

पावेल डुरोभको व्यङ्ग्यात्मक पोस्टले महिलाको वस्तुकरणको आलोचना


टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पावेल डुरोभले जेन्सेन ह्वाङ र एलिस ह्वाङसँगको विवादका बीच हनीपोटबारे व्यङ्ग्यात्मक पोस्ट गरेका छन्। डुरोभले ‘एक्स’ मा एसियाली युवतीहरूमा रुचि नराख्ने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउने भन्दै फ्रान्स, रुस र इरानमाथि कटाक्ष गरेका छन्। उनका पोस्टपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ र धेरैले महिलाको वस्तुकरण गरेको भन्दै आलोचना गरेका छन्।
अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ र शङ्कास्पद चिनियाँ जासुस एलिस ह्वाङबिचको प्रेम सम्बन्धको विवाद चर्किरहेका बेला डुरोभले यस प्रकरणमाथि व्यङ्ग्यात्मक कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा व्यंग्य गर्दै एसियाली महिलाप्रति आकर्षित नहुने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउने टिप्पणी गरेका छन्।
नोभेम्बर ११ मा पोस्ट गर्दै रुसी मूलका अर्बपति डुरोभले फ्रान्स, रुस र इरानका गुप्तचर एजेन्सीहरूले आफूलाई किन निसाना नबनाएको भन्दै व्यङ्ग्य गरेका छन्। उनले लेखेका छन्, ‘एसियाली युवतीहरूमा रुचि नराख्ने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउनु अन्यायपूर्ण छ। फ्रान्सेली, रुसी र इरानी ‘हनीपोट’ कहाँ छन्? म कहाँ त एउटी पनि जासुस युवती पठाइएन। के उनीहरूले प्रयास पनि गरिरहेका छन्?’
सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया र आलोचना डुरोभको उक्त पोस्ट भाइरल भएसँगै प्रयोगकर्ताहरूबीच मिश्रित प्रतिक्रिया र कडा आलोचना सुरु भएको छ। एक प्रयोगकर्ताले लेखेका छन्, ‘म के पढिरहेको छु विश्वासै लागिरहेको छैन। यदि अर्बपति सीईओहरूले त युवती पाउँदैनन् भने म त जीवनभर अविवाहित नै रहनेछु।’ कतिपय प्रयोगकर्ता र आलोचकहरूले भने विभिन्न राष्ट्रियताका महिलाहरूलाई सम्भावित गुप्तचर हतियारका रूपमा चित्रण गर्दै महिलाको वस्तुकरण गरेको र गम्भीर राष्ट्रिय सुरक्षा तथा जासुसी आरोपहरूलाई सस्तो ठट्टामा उडाएको भन्दै डुरोभको आलोचना गरेका छन्।

सम्बन्धित खबर









