Skip to main content

शंकर पोखरेलको प्रश्न– हिजो विरोध गर्नेहरूले किन अहिले विदेशी ऋण लिएका छन्?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋण सम्बन्धमा वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न उठाएका छन्। मन्त्रिपरिषद्ले २२ चैतमा १८.५ करोड अमेरिकी डलर बराबरको विदेशी ऋण लिने निर्णय गरेको थियो। पोखरेलले सरकारले ऋण लिँदा स्पष्ट नीति र प्राथमिकता नदेखाएको भन्दै जनतालाई पारदर्शी जवाफ दिनुपर्ने बताएका छन्। २४ चैत, काठमाडौं।

पोखरेलले अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा विदेशी ऋण लिइरहेकोमा सरकारसँग जवाफ माग्दै हिजो विदेशी ऋणले देश डुबायो भन्दै आलोचना गर्नेहरूका व्यवहारप्रति प्रश्न उठाएका छन्। मंगलबार फेसबुकमा एक टिप्पणी गर्दै महासचिव पोखरेलले दिगो पूर्वाधार विकासका लागि विदेशी ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै रहेको स्वीकार गरेका छन्। तर, पूर्ववर्ती सरकारले ऋण लिँदा तीव्र विरोध गर्नेहरूले अहिले संसदमा स्पष्ट नीति र प्राथमिकता नदिएर ऋण लिइरहेको उनको भनाइ छ।

‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारले नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिएर छन्,’ पोखरेलले लेखेका छन्, ‘यस विषय सार्वजनिक भइरहेसँगै प्रश्न स्वाभाविक रूपमा उठेको छ।’

२२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले १८.५ करोड अमेरिकी डलर अर्थात् करिब २७ अर्ब ५१ लाख रुपैयाँ बराबरको विदेशी ऋण लिने निर्णय गरेको थियो। एमाले महासचिव पोखरेलले हिजो सत्ता बाहिर हुँदा ऋणको विरोध गर्नेहरू अहिले सत्ता हुँदा त्यही ऋण स्वीकार गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्। उनले सोधे, ‘हिजो विरोध किन? आज स्वीकार किन?’ ठूलो मात्रामा विदेशी ऋण लिइएको विषयमा सरकारले जनतालाई स्पष्ट तथा पारदर्शी जवाफ दिनुपर्ने उनको माग छ। यस विषयमा राप्रपाकी सांसद खुुस्बु ओलीले पनि प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी थिइन्।