सिटी होटलले संस्थापक समूहको सेयर बिक्रीको अफवाहलाई असत्य ठहराउँदै कानुनी कारबाही गर्ने निर्णय
सिटी होटलले संस्थापक समूहको सेयर बिक्री भएको अफवाहलाई पूर्ण रूपमा गलत र भ्रामक भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ। कम्पनीले २०८३ जेठ ४ सम्म संस्थापक र कर्मचारी समूहका ९०.४० प्रतिशत सेयर लकइनमा रहेको सीडीएससीको आधिकारिक विवरणबाट प्रमाणित भएको जानकारी दिएको छ। यसै कारणले, सिटी होटलले भ्रामक समाचार प्रकाशन गर्ने विरुद्ध कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ।
२३ वैशाख, काठमाडौं। कानुन विपरीत सिटी होटलको ‘लकइन’मा रहेको संस्थापक समूहको सेयर बिक्री गरिएको भनी फैलाइएका अफवाहहरू पूर्ण रूपमा गलत, भ्रामक र तथ्यहीन भएको कम्पनीले जनाएको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा भनेको छ, “कम्पनीले सुरुदेखि नै लकइनसम्बन्धी नियमहरूको पूर्ण पालना गर्दै आएको छ। यसरी निराधार र भ्रामक समाचारमा विश्वास नगर्न र कम्पनीका आधिकारिक सूचनालाई मात्र भरोसायोग्य स्रोतको रूपमा ग्रहण गर्न अनुरोध गरिन्छ।”
कम्पनी–सचिव सुन्दरबहादुर सेनीद्धारा जारी विज्ञप्तिमा सिडीएस एण्ड क्लियरिङ लिमिटेडसँग पत्राचार गरी संस्थापक समूहको सेयर अद्यावधिक विवरण माग गरिएको उल्लेख गरिएको छ। कम्पनीका अनुसार, संस्थापक र कर्मचारी समूहका सम्पूर्ण २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता सेयर २०८३ जेठ ४ सम्म लकइनमा रहेको विवरण प्राप्त भएको छ।
सिटी होटलले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएकाे साविक सेयरधनीलाई हकप्रद सेयर जारी गरेको जनाएको छ। यस क्रममा केही सेयर बिक्री नभई बाँकी रहन गएकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नम्बर १५ बमोजिम बोर्डलाई जानकारी गराई लिलाम बढाबढमार्फत सेयर बिक्री गरिएको कम्पनीको भनाइ छ। कम्पनीले भ्रामक समाचार प्रकाशन गर्ने कार्यमा संलग्न सबै विरुद्ध आवश्यक कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ।





