

गोपालगञ्जमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन


बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका नेता र कार्यकर्ताले प्रदर्शनका क्रममा प्रहरीका गाडी, चौकी र सार्वजनिक संरचनामा तोडफोड गरेका छन्। प्रदर्शनपछि बंगलादेश सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित तीन प्रहरी चौकीका प्रमुखलाई सरुवा गरेको छ। हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने बताएकी छन्, जबकि बंगलादेशले उनलाई भारतबाट सुपुर्दगी गर्न कानुनी प्रक्रिया अघि बढाएको छ।
३० कात्तिक, काठमाडौं। आइतबार गोपालगञ्जमा अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन्। उनीहरूले प्रहरीको अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए। प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्याइएको छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरको हादी चोकको नामपट्टिकासमेत तोडफोड गरेका छन्।
प्रदर्शनकारीले सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका थिए। उनीहरूले खुकुरी, भाला, बन्चरो, लाठी र डुंगा चलाउन प्रयोग गरिने काठका डाँडाजस्ता स्थानीय हतियार बोकेका थिए। प्रदर्शनमा सहभागी कतिपयले पूर्वप्रधानमन्त्री हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए। घटनापछि जिल्लाका प्रमुख अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गरिएको छ।
बंगलादेश सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी)लाई सरुवा गरेको छ। जिल्ला प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाहलाई फेनी जिल्लामा सरुवा गरिएको छ। हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने बताउँदै आएकी छन्। उनले कानुनी लडाइँ लड्ने र स्वदेश फर्किने इच्छा व्यक्त गरेकी छन्। बंगलादेश सरकारले हसिनालाई भारतबाट फिर्ता ल्याउन सुपुर्दगी सन्धिअनुसार प्रक्रिया अघि बढाएको बताउँदै आएको छ।

सम्बन्धित खबर









