काठमाडाैं
। डेविड मलानको उत्कृष्ट अर्धशतक र कमल ऐरीको प्रभावशाली बलिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो।
चितवनले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। जितका लागि अन्तिमसम्म प्रतिस्पर्धामा रहेको विराटनगरले सबै विकेट गुमाएपछि चितवनले लक्ष्य जोगाउँदै सुखद सुरुवात गर्यो।
विराटनगरका लागि ओपनर इमरान शेखले सर्वाधिक ३९ रन बनाए। अर्का ओपनर लोकेश बमले २६ रनको योगदान दिए भने आन्द्रे रसेलले ३३ रन जोडे। यी तीन ब्याटरको योगदानले विराटनगरलाई लक्ष्यनजिक पुर्याए पनि जित दिलाउन पर्याप्त भएन।
अनुभवी ब्याटर एंगेलो म्याथुसले १४ र बसिर अहमदले १३ रन थपे। तर रुपेश सिंह, प्रतिश जीसी र कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन्। तीन ब्याटर शून्यमै आउट हुनु विराटनगरका लागि महँगो साबित भयो।
चितवनको जितमा कमल ऐरीको बलिङ निर्णायक बन्यो। उनले आफ्नो स्पेलमा २६ रन खर्चेर सर्वाधिक चार विकेट लिए। विराटनगरका ब्याटरलाई दबाबमा राख्दै उनले चितवनको योगफल रक्षा गर्ने अभियानमा महत्त्वपूर्ण भूमिका खेले।
कमललाई रिजन ढकालले दुई विकेट लिएर साथ दिए। रन्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट लिए। चितवनका बलरहरूको सामूहिक प्रदर्शनका कारण विराटनगरले पूरा २० ओभर खेल्नसमेत पाएन।
यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनको इनिङ्समा ओपनर डेविड मलान मुख्य आधार बने।
मलानले ५० बलमा पाँच चौका र पाँच छक्काको मद्दतमा ७० रन बनाए। उनले चौका र छक्काबाट मात्रै ५० रन बटुले। विराटनगरका बलरविरुद्ध आक्रामक ब्याटिङ गरेका मलान अन्ततः आन्द्रे रसेलको बलमा बोल्ड भए।
अर्का ओपनर देव खनालले भने १५ बलमा १२ रन बनाए। अर्जुन साउद तीन रनमै क्याच आउट भए। मलानबाहेक शीर्षक्रमका अन्य ब्याटरले ठूलो व्यक्तिगत स्कोर बनाउन नसके पनि कप्तान रवि बोपारा र डान मुस्लेले अविजित रहँदै टोलीको योगफल अघि बढाए।
बोपाराले २६ बलमा एक चौका र दुई छक्कासहित अविजित ३२ रन बनाए। मुस्लेले अविजित २९ रनको योगदान दिए। उनीहरूको योगदानसँगै चितवनले विराटनगरसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।
विराटनगरका लागि एंगेलो म्याथुस, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए। तर ब्याटिङमा आवश्यक रन जुटाउन नसक्दा विराटनगरले पहिलो खेलमै हार बेहोर्नुपर्यो।
चितवनका लागि यो जितमा ब्याटिङतर्फ मलान र बलिङतर्फ कमल नायक बने। मलानले तयार पारेको आधारलाई कमलसहितका बलरले सफलतापूर्वक जोगाउँदा चितवनले रोमाञ्चक जित आफ्नो पक्षमा पार्यो।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।