुसार २०७६ साउन १ गतेपछि नेपाली सेनामा भर्ती भएका हरेक सैनिकको तलबको छ प्रतिशत रकम पेन्सनका निम्ति निवृत्तिभरण कोषमा जम्मा हुन्छ। तर, निवृत्तिभरण कोष ऐन अनुसार २० वर्षसम्म कोषमा योगदान गरेका सैनिक, प्रहरी वा सरकारी कर्मचारीले मात्र पेन्सन पाउँछन्। त्यसभन्दा कम समय कोषमा योगदान गरेका कर्मचारीले जागिर छोड्दा एकमुस्ट उपदान मात्र पाउँछन्।
कोषको ऐन र नेपाली सेनाको नियमावलीमा पेन्सनबारे भएका अलग-अलग व्यवस्थाले नेपाली सेनाका आधारभूत दर्जाका सैनिकहरूले २० वर्ष काम नगरी जागिर छाडे पेन्सन पाउँछन् कि पाउँदैनन् भन्ने द्विविधा उब्जाएको छ। गएको जेठमा पछिल्लो पटक संशोधन भएको सैनिक नियमावली अनुसार नेपाली सेनामा पेन्सनका लागि १६ वर्षदेखि २० वर्षसम्म जागिर खानु पर्छ। सहायक सेनानीभन्दा वरिष्ठ पदका हकमा २० वर्ष र फलोअर्स र सिपाहीका हकमा १६ वर्ष सेवापछि पेन्सन हुने व्यवस्था छ।
सैनिक नियमावलीमा पेन्सन अवधि पूरा भए पनि २० वर्ष अघि नै जागिरबाट अवकाश लिएका सैनिकले २० वर्ष लागेपछि मात्रै पेन्सन पाउने व्यवस्था छ। नियमावलीमा उल्लेख गरिएको छ कि “२० वर्ष सेवा अवधि नपुग्दै स्वैच्छिक अवकाश लिने सैनिक व्यक्तिले नेपाली सेनामा भर्ना भएको मितिले बीस वर्ष अवधि पूरा गरेको मितिबाट मात्र निवृत्तिभरण बापतको रकम प्राप्त गर्ने”। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सैनिक कानुन अनुसार १६ वर्षमै अवकाश लिए पनि उनीहरू पेन्सनका लागि योग्य हुने बताउँछन्।
निवृत्तिभरण कोष ऐनमा “२० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरी सेवाबाट अलग भएका कर्मचारीले कोषबाट मासिक रूपमा आजीवन निवृत्तिभरण पाउने” भनिएको विषयमा सामाजिक सुरक्षा मन्त्रालयले पनि परामर्श भइरहेको जनाएको छ। कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक वीरेन्द्र पौडेलका अनुसार कोषको ऐन र सुरक्षा निकायका नियममा फरकफरक व्यवस्थाका कारण पेन्सनबारे अन्योल रहेको बताउँछन्। उनले भने, “सैनिक ऐनमा १६ वर्ष पुगेपछि पेन्सन पाउने भन्ने व्यवस्था छ। जबकि निवृत्तिभरण कोषले २० वर्षपछि मात्रै पेन्सन पाउने व्यवस्था छ।”

सम्बन्धित खबर









