Skip to main content

नुवाकोटमा रुख काट्दा हाँगा लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

२८ चैत, नुवाकोट। नुवाकोटको बेलकोटगढीमा रुख काट्ने क्रममा हाँगा लागेर एक व्यक्तिको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित आलडाँडामा शनिबार बिहान रुख काट्दा हाँगा लागेर स्थानीय ३३ वर्षिय प्रेमबहादुर तामाङको मृत्यु भएको हो। तामाङ आफ्नै बारीमा रहेको कुटमिरोको रुख काटिरहेको बेला उक्त दुर्घटना भएको बाघखोर प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रूपक थापाले बताए।

उनका अनुसार, रुख काट्न सहयोग गरिरहेका अन्य दुई जना घाइते भएका छन्। घाइतेमध्ये बेलकोटगढी नगरपालिका–१० का माधव भुजेल र अरुण तामाङ रहेका छन्। उनीहरूको अवस्था गम्भीर छ र दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको छ।