

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा स्वदेशी लेखक र चिन्तकका विचारभन्दा विदेशी लेखकका सामग्रीलाई बढी महत्त्व दिने प्रवृत्ति रहेको बताएका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले नेपाली लेखकका तथ्यपूर्ण र तर्कसङ्गत विचारले समेत पर्याप्त स्थान नपाएको टिप्पणी गरे। आफ्नै देशका विद्वान्को योगदान पहिचान गर्न नसक्नु चिन्ताजनक भएको उनको भनाइ थियो।
अध्ययन तथा लेखनमा विदेशी लेखकका विचारलाई सन्दर्भ बनाउने तर नेपाली लेखकका रचनालाई कम उद्धृत गर्ने अभ्यास रहेको उनले बताए। स्वदेशी ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको अध्ययन तथा प्रवर्द्धन आवश्यक रहेकोमा उनले जोड दिए।
ओलीले नेपाली लेखक तथा चिन्तकहरूसँग छिट्टै छलफल गर्ने योजना रहेको जानकारीसमेत दिए। स्वदेशी लेखकका रचनालाई अध्ययन र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित खबर











