Skip to main content
Advertisement1200×100-inside-1

लेखक: space4k

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमी आउने, सबै चलचित्र निःशुल्क हेर्न पाइने

काठमाडौँ : कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी सहभागी हुने भएकी छन्। काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने महोत्सवमा सबै चलचित्र निःशुल्क हेर्न पाइनेछ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा फेस्टिभल निर्देशक आयुशा श्रेष्ठले चलचित्र हेर्न दर्शकले सिट भने आरक्षण गर्नुपर्ने जानकारी दिइन्। महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिनेछ।

आजमी कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवादमा सहभागी हुने कार्यक्रम छ। सोही दिन जापानी निर्देशक ताकायुकी नाकामुराले राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन्।

महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा आयोजना गरिनेछ। कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रमसँगै पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ प्रदर्शन गर्ने तयारी छ।

‘नेपाल पानोरामा सर्ट्स’ अन्तर्गत खुला आह्वानबाट प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको आयोजकले जनाएको छ। छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

काठमाडौँको संस्कृति, परम्परा र सम्पदाको प्रवर्द्धन तथा पुराना कलाकारको योगदानलाई नयाँ पुस्तासँग जोड्नु महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ।

स्वतन्त्रताको चाहनाले राजनीतिमा ल्यायो, अवसर नपाएका कार्यकर्ताको योगदान बिर्सनु हुँदैन : पाण्डे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र विचार व्यक्त गर्न पाउनुपर्छ भन्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन्।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोगेका कठिनाइ नजिकबाट देखेको स्मरण गरे।

आफू १०–११ वर्षको हुँदा रामचन्द्र पौडेललगायतका नेता राति घरमा आउने गरेको उल्लेख गर्दै उनले ती नेता किन दिउँसो खुलेर हिँड्न सक्दैनथे भन्ने जिज्ञासाले राजनीतिक चेतना जगाएको बताए। पछि त्यसको कारण बुझ्दै जाँदा स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिने प्रेरणा मिलेको उनको भनाइ थियो।

पाण्डेले राजनीतिक आन्दोलनमा नेताहरूले गरेका त्याग र सङ्घर्ष नयाँ पुस्ताले बुझ्नुपर्नेमा जोड दिए। पार्टीका लागि जेलनेल भोगेका र निरन्तर योगदान दिएका कतिपय कार्यकर्ता राजकीय पदमा पुग्न नसकेको भन्दै उनीहरूको योगदान बिर्सन नहुने बताए।

पद र अवसर पाएका व्यक्तिलाई मात्र सम्झनेभन्दा अवसर नपाएका कार्यकर्तालाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

टाढिएका मतदातासँग सम्बन्ध जोड्न मंसिरभर संवाद अभियान चलाउने गगनको प्रस्ताव

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न मंसिर महिनाभर देशव्यापी संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा थापाले विगतमा कांग्रेससँग जोडिएका तर पछिल्लो समय मतदान नगरेका नागरिकका घरमै पुगेर गुनासा सुन्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। मतदातालाई दोष दिनुभन्दा उनीहरू पार्टीबाट टाढिनुको कारण खोज्नुपर्नेमा उनले जोड दिए।

१५औँ महाधिवेशनपछि कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको उल्लेख गर्दै उनले विगतका कामको चर्चा मात्र गरेर नपुग्ने बताए। वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धता र व्यवहारसहित जनतामाझ जानुपर्ने उनको भनाइ थियो।

थापाले पार्टीका संरचनामा चार पुस्ताको उचित प्रतिनिधित्व आवश्यक रहेको पनि बताए। आगामी स्थानीय तह निर्वाचनमा महिला, विभिन्न जातजाति, भाषाभाषी र समुदायलाई पर्याप्त अवसर दिनुपर्ने उनले उल्लेख गरे।

स्थानीय तहका उम्मेदवार छनोटमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यको निर्णायक भूमिका रहने उनले बताए। पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै सदस्यले तथा अन्य क्षेत्रका उम्मेदवार सम्बन्धित क्षेत्रकै सदस्यले छान्ने व्यवस्था रहेको उनको भनाइ थियो।

नेताको स्वागतमा तामझाम गर्ने, सवारीसाधनको लामो लस्कर लगाउने र सर्वसाधारणबाट टाढा रहने शैली बदल्न पनि थापाले आग्रह गरे। जनताले सहजै भेट्न र आफ्ना कुरा राख्न सक्ने व्यवहार विकास भएपछि मात्रै पार्टीमा परिवर्तन आएको अनुभूति हुने उनले बताए।

नक्कली भगवान् जन्मिएर हैरान भयो’ भन्दै ओलीको व्यङ्ग्य, योगलाई ईश्वरसँग जोडिएको दाबी

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धार्मिक आस्थाका नाममा फैलिएको अन्धभक्तिप्रति व्यङ्ग्य गर्दै समाजमा ‘नक्कली भगवान्’ बढेको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले दक्षिणतिरबाट आउने जोगीलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिमाथि प्रश्न उठाए। पौराणिक प्रसङ्ग उल्लेख गर्दै उनले देवता जन्मिने क्रम रोकिए पनि नक्कली भगवान् जन्मिन नरोकिएको व्यङ्ग्य गरे।

ओलीले योगको प्रारम्भिक उद्देश्य स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकास गर्नु रहेको दाबी गरे। पछिल्लो समय योगलाई ईश्वरवादसँग जोडेर व्याख्या गरिएको उनको भनाइ थियो।

अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, सत्य बोल्न, शान्तिको बाटोमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताए। यी मान्यता न्यायपूर्ण र मानवीय समाज निर्माणको सोचसँग मेल खाने उनको भनाइ थियो।

कार्यक्रममा ओलीले प्रतिष्ठानलाई नयाँ खोज–अनुसन्धानसँगै रैथाने ज्ञान, सीप र परम्पराको अध्ययनमा ध्यान दिन आग्रह गरे।

स्वदेशी लेखकका तथ्यपूर्ण विचारलाई पनि कम महत्त्व दिने प्रवृत्ति छ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा स्वदेशी लेखक र चिन्तकका विचारभन्दा विदेशी लेखकका सामग्रीलाई बढी महत्त्व दिने प्रवृत्ति रहेको बताएका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले नेपाली लेखकका तथ्यपूर्ण र तर्कसङ्गत विचारले समेत पर्याप्त स्थान नपाएको टिप्पणी गरे। आफ्नै देशका विद्वान्को योगदान पहिचान गर्न नसक्नु चिन्ताजनक भएको उनको भनाइ थियो।

अध्ययन तथा लेखनमा विदेशी लेखकका विचारलाई सन्दर्भ बनाउने तर नेपाली लेखकका रचनालाई कम उद्धृत गर्ने अभ्यास रहेको उनले बताए। स्वदेशी ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको अध्ययन तथा प्रवर्द्धन आवश्यक रहेकोमा उनले जोड दिए।

ओलीले नेपाली लेखक तथा चिन्तकहरूसँग छिट्टै छलफल गर्ने योजना रहेको जानकारीसमेत दिए। स्वदेशी लेखकका रचनालाई अध्ययन र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो।

ऊर्जा मन्त्री श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान

काठमाडाैं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।

एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठ’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग भेटवार्ता गर्नुर्ने उनका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए।

सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने महर्जनले बताए।

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तरराष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन्।

मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ।

नेप्सेमा झिनो सुधार, ५ अर्ब ७९ करोडको शेयर कारोबार

काठमाडौँ : धितोपत्र बजारमा आज नेप्से परिसूचक झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९४ अङ्कले बढेर २ हजार ६३०.७६ बिन्दुमा पुगेको हो।

नेप्से बढे पनि अन्य प्रमुख सूचक भने घटेका छन्। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३० अङ्कले घटेर ४७५.४७ बिन्दुमा सीमित भएको छ। त्यस्तै, फ्लोट सूचक ०.१० अङ्कले घटेर १८२.११ र सेन्सेटिभ फ्लोट सूचक ०.२६ अङ्कले घटेर १६०.६९ बिन्दुमा पुगेको छ।

आज १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ रुपैयाँमा खरिदबिक्री भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये चारको सूचक बढेको छ भने नौको घटेको छ। कम्पनीगत रूपमा १३५ कम्पनीको शेयर मूल्य बढ्दा १३६ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

नेप्सेका अनुसार बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर र दोर्दीखोला जलविद्युत्लगायतका कम्पनीको शेयर मूल्य बढेको छ। युनिलिभर नेपालको शेयर तथा एभरेष्ट बैंक र नबिल बैंकका डिबेञ्चरलगायतको मूल्य भने घटेको छ।

मलानको अर्धशतक र कमलको चार विकेटमा चितवनको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

काठमाडाैं । डेविड मलानको उत्कृष्ट अर्धशतक र कमल ऐरीको प्रभावशाली बलिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो।

चितवनले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। जितका लागि अन्तिमसम्म प्रतिस्पर्धामा रहेको विराटनगरले सबै विकेट गुमाएपछि चितवनले लक्ष्य जोगाउँदै सुखद सुरुवात गर्‍यो।

विराटनगरका लागि ओपनर इमरान शेखले सर्वाधिक ३९ रन बनाए। अर्का ओपनर लोकेश बमले २६ रनको योगदान दिए भने आन्द्रे रसेलले ३३ रन जोडे। यी तीन ब्याटरको योगदानले विराटनगरलाई लक्ष्यनजिक पुर्‍याए पनि जित दिलाउन पर्याप्त भएन।

अनुभवी ब्याटर एंगेलो म्याथुसले १४ र बसिर अहमदले १३ रन थपे। तर रुपेश सिंह, प्रतिश जीसी र कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन्। तीन ब्याटर शून्यमै आउट हुनु विराटनगरका लागि महँगो साबित भयो।

चितवनको जितमा कमल ऐरीको बलिङ निर्णायक बन्यो। उनले आफ्नो स्पेलमा २६ रन खर्चेर सर्वाधिक चार विकेट लिए। विराटनगरका ब्याटरलाई दबाबमा राख्दै उनले चितवनको योगफल रक्षा गर्ने अभियानमा महत्त्वपूर्ण भूमिका खेले।

कमललाई रिजन ढकालले दुई विकेट लिएर साथ दिए। रन्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट लिए। चितवनका बलरहरूको सामूहिक प्रदर्शनका कारण विराटनगरले पूरा २० ओभर खेल्नसमेत पाएन।

यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनको इनिङ्समा ओपनर डेविड मलान मुख्य आधार बने।

मलानले ५० बलमा पाँच चौका र पाँच छक्काको मद्दतमा ७० रन बनाए। उनले चौका र छक्काबाट मात्रै ५० रन बटुले। विराटनगरका बलरविरुद्ध आक्रामक ब्याटिङ गरेका मलान अन्ततः आन्द्रे रसेलको बलमा बोल्ड भए।

अर्का ओपनर देव खनालले भने १५ बलमा १२ रन बनाए। अर्जुन साउद तीन रनमै क्याच आउट भए। मलानबाहेक शीर्षक्रमका अन्य ब्याटरले ठूलो व्यक्तिगत स्कोर बनाउन नसके पनि कप्तान रवि बोपारा र डान मुस्लेले अविजित रहँदै टोलीको योगफल अघि बढाए।

बोपाराले २६ बलमा एक चौका र दुई छक्कासहित अविजित ३२ रन बनाए। मुस्लेले अविजित २९ रनको योगदान दिए। उनीहरूको योगदानसँगै चितवनले विराटनगरसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।

विराटनगरका लागि एंगेलो म्याथुस, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए। तर ब्याटिङमा आवश्यक रन जुटाउन नसक्दा विराटनगरले पहिलो खेलमै हार बेहोर्नुपर्‍यो।

चितवनका लागि यो जितमा ब्याटिङतर्फ मलान र बलिङतर्फ कमल नायक बने। मलानले तयार पारेको आधारलाई कमलसहितका बलरले सफलतापूर्वक जोगाउँदा चितवनले रोमाञ्चक जित आफ्नो पक्षमा पार्‍यो।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।