Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

फूल उत्पादन मात्र होइन, बजारको सुनिश्चितता पनि आवश्यक : मन्त्री आले मगर

Advertisement800×200-1

काठमाडौं, १२ कात्तिक । बागमती प्रदेशकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले नेपालको पुष्प व्यवसायलाई दिगो बनाउन उत्पादनसँगै बजारको सुनिश्चितता आवश्यक रहेको बताएकी छन्। बिहीबार राजधानीमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले आधुनिक पुष्प बजार निर्माण, डिजिटल मार्केटिङ र अनलाइन बिक्रीलाई प्रोत्साहन गर्नुपर्ने बताइन्।

उनका अनुसार पुष्प उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विकास गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक छ। नेपालमा उत्पादन हुने फूलको निर्यात सम्भावना पहिचान, खेती प्रविधिको विकास, गुणस्तर मापदण्ड निर्धारण तथा निर्यात प्रक्रियामा व्यवसायीलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिइन्। मन्त्री आले मगरले पुष्प व्यवसायमा महिला तथा युवा उद्यमीलाई प्राथमिकता दिनुपर्ने बताइन्।

उनले नर्सरी व्यवस्थापन, कट फ्लावर उत्पादन, फ्लोरल डिजाइन, डिजिटल मार्केटिङ र ई–कमर्ससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन्। पुष्प व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने, कृषि क्षेत्रका सेवा तथा सुविधामा समेट्ने र पुष्प बालीको बीमा प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। उनले देशभरका पुष्प व्यवसायी, उत्पादन क्षेत्र र बजारसम्बन्धी तथ्यांकलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्नुपर्ने पनि बताइन्।

प्राकृतिक विपद्बाट क्षति बेहोरेका पुष्प व्यवसायीलाई राहत दिने व्यवस्था गर्न संघीय सरकारले आवश्यक नीतिगत प्रबन्ध गर्नुपर्नेमा उनले जोड दिइन्। पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्न तयार रहेको मन्त्री आले मगरले बताइन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर