Skip to main content
Advertisement1200×100-inside-1

लेखक: space4k

भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

काठमाडौं, कात्तिक २० । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा उनले प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेस गरेसँगै दलेलाले नेपालका लागि भारतीय राजदूतका रूपमा औपचारिक कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो।

दलेला कार्यभार सम्हाल्न गत मंगलबार काठमाडौं आइपुगेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। उनले निवर्तमान राजदूत नवीन श्रीवास्तवको स्थानमा जिम्मेवारी सम्हालेका हुन्। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेला नेपाल मामिलामा काम गरिसकेका अनुभवी कूटनीतिज्ञ हुन्।

उनले भारतीय विदेश मन्त्रालयको उत्तरी महाशाखामा सन् २००६ देखि २००७ सम्म निर्देशक तथा सन् २०१६ देखि २०१९ सम्म सहसचिवका रूपमा नेपाल र भुटानसँग सम्बन्धित विषय हेरेका थिए। नेपालका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिव थिए। उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

भारतीय प्रधानमन्त्रीको कार्यालयमा समेत काम गरेका दलेलासँग अमेरिकालगायत विभिन्न मुलुकमा कूटनीतिक जिम्मेवारी सम्हालेको अनुभव छ। नेपालमा रहँदा दलेलाले भारत सरकारको प्रतिनिधित्व गर्दै दुई देशबीचको कूटनीतिक संवाद, द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा समन्वय गर्नेछन्। ओहोदाको प्रमाणपत्र राजदूतलाई आफ्नो देशले आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गरेको पुष्टि गर्ने औपचारिक कूटनीतिक दस्तावेज हो। शुक्रबार नै राष्ट्रपति पौडेलसमक्ष लाओसका गैरआवासीय राजदूत विथाया जायभोङ र पानामाका गैरआवासीय राजदूत अलोन्सो मिगुएलले पनि छुट्टाछुट्टै विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।

इनम सापकोटाको अडियो सार्वजनिक हुने विषयमा अनुसन्धान जारी

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको बयान भनिएको अडियो सार्वजनिक भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिसर प्रमुख एसएसपी दिलीप घिमिरेले सापकोटामाथिको अनुसन्धान जारी रहेको बताए। प्रहरीले हालसम्म अनुसन्धानबारे कुनै धारणा सार्वजनिक नगरेको पनि उनले स्पष्ट पारे।

सापकोटाको भनिएको अडियो कसरी बाहिरियो र त्यसमा रहेका सामग्री कसरी सार्वजनिक भए भन्ने विषयसमेत अनुसन्धानको पाटो रहेको घिमिरेले जानकारी दिए। उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूसँग सम्पर्क रहेको भनिएका सापकोटामाथि अनुसन्धान चलिरहेकै बेला अडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। प्रहरीले अडियो बाहिरिएको विषयमा अनुसन्धान भइरहेको बताए पनि त्यसको स्रोत वा सार्वजनिक गर्ने व्यक्तिबारे विवरण खुलाएको छैन।

यू–१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार कात्तिक २० गते भएको खेलमा नेपालले दिएको १२९ रनको लक्ष्य भारतले १९.१ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गरेको हो । भारतका लागि आर्यभिर सेवाङले ५२ बलमा सात चौका र चार छक्कासहित अविजित ७० रन बनाए । अर्का ओपनर लक्ष्य रैचदनीले ६३ बलमा सात चौकाको मद्दतमा अविजित ५३ रन जोडे ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ४२.३ ओभरमा १२८ रनमा समेटिएको थियो । नेपालका दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे । आशिष लुहारले ४५ बलमा २९ रन र नीरजकुमार यादवले ४८ बलमा २० रन जोडे । अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर तीन विकेट लिए । अर्जुन राजपूतले ५.३ ओभरमा आठ रन दिँदै तीन विकेट हात पारे । शवीर गौडले दुई तथा मनाल चौहान र काव्या परेश पटेलले समान एक विकेट लिए । समूह ‘ए’मा रहेको नेपालले अब कात्तिक २२ गते युनाइटेड अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ ।

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतको ऋण र भुक्तानी विवरण प्रस्तुत गर्न आदेश

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले चीनको एक्जिम बैंकबाट लिइएको ऋण, भुक्तानी प्रक्रिया र किस्तागत विवरण पेस गर्न आदेश दिएको छ। तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका प्रतिवादी रहेको मुद्दामा शुक्रबार कात्तिक २० गते सुनुवाइपछि अदालतले थप कागजात झिकाउने आदेश गरेको हो। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो।

अदालतले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋण र त्यसको भुक्तानी प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण माग गरेको छ। भुक्तानी हुन बाँकी रकमको विवरण भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन आदेश दिएको छ। त्यस्तै, विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले भुक्तानीका लागि पेस गरेका बिल–भरपाइ र कम्पनीलाई भुक्तानी भइसकेको रकमको विवरणसमेत अदालतले माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित पूर्वअर्थमन्त्री कार्की, उच्चपदस्थ कर्मचारी र चिनियाँ निर्माण कम्पनीलगायतविरुद्ध मुद्दा दायर गरेको थियो। प्राधिकरण र ठेकेदार कम्पनीबीचको खरिद सम्झौतामा कर, महसुल तथा अन्य शुल्क ठेकेदारले नै तिर्नुपर्ने व्यवस्था भए पनि मिलेमतोमा छुट्टै सम्झौता गरेर कर छुट दिइएको अख्तियारको आरोप छ।

यस मुद्दामा कार्कीसहित तत्कालीन सचिवहरू शंकरप्रसाद अधिकारी र महेश्वर न्यौपाने तथा पूर्वसहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरेलाई प्रतिवादी बनाइएको छ। त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन उपसचिव युगराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको छ। चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड, कम्पनीका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङसमेत मुद्दाका प्रतिवादी छन्। मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतले ऋण, कर र भुक्तानीसँग सम्बन्धित थप विवरण माग गरेको हो।

आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्कीको रिट, कात्तिक ३० गते प्रारम्भिक सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षकबाट विशेष सुरक्षा सल्लाहकारमा खटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले कात्तिक ३० गते प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । कार्कीका कानुनी प्रतिरक्षाकर्ता अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार रिटको पेसी कात्तिक ३० गतेका लागि तोकिएको छ । रिटको मुद्दा नम्बर ०८२-WO-०४९४ रहेको छ ।

कार्कीले आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको माग गर्नुभएको छ । उहाँले नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गर्नुभएको छ । सर्वोच्चमा पेस गरिएका कागजातअनुसार मन्त्रिपरिषद्ले कात्तिक १८ गते प्रधानमन्त्री कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारीमा खटाउने निर्णय गरेको थियो ।

सोही दिन अर्को निर्णयमार्फत कार्कीलाई सल्लाहकारमा खटाएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा डा. मनोज केसीलाई नियुक्त गरिएको थियो । सरकारले कार्कीलाई दिएको पत्रमा प्रधानमन्त्रीलाई मुलुकको सुरक्षा व्यवस्थाबारे आवश्यक सल्लाह, सुझाव र परामर्श दिने जिम्मेवारी उल्लेख छ । उहाँको पारिश्रमिक र सेवाका सर्त भने नेपाल प्रहरीको महानिरीक्षकसरह रहने व्यवस्था गरिएको छ ।

कार्कीले भने निर्णयअघि आफूलाई कुनै जानकारी नदिइएको र परामर्शसमेत नगरिएको जिकिर गर्नुभएको छ । कार्यसम्पादन, आचरण, क्षमता र योग्यतामाथि प्रश्न नउठेको अवस्थामा कानुनी आधारबिना जिम्मेवारीबाट हटाइएको उहाँको दाबी छ । कुनै गल्ती भएको भए पनि आफूलाई स्पष्टीकरणको अवसर नदिइएको उहाँले रिटमा उल्लेख गर्नुभएको छ ।

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली टोली शनिबार टर्की जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन शनिबार टर्की प्रस्थान गर्ने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। टर्कीको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सम्मेलन आयोजना हुँदै छ।

परराष्ट्र मन्त्रालयका अनुसार खनालले नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउनेछन्। सम्मेलनका क्रममा नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमालयसम्बन्धी उच्चस्तरीय कार्यक्रममा समेत उनी सहभागी हुनेछन्। खनालले सम्मेलनका अन्य उच्चस्तरीय कार्यक्रम तथा साइड इभेन्टमा भाग लिनुका साथै समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

नेपाली सरकारी टोलीमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य र कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना अधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ।

सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा लिखुका पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष शुकवीर तामाङ र पालिकाका एमआईएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभिन्न आर्थिक वर्षमा मृत्यु भइसकेका लाभग्राहीको नाम लगतबाट नहटाई भत्ता वितरण गरेको देखाएर ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरिएको आरोप छ। आयोगले दर्जीविरुद्ध नौ लाख ५३ हजार ६०० रुपैयाँ, गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र चौधरीविरुद्ध सात लाख ९४ हजार ४०० रुपैयाँ बिगो मागदाबी गरेको छ। त्यस्तै, वडाध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो मागदाबी गरिएको छ। प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद सजायसमेत माग गरिएको आयोगले जनाएको छ।

कांग्रेसले बाढीपीडितका लागि न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा शुक्रबार केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा गत भदौ १० गतेको आकस्मिक बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, पीडितको पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिइएको थियो। सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार छठलगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गरिनेछ।

त्यसबाट प्राप्त जानकारीका आधारमा पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने थप पहलकदमी तय गरिने उनले बताए। कांग्रेसले विपद् प्रभावित नागरिकको जीवन सहज बनाउन, पुनःस्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ। पार्टीका तर्फबाट आवश्यक सहकार्य, सहयोग र सहजीकरणका कामलाई पनि प्रभावकारी रूपमा अघि बढाउने निर्णय भएको स्नेहीले जानकारी दिए।

छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय, प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका पेसागत अधिकारको संरक्षणका लागि छठपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको उपलब्ध बैठकले आठबुँदे निर्णय गर्दै आन्दोलनमा जाने निष्कर्ष निकालेको हो। बैठकले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनालाई समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार ठहर गरेको छ। महासंघले घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

सरोकारवालासँग छलफल नगरी एकपक्षीय रूपमा अघि बढाइएको प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरिने महासंघले जनाएको छ। गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गर्ने, पारिश्रमिक नदिने र चाडपर्व खर्चसमेत उपलब्ध नगराउने कार्यलाई महासंघले श्रम अधिकारको गम्भीर उल्लंघन भनेको छ।

लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम कटौती गर्ने विषयमा प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार अघि बढ्न सरकारलाई आग्रह गर्ने निर्णयसमेत भएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) लाई सक्रिय बनाउने महासंघको निर्णय छ। आफ्ना एजेन्डा संसदमा उठाउन सांसदहरूसँग बहस तथा पैरवी गर्ने र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने पनि महासंघले जनाएको छ। बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव रामप्रसाद दाहालले माग सम्बोधन गराउन छठपछि चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

झापाको टोक्ला बगानमा लुकाइएको ५५० किलो गाँजा बरामद

झापा । प्रहरीले मेचीनगर नगरपालिका–८ स्थित टोक्ला बगानको झाडीमा लुकाएर राखिएको ५५० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक जसबहादुर लिम्बुको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा शुक्रबार बिहान उक्त गाँजा बरामद गरेको हो। प्रहरीले जनाएको छ कि गाँजा १५ वटा बोरामा राखेर लुकाइएको अवस्थामा फेला परेको थियो। बरामद गाँजा कसले राखेको हो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिहरूको पनि खोजी भइरहेको छ। पछिल्लो समय पूर्वी सीमावर्ती क्षेत्र हुँदै भारततर्फ गाँजा तस्करी हुने गरेको छ। यसअघि पनि झापा, मोरङ र इलामका सीमा क्षेत्रमा गाँजा तस्करीका घटना सार्वजनिक भएका थिए।

‘सिक्किम आइडल’ले विश्वभरका नेपालीभाषी प्रतिभा जोड्दै बिर्तामोडमा नोभेम्बर ३० मा अडिसन

झापा । भारतको सिक्किममा आयोजना हुँदै आएको गायन प्रतियोगिता ‘सिक्किम आइडल’ले यसपटक अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी सहभागी गराउने भएको छ। ‘सिक्किम आइडल इन्टरनेसनल सिजन–३’ मार्फत नेपालसहित विश्वभरका नेपालीभाषी गायन प्रतिभालाई एउटै मञ्चमा जोड्न लागिएको आयोजकले जनाएको छ। शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी र अडिसन तालिकाबारे जानकारी दिएको हो। नेपालका बिर्तामोड र काठमाडौंमा नोभेम्बर ३० मा प्रत्यक्ष अडिसन हुनेछ।

हाम्रो वार्ता टेलिभिजन प्रस्तुतकर्ता रहेको प्रतियोगिताबारे संरक्षक तथा सिक्किम कला, संस्कृति तथा सम्पदा बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, प्रमुख कार्यक्रम सञ्चालन अधिकृत डा. मनोज राई र कार्यक्रम इन्चार्ज दिवश राईले जानकारी दिएका थिए। संरक्षक राईले विश्वभर छरिएका नेपालीभाषी प्रतिभालाई आफ्नो गायन क्षमता प्रस्तुत गर्ने अवसर दिन प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिइएको बताए। यसका लागि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनका राजनीतिक सचिव ज्याकब खालिङको पहल रहेको आयोजकको भनाइ छ।

डा. राईका अनुसार प्रतियोगितामा १५ वर्ष पूरा भएका इच्छुक व्यक्तिले भाग लिन सक्नेछन्। सहभागिताका लागि उमेरको माथिल्लो सीमा तोकिएको छैन। बिर्तामोड, काठमाडौं र देहरादुनमा नोभेम्बर ३० मा अडिसन हुनेछ। गुवाहाटी, सिलिगुडी, दार्जिलिङ र कालिम्पोङमा डिसेम्बर ३ तथा सिक्किमका विभिन्न स्थानमा डिसेम्बर ६ देखि ८ सम्म अडिसन सञ्चालन गरिनेछ। प्रत्यक्ष अडिसनमा उपस्थित हुन नसक्नेले भिडियोमार्फत पनि आवेदन दिन सक्नेछन्। आयोजकका अनुसार नोभेम्बर २५ सम्म बढीमा दुई मिनेटको गायन भिडियो ह्वाट्सएप नम्बर +९१ ६२९६५२९८१३ वा +९१ ९४७५३७१००२ मा पठाउन सकिनेछ।

भिडियोमा ब्याकिङ ट्र्याक प्रयोग गर्न पाइने छैन। तर, एउटा वाद्ययन्त्रको साथमा गीत प्रस्तुत गर्न सकिने व्यवस्था छ। प्रतियोगिताको विजेताले १० लाख भारतीय रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तीन लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको पहिलो संस्करण जेत्सेन डोना लामा र दोस्रो संस्करण ओजस्वी गुरुङले जितेका थिए। पत्रकार सम्मेलनको सहजीकरण सञ्चारकर्मी सुनिता तामाङले गरेकी थिइन्।

तिहारमा वीरगञ्जको व्यापार सुस्त, विगतको रौनक हराउँदै

वीरगञ्ज । कुनै समय चाडपर्वको आगमनसँगै किनमेल गर्ने ग्राहकको भीडले भरिभराउ हुने वीरगञ्जको बजारमा यस वर्ष तिहारको रौनक देखिएको छैन। औद्योगिक तथा व्यापारिक नगरीका रूपमा परिचित वीरगञ्जमा तिहारजस्तो मुख्य चाडपर्वमा समेत व्यापार व्यवसाय सुस्ताएको छ। मुलुकमा छाएको आर्थिक मन्दी, बढ्दो महँगी र सर्वसाधारणको घट्दो क्रयशक्तिको प्रत्यक्ष असर बजारमा देखिएको छ। तिहारमा विद्युतीय सामग्री, लत्ताकपडा, सजावटका सामान तथा दैनिक उपभोग्य वस्तुको बिक्री बढ्ने अपेक्षा गरिन्छ।

विगतका वर्षमा टेलिभिजन, फ्रिजलगायतका इलेक्ट्रोनिक्स सामग्रीको उल्लेख्य कारोबार हुने वीरगञ्जमा पछिल्ला वर्षदेखि नै व्यापार घट्दै गएको व्यवसायीहरूको अनुभव छ। यस वर्ष त झन् ग्राहकको आगमन र खरिद दुवै घटेको उनीहरूको भनाइ छ। व्यापारमा आएको मन्दीसँगै वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा भौतिक संरचना भत्काइएपछि सडक किनारमा व्यवसाय गर्दै आएका व्यापारी थप प्रभावित भएको वीरगञ्जका व्यवसायी आलोक अग्रवालले बताए। धनतेरस जस्तो चाडपर्वमा लाखौँको सामान विक्री गर्ने गरेकोमा हाल भने ५ लाखको समेत बिक्री हुन नसकेको गुनासो गरे।

यस्तै, मुख्य सडकबाट विस्थापित कतिपय व्यवसायीले गल्लीभित्रका सडकमा महँगो भाडा तिरेर पसल सञ्चालन गर्नुपरेको गुनासो गरेका छन्। एकातिर ग्राहकको अभाव र अर्कोतर्फ बढ्दो घरभाडा तथा सञ्चालन खर्चले व्यवसाय धान्नै कठिन भएको उनीहरूको भनाइ छ। चाडपर्वको समयमा व्यापार बढ्ने र वर्षभरिको कारोबारलाई गति दिने अपेक्षामा रहेका व्यवसायीहरू निराश छन्। सडकमा मानिसहरूको सामान्य चहलपहल देखिए पनि पसलहरूमा ग्राहकको उपस्थिति न्यून छ। वीरगञ्जलाई कुनै समय ‘कुबेरको नगरी’का रूपमा चिनिन्थ्यो। तर पछिल्ला वर्षहरूमा चाडपर्वको समयमा समेत बजारमा उत्साह घट्दै गएको छ भने यहाँको व्यापारिक गतिविधिमा समेत ह्रास आएको छ.

भारत, लाओस र पानामाका राजदूतहरूले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

काठमाडौँ — भारत, लाओस र पानामाका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओसका राजदूत भिथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगेलले प्रमाणपत्र पेस गरेका हुन्। दलेला नेपालका लागि भारतका आवासीय राजदूत हुन्। लाओसका जायाभोङ र पानामाका मिगेल भने गैरआवासीय राजदूत हुन्।
प्रमाणपत्र पेस गर्नुअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा लगिएको थियो। समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो।

नेकपाको मधेश सरकारलाई समर्थन फिर्ता लिने निर्णय, मुख्यमन्त्री यादव थप संकटमा

जनकपुर । नेकपाले नेपाली कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको प्रदेश संसदीय दलको भर्चुअल बैठकले समर्थन फिर्ता लिनुका साथै सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा बुझाउने निर्णय गरेको हो। नेकपाकी प्रदेश सांसद बेंची लुङ्गेलीका अनुसार बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन्। बैठकको निर्णयअनुसार उनीहरूले राजीनामा बुझाउने भएका हुन्। यसअघि नेकपा एमालेले पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। नेकपाले समेत समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार थप संकटमा परेको छ। मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत लिनुपर्ने समय नजिकिँदै गर्दा सत्ता साझेदार दलहरू बाहिरिएपछि यादवलाई सरकार टिकाउन अन्य दलको समर्थन जुटाउनुपर्ने चुनौती थपिएको छ.

गैँडाकोटमा दिगो पर्यटनसम्बन्धी तालिम सम्पन्न, देशको १५८औँ पर्यटन क्लब गठन

गैँडाकोट । विद्यार्थीलाई पर्यटन शिक्षा, नेतृत्व विकास र स्थानीय गन्तव्य प्रवर्द्धनमा सहभागी गराउने उद्देश्यले आयोजित राष्ट्रिय दिगो पर्यटन क्लब (एनएसटीसी) को गण्डकी प्रदेशस्तरीय दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

कात्तिक १९ र २० गते होटल इल्ला कम्फर्टमा भएको कार्यक्रममा १० विद्यालय तथा कलेजका प्रधानाध्यापक, शिक्षक, क्लब संयोजक र विद्यार्थी प्रतिनिधि सहभागी थिए। कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी तथा नगरपालिकाको शिक्षा इकाइका प्रतिनिधिको समेत उपस्थिति थियो।

टीआरटीआई, नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजना (एसटीपी)/यूएनडीपीको साझेदारी तथा जीटीटीपी नेपाल र गैँडाकोट नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा क्लब सञ्चालन, विद्यार्थी नेतृत्व विकास, दिगो पर्यटन, गन्तव्य प्रवर्द्धन र पर्यटन क्षेत्रमा युवाका अवसरबारे तालिम तथा अन्तरक्रिया गरिएको थियो। जीटीटीपी नेपालका निर्देशक एवं टीआरटीआईका अध्यक्ष मदनकुमार बराल र पर्यटन प्रशिक्षक प्रेमकुमार दनुवारले सहजीकरण गरेका थिए।

‘माई टुरिजम जर्नी’ सत्रमा पर्यटन विज्ञ डा. रामजी शर्मा, एनटीएचएमसीका प्रिन्सिपल प्रकाश रेग्मी र होटल इल्ला कम्फर्टका महाप्रबन्धक प्रदीप न्यौपानेले पर्यटन क्षेत्रका अनुभव, अवसर र चुनौतीबारे जानकारी दिएका थिए।

कार्यक्रमकै अवसरमा गैँडाकोट इङ्लिस स्कुलमा देशको १५८औँ राष्ट्रिय दिगो पर्यटन क्लब गठन गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले मौलाकालिका मन्दिर र होटल इल्ला कम्फर्टको स्थलगत अवलोकनसमेत गरेका थिए।

अन्तिम सत्रमा ‘एनएसटीसी गण्डकी रोडम्याप २०२७’ तयार गर्नुका साथै गण्डकी घोषणापत्र जारी गरिएको छ। घोषणापत्रमा क्लबको नियमित सञ्चालन, संस्थागत सहकार्य, विद्यार्थी नेतृत्व विकास र समुदायमा आधारित दिगो पर्यटनलाई प्राथमिकता दिइएको छ।

कार्यक्रम निर्देशक सरोज प्याकुरेलले आगामी दिनमा गण्डकी प्रदेशका अन्य क्लबलाई समेटेर पोखरा वा अर्जुनचौपारी गाउँपालिकामा पनि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए।

एनएसटीसी अभियानले युवालाई पर्यटन, वातावरण तथा सम्पदा संरक्षण र स्थानीय गन्तव्य प्रवर्द्धनमा सहभागी गराउँदै जिम्मेवार पर्यटनका अभियन्ताका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।