
रुपन्देही, २६ कात्तिक। तिहारको देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थलमा ‘अश्लील नृत्य’ गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले बुधबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार सार्वजनिक स्थलमा त्यस्तो नृत्य भइरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
नियन्त्रणमा लिइएका एक महिला रुपन्देहीको देवदह नगरपालिका–७ की हुन् भने अर्की सर्लाहीको हरिवन नगरपालिका–३ की हुन्। देउसी–भैलोका क्रममा गरिएको प्रस्तुति सामाजिक शिष्टाचारविपरीत रहेको प्रहरीको आरोप छ। चन्दका अनुसार प्रहरीले घटनाबारे सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालयले देउसी–भैलोलगायत सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सार्वजनिक मर्यादा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। त्यस्ता कार्यक्रममा कानुनविपरीतका गतिविधि भएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रहरीले जनाएको छ।

सम्बन्धित खबर










