

ब्रिटिश राजकुमार विलियम र राजकुमारी क्याथरीन भारतमा, नरेन्द्र मोदीसँग भेट गर्ने योजना


वेल्सका राजकुमार र राजकुमारी भारतको औपचारिक भ्रमणमा मुम्बई आइपुगेका छन्। आफ्नो तीनदिने बसाइका क्रममा उनीहरूको भेट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि हुने छ। राजकुमार विलियम र राजकुमारी क्याथरीन चार वर्षमा पहिलो पटक सँगसँगै औपचारिक विदेश भ्रमणमा निस्किएका हुन्। क्यान्सरको उपचारका कारण राजकुमारी क्याथरीनको अन्तर्राष्ट्रिय भ्रमण सीमित भएको थियो। यद्यपि यस साता आयोजना हुने विभिन्न कार्यक्रममा उनी आफ्ना पति राजकुमार विलियमसँगै उपस्थित हुने छिन्।
ती कार्यक्रमहरूमध्ये अधिकांश जलवायुसम्बन्धी ठूला चुनौतीका उत्कृष्ट समाधानका लागि राजकुमार विलियमद्वारा स्थापित ‘अर्थशट प्राइज’सँग सम्बन्धित छन्। ‘अर्थशट प्राइज’अन्तर्गत १० लाख पाउन्ड धनराशिका पाँचवटा पुरस्कार प्रदान गरिन्छ। “राजकुमारले ‘अर्थशट’मार्फत् हासिल गर्नुभएको उपलब्धिमा राजकुमारी अत्यधिक गौरवान्वित हुनुहुन्छ र राजकुमारको वर्षको सबैभन्दा महत्त्वपूर्ण क्षणमध्ये एउटामा सँगै रहनका लागि उहाँ उत्सुक हुनुहुन्छ,” राजपरिवारका एक प्रवक्ताले भने।
भारतीय प्रधानमन्त्रीसँगको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फिलिपिन्सको भ्रमणबाट फर्किने निश्चित भएपछि राजकुमार र राजकुमारीको कार्यतालिकामा उनीसँगको भेट हुने योजना थपिएको हो। मोदीसँग भेट्न उनीहरू मुम्बईबाट बुधवार दिल्ली जाने छन्। “अन्तराष्ट्रिय मञ्चमा आफ्नो भूमिका बढाउँदै गएका राजकुमारका लागि यो अर्को उल्लेखनीय भेट हुने छ,” केन्सिङ्टन प्यालेसका एक प्रवक्ताले भने। “उहाँले विदेश भ्रमणमार्फत् ब्रिटेनको कूटनीतिक सम्बन्धलाई समर्थन गर्दै आएको हामीले देखेका छौँ। अनि यो भेटघाटले उच्चतम तहमा ती सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्ने छ।” यसअघि राजकुमार र राजकुमारीले सन् २०१६ मा भारतको भ्रमण गरेका थिए।
सोमवार बिहान मुम्बई आइपुग्दा राजकुमार विलियमले यो भ्रमणबारे सामाजिक सञ्जालमा एउटा सन्देश पोस्ट गरेका छन्। “भारतले विगत छ वर्षमा अर्थशटमा असाधारण योगदान पुर्याएको छ र यो अरू देशको तुलनामा धेरै अर्थशट फाइनलिस्ट तथा विजेताहरूको थलो हो।” राजकुमार र राजकुमारी मुम्बईमा पर्यावरण, क्रिकेट, युवा परिवार र बलिवुड चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूमा सहभागी हुने छन्। पुरस्कार वितरण समारोहमा १० लाख पाउन्डको पुरस्कार जित्ने पाँचवटा नवप्रवर्तकको नाम विजेताका रूपमा घोषणा हुने छ। मनोनयनमा परेका परियोजनाहरूमा भारतमा विद्युतीय रिक्साको सङ्ख्या बढाउने पहलदेखि लिएर नासाले भन्दा छिटो डढेलो पत्ता लगाउन सक्ने योजनासम्म समाविष्ट छन्। सो कार्यक्रम ‘द ट्रेटर्स इन्डिया’का प्रस्तोता करण जोहरले सञ्चालन गर्ने छन्।

सम्बन्धित खबर









