Skip to main content

राम्रो निद्राका लागि क्याम्पिङ उपयुक्त छ ?

प्राकृतिक प्रकाश र रातको अँध्यारोमा बस्दा सुत्ने समय करिब दुई घण्टा अगाडि सर्छ र हृदय रोग र डिप्रेसनको जोखिम कम हुन्छ। राम्ररी निदाउन नसक्नु पछिल्लो जीवनशैलीको एउटा प्रमुख समस्या बन्दै गएको छ। अत्यधिक स्क्रिन टाइम, तनाव र असन्तुलित खानपानका कारण धेरैमा निद्राको समस्या देखा पर्दछ। तथापि, अनिद्राबाट ग्रसित व्यक्तिहरूका लागि प्रकृतिसँगको निकटता अर्थात् क्याम्पिङ एउटा प्रभावकारी समाधान हुन सक्छ भन्ने अध्ययनहरूले देखाएका छन्। ओछ्यानको कमीकमजोरी र बाहिरी वातावरणका चुनौतीहरू हुँदाहुँदै पनि चराहरूको चिरबिर र प्राकृतिक प्रकाशले निद्राको गुणस्तर उल्लेखनीय रूपमा सुधार गर्दछ भन्ने दावी गरिन्छ।

विशेषगरी अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका प्रोफेसर केनेथ राइट र उनको टोलीले यस विषयमा अनुसन्धान गर्दै आएका छन्। राइट स्लिप एण्ड क्रोनोबायोलोजी ल्याबोरेटरीका निर्देशक हुन् र विगत १५ वर्षदेखि क्याम्पिङ, प्राकृतिक प्रकाश र मान्छेको जैविक घडीबीचको सम्बन्धमा विभिन्न चरणमा अध्ययन गरिरहेका छन्। उनका अनुसार, धेरै मानिस सूर्य अस्ताएपछि धेरैबेर सुत्ने गर्छन्, जसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पुर्‍याउँछ। तथापि, क्याम्पिङले हाम्रो शरीरको जैविक घडीलाई पुनः सेट गर्न सक्षम हुन्छ।

क्याम्पिङमा जाने धेरैजसोले निद्रा राम्रो भएको टिप्पणी गर्दछन्। हाल नेपालमा पनि यो अभ्यास विस्तार हुँदै गएको छ। विशेष गरी शहरी क्षेत्रमा यो संस्कार बढ्दै गएको छ। यद्यपि, क्याम्पिङ गर्दा केही अपनाउनुपर्ने तरिकाहरू छन्। धेरैले रूखमुनी टेन्ट टाँग्ने गर्छन् किनभने सजिलो हुन्छ; तर यो उपयुक्त होइन। वर्षा हुँदा रूखबाट झर्ने ठूलो थोपाले थप आवाज निकालेर सुत्न समस्या हुन सक्छ। जमिनको चिसोबाट बच्न राम्रो इन्सुलेशन प्याड प्रयोग गर्नुपर्छ। यदि क्याम्पिङ सम्भव नभएमा, घरमै साँझको बेला मधुरो वा रातो प्रकाश प्रयोग गरेर प्राकृतिक वातावरण महसुस गर्न सकिन्छ।