Skip to main content
Advertisement1200×100-inside-1

भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

काठमाडौं, कात्तिक २० । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा उनले प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेस गरेसँगै दलेलाले नेपालका लागि भारतीय राजदूतका रूपमा औपचारिक कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो।

दलेला कार्यभार सम्हाल्न गत मंगलबार काठमाडौं आइपुगेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। उनले निवर्तमान राजदूत नवीन श्रीवास्तवको स्थानमा जिम्मेवारी सम्हालेका हुन्। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेला नेपाल मामिलामा काम गरिसकेका अनुभवी कूटनीतिज्ञ हुन्।

उनले भारतीय विदेश मन्त्रालयको उत्तरी महाशाखामा सन् २००६ देखि २००७ सम्म निर्देशक तथा सन् २०१६ देखि २०१९ सम्म सहसचिवका रूपमा नेपाल र भुटानसँग सम्बन्धित विषय हेरेका थिए। नेपालका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिव थिए। उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

भारतीय प्रधानमन्त्रीको कार्यालयमा समेत काम गरेका दलेलासँग अमेरिकालगायत विभिन्न मुलुकमा कूटनीतिक जिम्मेवारी सम्हालेको अनुभव छ। नेपालमा रहँदा दलेलाले भारत सरकारको प्रतिनिधित्व गर्दै दुई देशबीचको कूटनीतिक संवाद, द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा समन्वय गर्नेछन्। ओहोदाको प्रमाणपत्र राजदूतलाई आफ्नो देशले आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गरेको पुष्टि गर्ने औपचारिक कूटनीतिक दस्तावेज हो। शुक्रबार नै राष्ट्रपति पौडेलसमक्ष लाओसका गैरआवासीय राजदूत विथाया जायभोङ र पानामाका गैरआवासीय राजदूत अलोन्सो मिगुएलले पनि छुट्टाछुट्टै विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।

इनम सापकोटाको अडियो सार्वजनिक हुने विषयमा अनुसन्धान जारी

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको बयान भनिएको अडियो सार्वजनिक भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिसर प्रमुख एसएसपी दिलीप घिमिरेले सापकोटामाथिको अनुसन्धान जारी रहेको बताए। प्रहरीले हालसम्म अनुसन्धानबारे कुनै धारणा सार्वजनिक नगरेको पनि उनले स्पष्ट पारे।

सापकोटाको भनिएको अडियो कसरी बाहिरियो र त्यसमा रहेका सामग्री कसरी सार्वजनिक भए भन्ने विषयसमेत अनुसन्धानको पाटो रहेको घिमिरेले जानकारी दिए। उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूसँग सम्पर्क रहेको भनिएका सापकोटामाथि अनुसन्धान चलिरहेकै बेला अडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। प्रहरीले अडियो बाहिरिएको विषयमा अनुसन्धान भइरहेको बताए पनि त्यसको स्रोत वा सार्वजनिक गर्ने व्यक्तिबारे विवरण खुलाएको छैन।

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतको ऋण र भुक्तानी विवरण प्रस्तुत गर्न आदेश

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले चीनको एक्जिम बैंकबाट लिइएको ऋण, भुक्तानी प्रक्रिया र किस्तागत विवरण पेस गर्न आदेश दिएको छ। तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका प्रतिवादी रहेको मुद्दामा शुक्रबार कात्तिक २० गते सुनुवाइपछि अदालतले थप कागजात झिकाउने आदेश गरेको हो। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो।

अदालतले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋण र त्यसको भुक्तानी प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण माग गरेको छ। भुक्तानी हुन बाँकी रकमको विवरण भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन आदेश दिएको छ। त्यस्तै, विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले भुक्तानीका लागि पेस गरेका बिल–भरपाइ र कम्पनीलाई भुक्तानी भइसकेको रकमको विवरणसमेत अदालतले माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित पूर्वअर्थमन्त्री कार्की, उच्चपदस्थ कर्मचारी र चिनियाँ निर्माण कम्पनीलगायतविरुद्ध मुद्दा दायर गरेको थियो। प्राधिकरण र ठेकेदार कम्पनीबीचको खरिद सम्झौतामा कर, महसुल तथा अन्य शुल्क ठेकेदारले नै तिर्नुपर्ने व्यवस्था भए पनि मिलेमतोमा छुट्टै सम्झौता गरेर कर छुट दिइएको अख्तियारको आरोप छ।

यस मुद्दामा कार्कीसहित तत्कालीन सचिवहरू शंकरप्रसाद अधिकारी र महेश्वर न्यौपाने तथा पूर्वसहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरेलाई प्रतिवादी बनाइएको छ। त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन उपसचिव युगराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको छ। चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड, कम्पनीका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङसमेत मुद्दाका प्रतिवादी छन्। मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतले ऋण, कर र भुक्तानीसँग सम्बन्धित थप विवरण माग गरेको हो।

आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्कीको रिट, कात्तिक ३० गते प्रारम्भिक सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षकबाट विशेष सुरक्षा सल्लाहकारमा खटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले कात्तिक ३० गते प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । कार्कीका कानुनी प्रतिरक्षाकर्ता अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार रिटको पेसी कात्तिक ३० गतेका लागि तोकिएको छ । रिटको मुद्दा नम्बर ०८२-WO-०४९४ रहेको छ ।

कार्कीले आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको माग गर्नुभएको छ । उहाँले नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गर्नुभएको छ । सर्वोच्चमा पेस गरिएका कागजातअनुसार मन्त्रिपरिषद्ले कात्तिक १८ गते प्रधानमन्त्री कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारीमा खटाउने निर्णय गरेको थियो ।

सोही दिन अर्को निर्णयमार्फत कार्कीलाई सल्लाहकारमा खटाएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा डा. मनोज केसीलाई नियुक्त गरिएको थियो । सरकारले कार्कीलाई दिएको पत्रमा प्रधानमन्त्रीलाई मुलुकको सुरक्षा व्यवस्थाबारे आवश्यक सल्लाह, सुझाव र परामर्श दिने जिम्मेवारी उल्लेख छ । उहाँको पारिश्रमिक र सेवाका सर्त भने नेपाल प्रहरीको महानिरीक्षकसरह रहने व्यवस्था गरिएको छ ।

कार्कीले भने निर्णयअघि आफूलाई कुनै जानकारी नदिइएको र परामर्शसमेत नगरिएको जिकिर गर्नुभएको छ । कार्यसम्पादन, आचरण, क्षमता र योग्यतामाथि प्रश्न नउठेको अवस्थामा कानुनी आधारबिना जिम्मेवारीबाट हटाइएको उहाँको दाबी छ । कुनै गल्ती भएको भए पनि आफूलाई स्पष्टीकरणको अवसर नदिइएको उहाँले रिटमा उल्लेख गर्नुभएको छ ।

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली टोली शनिबार टर्की जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन शनिबार टर्की प्रस्थान गर्ने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। टर्कीको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सम्मेलन आयोजना हुँदै छ।

परराष्ट्र मन्त्रालयका अनुसार खनालले नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउनेछन्। सम्मेलनका क्रममा नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमालयसम्बन्धी उच्चस्तरीय कार्यक्रममा समेत उनी सहभागी हुनेछन्। खनालले सम्मेलनका अन्य उच्चस्तरीय कार्यक्रम तथा साइड इभेन्टमा भाग लिनुका साथै समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

नेपाली सरकारी टोलीमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य र कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना अधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ।

सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा लिखुका पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष शुकवीर तामाङ र पालिकाका एमआईएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभिन्न आर्थिक वर्षमा मृत्यु भइसकेका लाभग्राहीको नाम लगतबाट नहटाई भत्ता वितरण गरेको देखाएर ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरिएको आरोप छ। आयोगले दर्जीविरुद्ध नौ लाख ५३ हजार ६०० रुपैयाँ, गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र चौधरीविरुद्ध सात लाख ९४ हजार ४०० रुपैयाँ बिगो मागदाबी गरेको छ। त्यस्तै, वडाध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो मागदाबी गरिएको छ। प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद सजायसमेत माग गरिएको आयोगले जनाएको छ।

कांग्रेसले बाढीपीडितका लागि न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा शुक्रबार केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा गत भदौ १० गतेको आकस्मिक बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, पीडितको पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिइएको थियो। सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार छठलगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गरिनेछ।

त्यसबाट प्राप्त जानकारीका आधारमा पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने थप पहलकदमी तय गरिने उनले बताए। कांग्रेसले विपद् प्रभावित नागरिकको जीवन सहज बनाउन, पुनःस्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ। पार्टीका तर्फबाट आवश्यक सहकार्य, सहयोग र सहजीकरणका कामलाई पनि प्रभावकारी रूपमा अघि बढाउने निर्णय भएको स्नेहीले जानकारी दिए।

नेकपाको मधेश सरकारलाई समर्थन फिर्ता लिने निर्णय, मुख्यमन्त्री यादव थप संकटमा

जनकपुर । नेकपाले नेपाली कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको प्रदेश संसदीय दलको भर्चुअल बैठकले समर्थन फिर्ता लिनुका साथै सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा बुझाउने निर्णय गरेको हो। नेकपाकी प्रदेश सांसद बेंची लुङ्गेलीका अनुसार बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन्। बैठकको निर्णयअनुसार उनीहरूले राजीनामा बुझाउने भएका हुन्। यसअघि नेकपा एमालेले पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। नेकपाले समेत समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार थप संकटमा परेको छ। मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत लिनुपर्ने समय नजिकिँदै गर्दा सत्ता साझेदार दलहरू बाहिरिएपछि यादवलाई सरकार टिकाउन अन्य दलको समर्थन जुटाउनुपर्ने चुनौती थपिएको छ.

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तीव्र, मोदीले मिश्रीमार्फत पठाए शुभकामना सन्देश

काठमाडौँ, कात्तिक २० — प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई सफल र फलदायी बनाउन उच्च प्राथमिकताका साथ तयारी भइरहेको भारत सरकारले जनाएको छ। नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शाहसँग भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश सुनाएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मिश्रीले भ्रमणलाई अर्थपूर्ण बनाउन भारत सरकारका तर्फबाट आवश्यक गृहकार्य भइरहेको जानकारी दिए।

भेटमा प्रधानमन्त्री शाहले भदौ १० को भोटेकोशी–त्रिशूली हिमबाढीपछि भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे। विपद्का बेला भारतले राहत सामग्री र उद्धार टोली पठाएको तथा प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत ऐक्यबद्धता जनाएको उनले स्मरण गरे। विदेश सचिव मिश्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी प्रधानमन्त्री शाहलाई दिएका छन्। उक्त मार्गमा बिहीबार परीक्षण सञ्चालनसमेत भएको जानकारी उनले गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीसँगै दुई देशका साझा चासो, भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजना, लगानी र द्विपक्षीय सहकार्यको प्रगतिबारे जानकारी लिएका थिए। मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी द्विपक्षीय संयन्त्रका नियमित बैठक सम्पन्न भएको बताए। भेटमा आगामी भ्रमणका क्रममा अघि बढाउन सकिने सम्भावित योजना तथा सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ।

काठमाडौँस्थित भारतीय दूतावासका अनुसार भेटवार्तामा द्विपक्षीय पहलहरूको कार्यान्वयन र प्रधानमन्त्री शाहको आगामी भ्रमणका सन्दर्भमा विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने सम्भावनाबारे कुराकानी भएको थियो। प्रधानमन्त्री शाह मङ्सिर दोस्रो साता औपचारिक भ्रमणमा भारत जाने तयारीमा छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार भ्रमणको औपचारिक मिति छिट्टै घोषणा हुनेछ। मोदीको निमन्त्रणामा हुन लागेको यो नयाँ सरकार गठनपछिको प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमण हुनेछ। यसअघि उनी संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका गएका थिए। यसैबीच, विदेश सचिव मिश्रीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट गरेका छन्। लामिछानेको सचिवालयका अनुसार भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे छलफल भएको थियो। मिश्रीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलगायतसँग भेट गरेका थिए। उनी बिहीबारै स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उपत्यकामा तीन महिनामा १ हजार १६२ फरार कसुरदार पक्राउ, झन्डै १६ करोड जरिवाना असुल

काठमाडौँ — काठमाडौँ उपत्यकामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत तीन महिनामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक हजार १६२ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूबाट ३०२ वर्ष चार महिना १८ दिन कैद सजाय कार्यान्वयन गर्नुका साथै १५ करोड ७८ लाख ९८ हजार ७०७ रुपैयाँ जरिवाना असुल गरिएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोजसम्म अपराध नियन्त्रण, शान्ति सुरक्षा र अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकता दिएर प्रहरी परिचालन गरिएको बताए। सोही अवधिमा विभिन्न कारागार तथा हिरासतबाट फरार भएका थप ६७ जना पनि पक्राउ परेका छन्।

उपत्यकामा प्रहरीको उपस्थिति बढाउन तीन महिनामा २३ हजार २४३ पटक मोबाइल गस्ती, २० हजार ८८७ पटक पैदल गस्ती र ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती गरिएको छ। नियमित तथा आकस्मिक चेकजाँच भने छ हजार १७ पटक गरिएको प्रहरीले जनाएको छ। लागुऔषध कारोबार नियन्त्रणका क्रममा प्रहरीले तीन महिनामा ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट ७२ किलो ८६ ग्राम २२८ मिलिग्राम गाँजा, १३ किलो ३९८ ग्राम पोलेन र ७६७ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। ट्रमाडोललगायतका दुई लाख ९५ हजार ६७६ एम्पुल तथा चक्कीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

आर्थिक अपराधतर्फ हुण्डी कारोबारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी चार वटा मुद्दा दर्ता गरिएको छ। ती मुद्दामा एक करोड ६० लाख ८४ हजार १८० रुपैयाँ बिगो मागदाबी गरिएको थपलियाले जानकारी दिए। भन्सार छली तथा अवैध सुनचाँदी कारोबारमा संलग्न भएको आरोपमा २७ जना पक्राउ परेका छन्। उक्त कारबाहीका क्रममा २३ किलो ८८८ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ। जुवातास नियन्त्रणतर्फ १४ वटा मुद्दा दर्ता गरी ११९ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट ४१ लाख ४३ हजार ५७५ रुपैयाँ बरामद भएको छ।

जनमतलाई दम्भ र प्रतिशोधको माध्यम बनाउने छुट छैन : रवि लामिछाने

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनबाट प्राप्त शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम बनाउन नहुने बताएका छन्। शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले सरकारको नेतृत्व गरिरहेको दलका नेता तथा कार्यकर्ताले सत्ता र शक्तिको उन्मादमा नभई जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए।

पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार र कार्यशैलीलाई समाजले नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले सार्वजनिक रूपमा औँल्याइएका कमजोरी स्वीकारेर सुधार गर्नुपर्ने बताए। कमजोरी सच्याउँदै अघि बढ्नु नै राजनीतिक परिपक्वता भएको उनको भनाइ थियो। “सत्तामा छौं, ठूला पार्टीको नेता कार्यकर्ता हौं भनेर ठालू पल्टिने छुट कसैलाई छैन, त्यो हाम्रो राजनीतिक चरित्र पनि होइन,” लामिछानेले भने।

विगतमा रास्वपामा आबद्ध भएकै कारण आफ्ना नेता तथा कार्यकर्ताले राजनीतिक प्रताडना भोग्नुपरेको दाबी गर्दै उनले त्यसको बदलामा अहिले प्रशासन र प्रहरीमाथि राजनीतिक दबाब दिने काम स्वीकार्य नहुने बताए। विगतका सरकारबाट अपमान र प्रतिशोध भोगेको भन्दै उस्तै व्यवहार दोहोर्‍याउन नहुने उनको भनाइ थियो। त्यस्ता गतिविधिले पार्टीलाई दीर्घकालीन रूपमा अघि बढाउन नसक्ने उनले उल्लेख गरे।

जनताले दिएको अभिमत नागरिककै अपमान हुने गरी दुरुपयोग हुन नदिने प्रतिबद्धता पनि लामिछानेले व्यक्त गरे। उनले पार्टी र सरकारबीचको सम्बन्धमा दरार सिर्जना गर्न विभिन्न पक्ष सक्रिय रहेको दाबी गर्दै हल्ला र अफवाहमा विश्वास नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम अंकतालिकाकाे दोस्रो स्थानमा

काठमाडाैं । कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जित निकालेसँगै सुदूरपश्चिम छैटौँ स्थानबाट दोस्रोमा पुगेको हो। पाँच खेलमा तीन जित र दुई हारसहित उसको ६ अंक भएको छ। चार खेलमा समान दुई जित र हार बेहोरेको कर्णाली भने ४ अंकसहित पाँचौँ स्थानमा झरेको छ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि डेविड मिलरले आक्रामक ब्याटिङ गर्दै अविजित ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५४ बलमा पाँच चौका र सात छक्का प्रहार गरे। दीपक डुम्रेले १८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। ओपनर सैफ जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ७.३ ओभरमा ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए। विनोद २२ बलमा दुई चौका र दुई छक्कासहित २७ रन बनाएर रनआउट भए। सैफले २४ बलमा चार चौका र एक छक्काको मद्दतमा ३५ रन जोडे।

प्रतियोगिताअन्तर्गत आज साँझ ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुनेछ।

ग्लोबल आइएमई बैंकले उत्तरढोकामा तीन अर्बको केन्द्रीय कार्यालय निर्माण गर्दै

काठमाडाैं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा करिब तीन अर्ब रुपैयाँ लागतमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ। धनतेरसको अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भवनको शिलान्यास गरेका छन्। करिब एक लाख ४५ हजार वर्गफिट कुल निर्मित क्षेत्रफल रहने भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ।

अध्यक्ष ढकालका अनुसार भवनको संरचना निर्माणदेखि आन्तरिक सजावटसम्मको अनुमानित लागत तीन अर्ब रुपैयाँ छ। उनले नयाँ कार्यालय आधुनिक र सुविधासम्पन्न हुने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाल विभिन्न स्थानबाट सञ्चालन भइरहेका केन्द्रीय विभागलाई एउटै भवनमा ल्याउने उद्देश्यले निर्माण अघि बढाइएको जानकारी दिए। नयाँ भवनबाट विभागीय समन्वय र कार्यसम्पादन थप प्रभावकारी हुने बैंकको अपेक्षा छ।

भोटेकोशी–त्रिशूली विपद् समितिले तिहारपछि प्रतिवेदन निर्माणमा तीव्रता दिने

काठमाडाैं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले तिहारपछि प्रतिवेदन निर्माणमा केन्द्रित छलफल अघि बढाउने भएको छ। शुक्रबारको बैठकमा सभापति गणेश पराजुलीले सदस्यहरूको जिम्मेवारी बाँडफाँट र विज्ञहरूको रोस्टर तयार भइसकेको जानकारी दिए। तिहारलगत्तै विज्ञहरूसँग समन्वय गरेर विषयगत छलफललाई तीव्रता दिइने उनले बताए। स्थलगत अनुगमनमा देखिएका तत्काल सम्बोधन गर्नुपर्ने विषय सम्बन्धित सरकारी निकायलाई जानकारी गराइसकिएको र प्रतिबद्धतासमेत प्राप्त भएको पराजुलीको भनाइ छ। उनले प्रतिवेदनमा मानवीय अवस्था, स्थानीय संस्कृति, भौगोलिक विशेषता र वैज्ञानिक विश्लेषण समेट्नुपर्ने बताए। सिफारिस कार्यान्वयनयोग्य बनाउन सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय आवश्यक रहेकोमा उनले जोड दिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको पुनर्निर्माणमा ४.७ देखि पाँच अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान प्रस्तुत गरेका छन्। बैठकमा उनले विपद्बाट २.७ देखि २.८ अर्ब डलर बराबरको क्षति भएको विवरण प्रस्तुत गरे। क्षतिग्रस्त संरचनालाई थप सुरक्षित र विपद् प्रतिरोधी बनाउने गरी पुनर्निर्माण गर्दा लागत बढ्ने उनले बताए। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब रुपैयाँ संकलन भएको जानकारी दिँदै वाग्लेले उक्त रकम आवश्यकता र कार्यविधिका आधारमा खर्च गरिने स्पष्ट पारे। चालु आर्थिक वर्षमा पूरक बजेट ल्याउनुभन्दा विनियोजित बजेटको प्राथमिकता फेरबदल गरेर पुनर्निर्माण अघि बढाउने सरकारको तयारी छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको उच्च जोखिम भएका क्षेत्रमा पर्याप्त प्राविधिक अध्ययनबिना बेलिब्रिज निर्माण गर्दा थप क्षति हुन सक्ने बताएका छन्। बैठकमा उनले बेलिब्रिजका लागि बलियो जग, सुरक्षित स्थान र बाढीको जोखिम मूल्यांकन आवश्यक रहेको बताए। रसुवागढी क्षेत्रको उदाहरण दिँदै जैसीले अस्थायी पुल निर्माणमा ठूलो खर्च र समय लाग्ने तथा कतिपय अवस्थामा वर्षायामअघि नै हटाउनुपर्ने बाध्यता रहने उल्लेख गरे। उनले आपत्कालीन अवस्थामा बजेटको अभावबीच पनि सडक र पुल पुनःस्थापनाको काम भइरहेको जानकारी दिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानीसम्बन्धी कोषबाट नेपाललाई दुई करोड अमेरिकी डलर अनुदान दिने निर्णय भएको बताएका छन्। बैठकमा उनले विपद्पछि नेपालले गरेको आग्रहका आधारमा कोषबाट सहयोग स्वीकृत भएको जानकारी दिए। यसलाई उनले जलवायु न्यायको सवाल अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उपलब्धिका रूपमा व्याख्या गरे। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित परिवारका लागि घोषित १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा सहायता तिहारलगत्तै वितरण गर्ने तयारी गरेको छ।

सर्वोच्च अदालतलाई अनुसन्धान र संस्थागत ज्ञानको केन्द्र बनाउने बागचन्दको प्रस्ताव

काठमाडाैं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले अदालतलाई अनुसन्धान, विश्लेषण र संस्थागत ज्ञानको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै उनले जिल्ला र उच्च अदालतका अनुभवलाई एकीकृत गरी सर्वोच्चलाई केन्द्रीय न्यायिक ज्ञानको केन्द्र बनाउने अवधारणा अघि सारे।

बागचन्दले आफ्नो विद्यावारिधि अनुसन्धानमा आधारित फैसला कार्यान्वयनको पाँचौँ मोडेलबारे पनि जानकारी दिए। न्यायपालिकाको अधिकार सुरक्षित राख्दै कार्यपालिकाको प्रशासनिक क्षमता र स्रोत परिचालनसँग समन्वय गर्ने उक्त अवधारणा भविष्यको नीतिगत आधार बन्न सक्ने उनको भनाइ छ।

उनीले साइबर अपराध, डिजिटल प्रमाणको सुरक्षा र कृत्रिम बुद्धिमत्ताको प्रयोगमा गोपनीयता, विश्वसनीयता तथा मानवीय निगरानी सुनिश्चित गर्नुपर्ने बताए। न्यायिक निर्णयको अन्तिम जिम्मेवारी न्यायाधीशमै रहनेमा उनले जोड दिए।

न्यायिक संग्रहालय स्थापना, अभिलेख संरक्षण र मुद्दाको पूर्वतयारी व्यवस्थित गर्दै निष्पक्ष, कारणयुक्त र समयमै न्याय सम्पादन गर्ने आफ्नो प्राथमिकता रहेको बागचन्दले बताए।