Skip to main content

सिन्धु घाटी: उन्नत प्राचीन सभ्यता जसका बारेमा थोरै जानकारी छ

धेरैजसो ईँटाका घरहरू, समान प्रकारका सडकहरू र फ्लस हुने शौचालयसहितको उन्नत ढल निकास प्रणाली। यस्तो सुनिसक्दा आधुनिक सहरजस्तो लाग्न सक्छ, तर वास्तविकता यो हजारौँ वर्ष अघिको प्राचीन सिन्धु घाटी सभ्यताको सहरी केन्द्रहरूको चित्रण हो। यो सभ्यता अत्यन्तै उन्नत थियो र प्राचीन इजिप्ट र मेसोपोटामियासँगै अस्तित्वमा रहेको विश्वास गरिन्छ – तर पनि हामीलाई यो सभ्यताबारे अपेक्षाकृत कम जानकारी छ। यसको एक रहस्य यथावत् रहेको छ, जसको एक मुख्य कारण त्यो कालका अझै पनि पूर्ण रूपमा नबुझिएको लिपि हो जसले इतिहासलाई अल्झाएको छ।

सिन्धु घाटी सभ्यताको सबैभन्दा विकसित चरण ईसा पूर्व २६००देखि १९०० सम्म रहेको मानिन्छ। तथापि यसको विकास त्योभन्दा पनि पहिले, करिब ईसा पूर्व ४००० तिरबाट सुरु भएको थियो, डाक्टर संगारलिङ्गम रमेशले बताउनुहुन्छ। उहाँ युनिभर्सिटी अफ लन्डन र युनिभर्सिटी कलेज लन्डनका व्याख्याता हुनुहुन्छ। यो सभ्यता हालको पाकिस्तान र भारतको सिन्धु नदी वरिपरि केन्द्रित थियो। यस सभ्यतामा केवल कृषक गाउँहरू मात्र नभई १४०० भन्दा बढी नगर र सहरहरू थिए, जसमा सबैभन्दा ठूला शहरहरू हरप्पा र मोहेन्जो-दारो हुन्। डाक्टर रमेशका अनुसार, यो प्राचीन इजिप्ट र मेसोपोटामियाभन्दा पनि ठूलो थियो, जसमा करिब १० लाख मानिसहरू ८० हजार बस्तीहरूमा बसोबास गर्थे।

  1. उन्नत सहरी योजना
    रमेशका अनुसार, सिन्धु घाटी सभ्यता इँटाबाट घर निर्माण गर्ने पहिलो सभ्यतामध्ये एक हो। “सहरहरू समकोणमा योजना अनुसार सिधा सडकहरू सहित बनाइएका थिए,” उहाँले बताउनुभयो। “त्यहाँ कुण्डहरू थिए, घरहरूमा शौचालय थिए… रोमन सभ्यताभन्दा २००० वर्ष अघि नै उनीहरूको उत्तम ढल निकास प्रणाली थियो।” यस ढल निकास प्रणाली र स्नान गृहहरूको उत्खननले यो सभ्यतामा रोगबारे साक्षरता र सफाइलाई महत्त्व दिएको देखाइएको छ। सहरी क्षेत्रहरूको घनत्वले आपूर्ति शृंखला व्यवस्थापनलाई सम्भव बनायो, जसले व्यापारलाई अझ सुलभ बनायो। “उनीहरूले प्राचीन मेसोपोटामियासँग काठ, बाला, तामा, सुन र कपासका लुगाहरूसम्मका सामग्रीहरूको व्यापार गर्थे,” रमेशले उल्लेख गर्नुभयो।
  2. संयुक्त शासन व्यवस्था
    रमेशले सहरी क्षेत्रको संगठनले अरू कुराहरू पनि दर्शाउने बताए। “सहज र प्रभावकारी नागरिक प्रशासन रहेको संकेत छ, जसले सहर र बस्तीका पूर्वाधारहरू व्यवस्थित गर्थ्यो,” उहाँले भन्नुभयो। “उनहरूको शासन प्रणाली परिष्कृत वा केन्द्रित नबढी संयुक्त थियो र दरबार वा कुलीन वर्गको नेतृत्वमा रहेको कुनै प्रमाण छैन।” यी तत्त्वहरूले सिन्धु उपत्यकालाई अन्य समाजहरूबाट फरक बनाएको देखिन्छ।
  3. तुलनात्मक रूपमा समानता र शान्तिपूर्ण जीवन
    सिन्धु घाटीमा केही सामाजिक तहहरू रहेका विषयमा प्रमाणहरू छन्, तर ती अन्य समाजहरू जस्तो स्पष्ट छैनन्। “सामाजिक स्तरहरू इजिप्ट र मेसोपोटामियामा सजिलै अवगत हुन सकिन्छ… तर सिन्धु सभ्यतामा घरको आकारमा केहि भिन्नता छ, तर त्यति धेरै छैन,” रमेशले व्याख्या गर्नुभयो। पुरातत्त्वविद्हरूले केही कङ्कालहरूमा चोटपटकका चिन्हहरू पत्ता लगाएका छन्, तर उनीहरूले यो समाज अन्यभन्दा बढी शान्तिपूर्ण थियो भनी विश्वास पनि गर्छन्। “यहाँ युद्धका स्पष्ट सङ्केतहरू कम देखिन्छन्, हतियारले भरिएका कुलीन वर्गका प्रमाणहरू तुलनात्मक रूपमा कम छन, र प्राप्त कङ्कालका नमूनाहरूमा चोटपटकहरू पनि प्राचीन नियर इस्टका अन्य क्षेत्रहरूभन्दा कम छन्,” रमेशले अवगत गराउनुभयो। तर यसको अर्थ उनीहरू पूर्ण रूपमा हिंसाविहीन थिए भन्ने होइन। प्रमाणहरूको कमीले पनि यस्तो छवि उत्पन्न भएको हुनसक्छ। “यदि स्मारक वा लिपिमार्फत युद्धका कुरा नभएका भए, पछि आउने अनुसन्धानकर्ताहरूले हिंसात्मक द्वन्द्वका सङ्केत कम देख्न सक्छन्,” उहाँले थप्नुभयो।

अझै धेरै रहस्यहरू
सिन्धु घाटी सभ्यताबारे धेरै कुराहरू अझै अज्ञात छन्। एउटा प्रमुख कारण त्यहाँ सीमित पुरातात्विक उत्खनन हुनु हो, डाक्टर रमेशले विश्लेषण गर्नुभएको छ। “यो सभ्यता फैलिएर अफगानिस्तानसम्म फैलिएको छ, जहाँको अवस्था अहिले उत्खननका लागि अनुकूल छैन,” उहाँले बताउनुभयो। अर्को कारण उनीहरूले निर्माणमा प्रयोग गरेका सामग्री र तरिकाहरू हुन सक्छन्। “इजिप्ट र मेसोपोटामियाले टिकाउ ढुङ्गा प्रयोग गर्थे, तर सिन्धुले अधिकतर माटोको इँटा र पोलेर बनेका ईँटा प्रयोग गरेका थिए,” उहाँले वर्णन गर्नुभयो। “ठूला ढुङ्गाका मन्दिर, दरबार वा शाही समाधिहरू नहुँदा सिन्धु राज्य पुनर्निर्माण गर्न कठिन हुन्छ।” तर सबैभन्दा ठूलो चुनौती प्राचीन सिन्धु लिपि बुझ्न नसक्नु हो।

सिन्धु घाटी क्षेत्रका ढुङ्गाहरूमा अक्षरहरू कुँदिएका भेटिएका छन् र यो लिपि “सबैभन्दा धेरै बुझ्ने प्रयास भए पनि अझसम्म नबुझिएको लिपि” हो, मुम्बईस्थित टाटा इन्स्टिच्युट अफ फन्डामेन्टल रिसर्चकी डाक्टर निशा यादवले भनिन। “हरेक १० दिनमा मलाई ईमेल आउँछ जसमा लेखिएको हुन्छ: ‘मैले सिन्धु लिपि बुझें,'” उहाँले बताउनुभयो। तर कुनै पनि व्याख्याले वैज्ञानिक सहमति पाएको छैन। यादवका अनुसार, लिपि बुझ्न कठिन हुनुको कारण छोटो लिपि हुनु र केवल पाँचदेखी १४ वटा चिन्हहरू मात्रै हुनु हो। विस्तृत ‘रोजेटा स्टोन’ प्रकारको सामाग्री अहिलेसम्म भेटिएको छैन।

रोजेटा स्टोन विश्वप्रसिद्ध प्राचीन शिलापत्र हो, जसमा इजिप्टको हाइरोग्लिफिक, डेमोटिक र क्लासिकल ग्रीक तीनवटा लिपिहरूमा सन्देश लेखिएको थियो, जसले हाइरोग्लिफ बुझ्न सहयोग पुर्‍यायो। यद्यपि उहाँका अनुसन्धानहरूमा कम्प्युटर मोडेलिङ प्रयोग गरेर चिन्हहरूमा ढाँचा पत्ता लागेको छ। त्यहाँ वाक्य संरचना नियमहरू र लिपिमा “अन्तर्निहित तर्क” को प्रमाण भेटिएको छ। “यदि हामीले यसलाई पढ्न सक्यौँ भने, यो ज्ञानका फौवा खोल्ने एउटा साँचोजस्तो हुनेछ,” उहाँले भनिन। यसले सभ्यता सम्बन्धी विश्वास र विश्व दृष्टिकोणका सङ्केत दिन सक्छ र व्यापार तथा ढुङ्गामा कुदाइएका अक्षरहरूको भूमिका अझ प्रष्ट पार्न सक्छ।

यो सभ्यतिसँग के भयो?
सिन्धु घाटी सभ्यताको पतनको मुख्य तर्कमध्ये एउटा पर्यावरणीय परिवर्तन हो। “ईसा पूर्व १९०० तिर उनीहरूले ती स्थलहरू छोडेर अन्यत्र सरे, र पुरातत्त्वविद्हरू तथा जलवायु विशेषज्ञहरूले यसलाई वर्षा र मौसम परिवर्तनसँग जोडेको देख्छन्,” रमेशले बताउनुभयो। मोहेन्जो-दारोको उत्खननले पनि बाढीको प्रभावबाट बच्न मानिसहरूले गरेका प्रयासहरू प्रमाणित गरेको पाइन्छ। रमेशले जोड दिनुभयो कि आधुनिक समाजले यो बुझ्न अत्यन्त आवश्यक छ किनभने यदि अहिलेको हिमनदीहरू छिटो पग्लिरहेका छन् भने इतिहास आफैँ पुनः दोहोरिन सक्छ। “उनीहरूमा प्रकृतिमा के भइरहेको थियो भन्ने प्रविधि थिएन, तर हाम्रो वर्तमानमा त्यो प्रविधि र क्षमता छ र हामीले यसलाई विवेकपूर्ण प्रयोग गरेर हाम्रो सभ्यता दिगो बनाउने सुनिश्चित गर्न सक्छौं।”