Skip to main content

कञ्चनपुरको कारागारबाट १६ कैदीलाई बाँके सारियो

२६ चैत, महेन्द्रनगर । कञ्चनपुरस्थित महेन्द्रनगर कारागारबाट १६ कैदीबन्दीलाई बाँके जिल्लाको नौबस्ता कारागारमा स्थानान्तरण गरिएको छ। बुधवार कञ्चनपुर कारागारमा दुई समूहबीच झडप हुँदा पाँच जना कैदी घाइते भएका थिए। यसपछि कारागार प्रशासनले ती कैदीलाई नौबस्ता कारागारमा सार्ने निर्णय लिएको हो।

केही समयअघि कैदीहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले २० कैदीलाई स्थानान्तरण गर्न खोजेको थियो। तर, स्थानान्तरणको तयारीको क्रममा कारागारको अवस्था असहज बनेपछि तत्काल स्थानान्तरण स्थगित गरिएको थियो। नगरपालिका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्रसिंह थापाले कैदी स्थानान्तरण आवश्यक भएको जानकारी दिए। झडप आपसी मनमुटावका कारण भएको थियो र घाइतेहरू सहितका अन्य कैदीलाई स्थानान्तरण गरिएको हो। गत पुस महिनामा समेत कारागारमा झडप हुँदा नौ कैदीहरूलाई स्थानान्तरण गरिएको थियो। –रासस