काठमाडौं । आगामी डिसेम्बर ९ र १० गते काठमाडौंमा आयोजना हुने नेपाल पूर्वाधार सम्मेलन–२०२६ मा १७ अर्ब अमेरिकी डलर बराबरका पूर्वाधार परियोजना लगानीका लागि प्रस्तुत गरिने भएको छ । सरकारले सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कानुनी तथा नीतिगत सुधार पूरा गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ । पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को संयुक्त आयोजनामा सोल्टी होटलमा सम्मेलन हुन लागेको हो । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सम्मेलनको तयारी, परियोजना प्रस्तुति र लगानी विस्तारका योजनाबारे जानकारी दिएका हुन् ।
कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा ऐन संशोधनको मस्यौदा तयार भइसकेको बताए । ती मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको र सम्बन्धित मन्त्रालय हुँदै कानुन मन्त्रालयमार्फत संशोधन प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । ऐन संशोधनसँगै आवश्यक नियमावली, कार्यविधि, मापदण्ड र निर्देशिका पनि सम्मेलनअघि नै तयार गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो । तिहारलगत्तै कानुन संशोधनको औपचारिक प्रक्रिया अघि बढाएर राजपत्रमा प्रकाशन गर्ने चरणसम्म पुर्याउने तयारी रहेको उनले बताए ।
मन्त्री लम्सालले यसपटकको सम्मेलन विदेशी लगानीकर्तालाई आमन्त्रण गर्ने, ठूला परियोजनाको सूची देखाउने र लगानी प्रतिबद्धता जुटाउनेमा मात्र सीमित नहुने स्पष्ट पारे । सरकारले गरेका सुधारसँगै लगानीको सुरक्षा, श्रमिकको अधिकार र बजारको सुनिश्चितताबारे लगानीकर्तालाई जानकारी गराउनु सम्मेलनको मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे । स्वीकृति प्राप्त परियोजना कसैले रोक्न नसक्ने गरी लगानीको सुरक्षा सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि उनले बताए ।
नेपालमा लगानीकर्ताले ढुक्कसँग लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री लम्सालका अनुसार सार्वजनिक खरिदमा नेपाली उत्पादन, स्वदेशी उद्यमी तथा व्यवसायीलाई प्राथमिकता दिने निर्देशिका जारी भई कार्यान्वयनमा आइसकेको छ । नेपाली उत्पादन उपलब्ध हुँदासम्म सार्वजनिक खरिदमा विदेशी उत्पादन प्रयोग नगर्ने नीति कार्यान्वयनमा अघि बढाइएको उनले बताए । संसद् खुलेपछि सरकारी तथा निजी क्षेत्रबाट निर्माण हुने भौतिक संरचनामा समेत नेपाली उत्पादनलाई प्राथमिकता दिने कानुनी व्यवस्था गर्ने तयारी रहेको उनले जानकारी दिए ।
यसबाट स्वदेशी उद्योग, उद्यमशीलता र अनुसन्धानलाई प्रोत्साहन मिल्ने तथा परियोजना कार्यान्वयनका समस्या समाधानमा सहयोग पुग्ने उनको विश्वास थियो । सरकारले सुशासन र अधिकार विकेन्द्रीकरणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री लम्सालले अर्थ मन्त्रालयमा केन्द्रित आर्थिक तथा परियोजना कार्यान्वयनसम्बन्धी अधिकार सम्बन्धित मन्त्रालय र विभागलाई हस्तान्तरण गरिएको बताए । कानुनी सुधारमा अर्थ मन्त्रालय र कानुन मन्त्रालयको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले कानुनमन्त्रीले एक वर्षभित्र १६८ वटा कानुन परिवर्तन गर्ने लक्ष्य लिएको उल्लेख गरे ।
एकमुष्ट ५९ वटा ऐन संशोधन गर्ने प्रयास सफल भए महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ थियो । सुधारका लागि संसद् र राष्ट्रिय सभाबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाको नेतृत्वसँग समेत कानुनी सुधारबारे सकारात्मक संवाद भइरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न पूर्वाधारमा लगानी बढाउनुका साथै उत्पादन क्षमता विस्तार गर्नुपर्ने बताए । पूर्वाधार विकासलाई सडक र पुल निर्माणमा मात्र सीमित नराखी प्रसारण लाइन, सिँचाइ, औद्योगिक क्षेत्र, गोदाम, डिजिटल सञ्जाल, खानेपानी र व्यवस्थित सहरी विकाससँग जोड्नुपर्नेमा उनले जोड दिए ।
निर्माणसँगै पूर्वाधारको सञ्चालन र मर्मतसम्भारलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष पाण्डेले लगानी आकर्षित गर्न स्पष्ट नीति, समयमै निर्णय र भरपर्दो सार्वजनिक सेवा आवश्यक रहेको बताए । सरकारले नीतिगत स्थिरता र अनुकूल वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले पुँजी, प्रविधि र उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउनुपर्ने उनको भनाइ थियो । विगतका सम्मेलनले नेपालको सम्भावना प्रस्तुत गर्ने, लगानी आह्वान गर्ने र नीतिगत सुधारका विषय उठाउने काम गरे पनि अपेक्षित नतिजाका लागि परियोजना तयारी र कार्यान्वयनबीच समन्वय आवश्यक रहेको पाण्डेले बताए ।
नीतिगत बहस, अध्ययन, परियोजना तयारी र कार्यान्वयनलाई एउटै शृङ्खलामा जोड्नुपर्नेमा उनले जोड दिए । सम्मेलनको तयारीका लागि पूर्वाधार विकासमन्त्रीको नेतृत्वमा निर्देशक समिति र सम्बन्धित सचिवको नेतृत्वमा कार्यसमिति क्रियाशील रहेको आयोजकले जनाएको छ ।