Skip to main content

आईपीएलमा चेन्नईको लगातार दोस्रो जीत, कोलकाता अझै पराजित

चेन्नई सुपर किङ्सले आईपीएलमा लगातार दोस्रो जीत हासिल गर्दै कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ। चेन्नईले १९२ रन बनाएपछि कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। चेन्नईका नूर अहमदले ३ विकेट लिए भने कोलकाताका रमनदीप सिंहले सबैभन्दा धेरै ३५ रन बनाए।

१ वैशाख, काठमाडौं। चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जीत हासिल गरेको छ भने कोलकाता नाइट राइडर्सले चौथो हार बेहोर्दै निराशाजनक यात्रा जारी राखेको छ। मंगलबार चेन्नईमा भएको खेलमा चेन्नईले कोलकातालाई ३२ रनले पराजित गरेको हो। चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो।

कोलकाताका लागि रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाएका थिए। रोभमन पावेलले ३१, अजिन्क्या रहानेले २८, अंगकृश रघुवंशीले २७ तथा सुनिल नराइनले २४ रन गरेका थिए। चेन्नईका नूर अहमदले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। अंशुल कम्बोजले २ विकेट लिए भने खलील अहमद र अकिल होसेनले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो। सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ४१, आयुष म्हात्रेले ३८ रन बनाए। सरफराज खानले २३ रनको योगदान दिए। कोलकाताका लागि कार्तिक त्यागीले २ विकेट लिए भने वैभव अरोरा, अनुकुल रोय र सुनिल नराइनले १-१ विकेट लिए। प्रतियोगितामा दोस्रो जीत हासिल गरेको चेन्नी ५ खेलमा ४ अंकसहित आठौं स्थानमा उक्लिएको छ। कोलकाता भने ५ खेलमा १ अंकसहित सबैभन्दा पछाडि छ र अझै पनि जीतविहीन छ।