Skip to main content

सिद्धार्थ बैंकद्वारा १८औँ काठमाडौं म्याराथन–२०२६ को तयारी तीव्र बन्यो

काठमाडौं । सिद्धार्थ बैंकले १८औँ काठमाडौं म्याराथन–२०२६ को तयारी तीव्र बनाएको छ। आगामी १० अक्टोबरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने यस म्याराथनमा विभिन्न पाँच विधामा करिब ७ हजार सहभागीले नाम दर्ता गरिसकेका छन्। आयोजकका अनुसार म्याराथनमा फुल म्याराथन (४२.१९५ किलोमिटर), हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरका दौडहरू समावेश छन्। सबै दौड दशरथ रंगशालाबाहिरबाट सुरु भई रंगशालाभित्रै समाप्त हुनेछन्।
फुल म्याराथनको मार्गले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न प्रमुख क्षेत्रहरू समेट्नेछ। सातदोबाटो, ग्वार्को, कोटेश्वर, कौशलटार, थिमी, सूर्यविनायक, भक्तपुर, पेप्सिकोल, गौशाला, पशुपतिनाथ, चाबहिल, महाराजगंज, पानीपोखरी र किंग्सवे हुँदै धावकहरू रंगशाला फर्कनेछन्। हाफ म्याराथनले थापाथली, कुपण्डोल, पुल्चोक, मंगलबазар, ग्वार्को, कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, महाराजगंज र किंग्सवे क्षेत्रहरू समेट्नेछ। १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरका रुटले पनि काठमाडौंका विभिन्न प्रमुख स्थानहरू समेट्ने भएको आयोजकले जनाएका छन्।
दौड मार्गमा पानी र स्पन्ज पानी स्टेशन, मेडिकल तथा फिजियोथेरापी सेवा र स्वयंसेवक परिचालनको व्यवस्था गरिनेछ। सहभागीहरूलाई रेस बिब र टी–सर्ट ८ र ९ अक्टोबरमा सातदोबाटोस्थित पौडी पोखरी परिसरबाट वितरण गरिनेछ। म्याराथनमा सहभागी हुने अन्तिम दर्ता मिति ३० सेप्टेम्बर २०२६ रहेको आयोजकले जनाएको छ। दौडको क्रममा ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि ट्राफिक प्रहरी लगायत सम्बन्धित निकायहरूसँग समन्वय गरिँदैछ। म्याराथनसम्बन्धी विस्तृत जानकारी दिन १ अक्टोबरमा पत्रकार सम्मेलन आयोजन गरिनेछ। सिद्धार्थ बैंक मुख्य प्रायोजक रहेको प्रतियोगितामा क्याथे प्यासिफिक, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नेपाल टेलिकम लगायतका विभिन्न संस्था साझेदार तथा सहयोगीका रूपमा रहेका छन्। यस म्याराथनको प्रत्यक्ष प्रशारण स्पेस फोरके टेलिभिजनमार्फत हुनेछ। आयोजकले यस म्याराथनमार्फत स्वस्थ जीवनशैली प्रवद्र्धन गर्दै काठमाडौंलाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताएका छन्।