Skip to main content
Advertisement1200×100-inside-1

लेखक: space4k

दशैँ–तिहारमा पनि व्यापार नहुँदा न्यूरोडका व्यवसायी चिन्तित, ब्याज र घरभाडामा राहत माग

काठमाडौं – वर्षभरिकै कारोबार मिलाउने मुख्य अवसरका रूपमा लिइने दशैँ–तिहारमा समेत यस वर्ष व्यापार नभएपछि न्यूरोडका व्यवसायी चिन्तित बनेका छन्। विगतमा एक–डेढ महिनाको चाडपर्वको व्यापारबाट छ महिनासम्मको आर्थिक व्ययभार धान्दै आएकामा यसपटक बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलब र उधारो कारोबार मिलाउन समस्या पर्ने उनीहरूले बताएका छन्।

व्यवसायीका अनुसार कोरोना महामारीपछि निरन्तर खस्किँदै गएको व्यापारमा सुधार नआउँदा उनीहरू चार–पाँच वर्षदेखि आर्थिक दबाबमा छन्। चाडपर्वको कारोबारले नियमित दायित्व व्यवस्थापन गर्नसमेत नसकिने अवस्था बनेपछि व्यवसाय कसरी निरन्तरता दिने भन्ने चिन्ता बढेको छ।

व्यापारी रविन्द्रकुमार बोहोराका अनुसार दशैँ–तिहारको व्यापार नाफा कमाउनेभन्दा पनि वर्षभरिका आर्थिक व्यवहार मिलाउने आधार हो। टाढाटाढाबाट आउने व्यापारीसँगको कारोबार, बैंकको ब्याज, घरभाडा, तलब र साहुसँगको हिसाब मिलाउने अवसर यसपटक गुमेको उनले बताए। कोरोनापछि बैंकको ब्याजदर १५ देखि २० प्रतिशतसम्म पुगे पनि व्यवसायीले न घरभाडामा सहुलियत पाएका छन्, न ब्याजमा राहत।

“कमाउनेभन्दा पनि आर्थिक व्यवहार मिलाउने कुरा हो यो। धेरैजसो व्यापारीले आफ्नो आर्थिक व्यवहार मिलाउने हो,” बोहोराले भने। व्यवसायीलाई राहत दिन राज्य, बैंक र घरधनीबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ। राज्यले घरधनीलाई सहुलियत दिएर भाडा घटाउने र बैंकले ब्याजमा राहत दिने व्यवस्था गर्न सके सहज हुने उनको बुझाइ छ।

व्यापारी शान्ति उपाध्यायका अनुसार भूकम्प, नाकाबन्दी र आन्दोलनजस्ता घटनाले व्यापार प्रभावित हुँदै आएको छ। पछिल्लो समय भोटेकोशीको घटनाले थप मर्का पारेको उनले बताइन्। व्यापार घटे पनि प्रत्येक दुई वर्षमा घरभाडा २० देखि ४० प्रतिशतसम्म बढ्ने गरेको उनको गुनासो छ। “अब हामीले व्यापार छोडेर हिँड्न पनि सकेका छैनौँ, व्यापार गरेर धानिन पनि सकेका छैनौँ,” उनले भनिन्।

व्यापारी नरेश कटुवालले बैंकमा पर्याप्त पैसा थुप्रिए पनि झन्झटिला प्रक्रियाका कारण व्यवसायीले सहज रूपमा कर्जा पाउन नसकेको बताए। ब्याजदर घटे पनि व्यवसाय विस्तार तथा सञ्चालनका लागि आवश्यक कर्जा उपयोग गर्न कठिन भएको उनको भनाइ छ। नीतिगत प्रक्रिया सहज बनाउन नेपाल राष्ट्र बैंक र सरकारले पहल गर्नुपर्ने उनले बताए।

कटुवालले घरभाडा निर्धारणमा प्रतिवर्गफिटका आधारमा वैज्ञानिक प्रणाली लागू गर्नुपर्ने र घरधनी–व्यवसायीबीचको सम्बन्ध व्यवस्थित गर्न कानुनी व्यवस्था आवश्यक रहेको जनाए। अहिले ३५ दिने सूचनामा सटरबाट हटाउन सकिने व्यवस्थाले करोडौँ लगानी गरेका व्यवसायीलाई असुरक्षा बढाएको भन्दै उनले कम्तीमा दुईदेखि तीन वर्षको घरबहाल करार र हटाउनुपरे अग्रिम सूचना दिनुपर्ने व्यवस्थाको माग गरे।

व्यवसायीले घट्दो व्यापारसँगै बढ्दो घरभाडा, बैंकको ब्याज, कर्जा प्रक्रियाका झन्झट र लगानीको असुरक्षाले न्यूरोडको व्यापार थप चुनौतीपूर्ण बनेको बताएका छन्। व्यवसाय टिकाउन सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र घरधनीबीच समन्वय गरी राहत, सहुलियत र कानुनी सुधारका उपाय अघि बढाउनुपर्ने उनीहरूको माग छ।

इजरायल चुनाव: एक्जिट पोलमा कसैलाई बहुमत नदेखिएको, नेतान्याहूको गठबन्धन ५६ र विपक्षी ४८ सिटमा

काठमाडौं – इजरायलको संसद्का लागि भएको चुनावको एक्जिट पोल सार्वजनिक भएको छ। कुनै पनि दल वा गठबन्धनले नयाँ सरकार गठन गर्न स्पष्ट जनादेश पाउने देखिएको छैन।

‘द टाइम्स अफ इजरायल’का अनुसार ६६ प्रतिशतभन्दा बढी मतगणना भइसक्दा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले ५६ सिट र विपक्षी गठबन्धनले ४८ सिट पाउने देखिएको छ। १२० सदस्यीय संसद्मा बहुमतका लागि ६१ सिट चाहिन्छ। कुनै पनि गठबन्धनमा नरहेका अरब नेतृत्वका दलले १६ सिट (जोइन्ट लिस्ट १२, राम ४) जित्ने अनुमान छ। अन्य दल सहमत भए यी दल सरकार गठनमा निर्णायक बन्न सक्छन्।

नेतान्याहूको गठबन्धनमा लिकुड २८, युनाइटेड टोरा जुडाइज्म ८, शास ७, ओत्ज्मा येहुदित ७ र रिलिजियस जियोनिज्म ६ सिट छन्। विपक्षी गठबन्धनमा याशार २१, बियाखाद ११, इजरायल बेइतेनु ८ र द डेमोक्र्याट्स ८ सिट छन्।

विपक्षी नेता याइर लापिडले प्रधानमन्त्रीको गठबन्धनले ‘लज्जास्पद हार’ बेहोरेको बताए। प्रमुख प्रतिस्पर्धी गादी आइसेनकोटले नेतान्याहूप्रति जनताको ‘विश्वासको कमी’ देखिएको प्रतिक्रिया दिए। विदेशमन्त्री गिडियन सारले भने लिकुड सबैभन्दा ठूलो दल भएको र विपक्षीको खुसी समयअगावै भएको बताए। नेतान्याहू र आइसेनकोट दुवैले अरब नेतृत्वका दलसँग सहकार्य नगर्ने बताएका छन्।

नोभेम्बर ४ मा अन्तिम परिणाम घोषणा भएपछि राष्ट्रपति इसाक हर्जोगले दलका नेतासँग छलफल गरी सरकार गठन गर्ने सबैभन्दा बढी सम्भावना भएको उम्मेदवारलाई जिम्मेवारी दिनेछन्। उम्मेदवारले सुरुमा २८ दिन र थप १४ दिन गरी अधिकतम ४२ दिन पाउन सक्छन्। पहिलो उम्मेदवार असफल भए अर्कोलाई २८ दिन दिइन्छ, त्यसपछि तेस्रो उम्मेदवारले १४ दिन पाउँछन्। त्यसपछि पनि सहमति नजुटे संसद् विघटन भई ९० दिनभित्र पुनः चुनाव हुनेछ। त्यतिन्जेल नेतान्याहू कामचलाउ प्रधानमन्त्री रहन सक्छन्।

सन् २०१९ अप्रिलदेखि २०२० मार्चसम्म इजरायलमा तीन पटक चुनाव भएको थियो। त्यसपछि नेतान्याहू र बेनी गान्ट्जबीच सत्ता साझेदारी भए पनि बजेट पारित हुन नसकेपछि सरकार एक वर्षमै ढलेको थियो।

मध्यावधि निर्वाचनअघि ट्रम्प–एपस्टिन प्रतिवेदन सार्वजनिक, पूर्व मोडल कुलको गम्भीर आरोप

काठमाडौं – अमेरिकी प्रतिनिधि सभाको हाउस जुडिसियरी कमिटीका डेमोक्र्याट सदस्यहरूले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्ड प्रतिस्पर्धी बीट्रिस कुलले बलात्कारको आरोप लगाएको दाबी गरिएको छ। ट्रम्प र जेफ्री एपस्टिनबीचको सम्बन्धबारे गरिएको अनुसन्धानको उक्त प्रतिवेदन मध्यावधि निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक भएको हो।

प्रतिवेदनअनुसार कुलले समितिसमक्ष सन् १९९३ मा न्युयोर्कको प्लाजा होटेलमा आफूमाथि घटना भएको बयान दिएकी छन्। उनका अनुसार २४ वर्षको उमेरमा ‘अमेरिकन ड्रिम पेजेन्ट’मा सहभागी हुन जुरिखबाट न्युयोर्क पुग्दा दिवाभोजमा ट्रम्पसँग भेट भएको थियो। ट्रम्पले भिसा मिलाइदिने र न्युयोर्क युनिभर्सिटीमा भर्ना गराइदिने आश्वासन दिएका थिए। पछि ट्रम्पका प्रतिनिधिले उनलाई कोठामा बोलाएपछि ट्रम्पले जबरजस्ती करणी गरेको र आफ्नो पोसाक च्यातिई चोटपटक लागेको उनको भनाइ प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा कुलका साथै अन्य चार महिलाले ट्रम्पमाथि लगाएका यौन हिंसा र दुर्व्यवहारका पुराना तथा नयाँ आरोप समावेश छन्। सन् २०२३ मा सिभिल जुरीले पूर्व पत्रकार ई जीन क्यारोलको मामिलामा ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो।

ह्वाइट हाउस र ट्रम्पको प्रचार टोलीले सम्पूर्ण आरोप आधारहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै खण्डन गरेका छन्। ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले आरोपमा कुनै सत्यता नरहेको र एपस्टिनसँग जोडिएका कुनै पनि मामिलामा राष्ट्रपतिलाई सफाइ दिइसकिएको बताएकी छन्। प्रेस सचिव क्यारोलिन लिभिटले पनि कुलको आरोपलाई निरर्थक भनेकी थिइन्।

एमालेका मनोनीत केन्द्रीय सदस्य इस्तियाक राई, डा. केसी र कडरियाले लिए शपथ

काठमाडौं – नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यले शपथ लिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालयमा उनीहरूलाई शपथ गराएका हुन्।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार शपथ ग्रहण गर्न बाँकी रहेकाहरूलाई ओलीले शपथ खुवाएका हुन्। शपथ लिनेमा मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी र इन्दु कडरिया छन्।

मुगुमा डीपीआरको नाममा सरकारी रकम हिनामिना, पूर्वप्रमुख रिमालसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तीनजना र परामर्शदाता एलाइड इन्जिनियरिङ प्रा.लि.विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

३९ लाख ४० हजार ३०९ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरूमा रिमालबाहेक कार्यालयका तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको परामर्शदाता कम्पनी एलाइड इन्जिनियरिङ प्रा.लि. र कम्पनीका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढा छन्। अख्तियारले प्रत्येकसँग ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो मागदाबी गरेको छ।

मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले कमिसन खाई डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले खानेपानी योजनाहरूको डीपीआर निर्माणका लागि परामर्श सेवा खरिद गर्दा प्रचलित खरिद कानुनविपरीत प्याकेजिङ गरेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

अख्तियारका अनुसार उनीहरूले फर्जी कागजात तयार गरी मूल्यांकन प्रतिवेदन बनाएका थिए। त्यसकै आधारमा झुट्टा बिल भरपाई तयार गरी ३९ लाख ४० हजार ३०९ रुपैयाँ सरकारी सम्पत्ति हिनामिना गरिएको आरोप छ।

एनपीएल: पोखरा र सुदूरपश्चिमबीच आज भिडन्त, एक टोली पहिलो जितको खोजीमा, अर्को पहिलो खेलमै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्। कीर्तिपुरस्थित टीयू मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा सुदूरपश्चिम सिजनको पहिलो जितको खोजीमा छ भने पोखरा आफ्नो पहिलो खेलमै जित निकाल्ने प्रयासमा छ।

सुदूरपश्चिम उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। उक्त खेलमा टोली ८७ रनमै सीमित भएको थियो। त्यसैले पोखराविरुद्ध ब्याटिङमा सुधार गर्नु टोलीको प्राथमिकता हुनेछ। प्रशिक्षक मिसबाह उल हकले पहिलो खेलमा ब्याटिङ राम्रो हुन नसकेको र आगामी खेलमा त्यो कमजोरी सुधार्नुपर्ने बताएका थिए। दुईपटकको फाइनलिस्ट सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा टोलीले अपेक्षा राखेको छ।

अघिल्ला दुई संस्करणमा प्लेअफ पुग्न नसकेको पोखरा यसपटक सुरुवातदेखि नै दाबेदारका रूपमा प्रस्तुत हुने प्रयासमा छ। कुशल भुर्तेलको कप्तानीमा रहेको टोलीले यस सिजन विदेशी खेलाडीमा ठूलो भरोसा राखेको छ। बंगलादेशका शाकिब अल हसनसहित केही अनुभवी विदेशी खेलाडी पोखराको टोलीमा छन्।

आमने–सामनेको रेकर्डमा भने सुदूरपश्चिम अघि छ। एनपीएलका अघिल्ला दुई सिजनमा भएका दुवै भेटमा सुदूरपश्चिमले पोखरालाई हराएको थियो। पहिलो सिजन ५ रनले र दोस्रो सिजन १८ रनले जित निकालेको थियो। यसपटक भने पोखरा आफूलाई बलियो टोलीका रूपमा देखाउन सुदूरपश्चिमलाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छ।

राहत साँच्चै पाइयो कि पाइएन? भोटेकोशी विपद्मा सरकारी दाबी स्थलगत रूपमा जाँच्ने समितिको तयारी

काठमाडौं – भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्बाट प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा भएको मानवीय क्षति, बेपत्ता व्यक्ति, कृषिलगायत अन्य क्षेत्रको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध गराउन कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारमा भएको छलफलका क्रममा पौडेलले स्थलगत निरीक्षणमा जानुअघि नै सबै ४९ वटा वडाको क्षति तथा नोक्सानीसम्बन्धी तथ्याङ्क आवश्यक पर्ने बताए। प्रत्येक वडामा कति जनाको मृत्यु भयो, कति बेपत्ता भए र कृषिलगायत विभिन्न क्षेत्रमा कति क्षति पुग्यो भन्ने यथार्थ विवरण सम्बन्धित सरकारी निकायले हस्ताक्षरसहित प्रमाणित गरेर उपलब्ध गराउनुपर्ने उनको जोड थियो।

“विशेष समितिले स्थलगत निरीक्षण गर्नुअघि प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षतिको वास्तविक विवरण उपलब्ध गराइदिनुहुन म अनुरोध गर्दछु,” पौडेलले भने, “कुन वडामा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता भए र कृषिलगायतका क्षेत्रमा कति क्षति भयो भन्ने तथ्याङ्क प्रमाणित गरी हस्ताक्षरसहित उपलब्ध गराइदिनुहुन हाम्रो जोडदार माग छ।”

उनका अनुसार सही र प्रमाणित तथ्याङ्क प्राप्त भएपछि मात्रै समितिले यथार्थपरक प्रतिवेदन तयार गर्न र तथ्यमा आधारित निर्णय तथा सुझाव दिन सक्नेछ।

समितिले स्थलगत निरीक्षणका क्रममा सरकारी प्रतिवेदनमा उल्लेख गरिएको राहत वितरणको विवरण र प्रभावित नागरिकले वास्तवमा प्राप्त गरेको राहतको अवस्था पनि तुलना गर्ने जनाएको छ। सरकारी निकायले राहत उपलब्ध गराएको दाबी गरे पनि सम्बन्धित नागरिकले साँच्चै राहत तथा क्षतिपूर्ति पाए वा पाएनन् भन्ने विषयमा समितिले स्थलगत रूपमा जानकारी लिने पौडेलले बताए।

राष्ट्रिय सभाले गर्ने अध्ययन तथा अनुगमन तथ्याङ्कमा आधारित र प्रभावित नागरिकले भोगेको वास्तविक अवस्था प्रतिबिम्बित गर्ने खालको हुनुपर्ने उनको भनाइ छ। नागरिकले भोगेको यथार्थ उजागर गरी तथ्य र प्रमाणमा आधारित प्रतिवेदन तयार गर्नु समितिको उद्देश्य रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई आवश्यक विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरे। तथ्याङ्क प्राप्त भएपछि मात्रै स्थलगत निरीक्षण अघि बढाइने उनले बताए।

पदमुक्तिको पत्रमा कीर्ते र जालसाजीको आरोप, जसपा सांसद काफ्लेद्वारा सभामुख घर्तीसहित पाँचविरुद्ध मुद्दा दायर

काठमाडौं – जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई सांसद पदबाट हटाउन प्रयोग गरिएको पत्रमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।

काफ्लेले मंगलबार दायर गरेको फिरादपत्रमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ।

काफ्लेको दाबीअनुसार सांसद पदबाट हटाउन प्रयोग गरिएको पत्र पार्टीको आधिकारिक निर्णय र अधिकारप्राप्त पदाधिकारीको अनुमतिबिना तयार पारिएको हो। आफूले पार्टी नछाडेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामासमेत नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएको भन्दै उनले कानुनी कारबाहीको माग गरेकी हुन्।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लङ्घन गरेको आरोप लागेपछि काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसमा प्रदेशसभा सचिवालयले काफ्लेको पद रिक्त भएको सूचना जारी गरेको थियो।

पदमुक्त गर्ने निर्णयविरुद्ध काफ्ले सर्वोच्च अदालत पुगेकी थिइन्। सर्वोच्चले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। आदेशपछि पदमुक्तिको निर्णय कार्यान्वयनमा रोक लागे पनि त्यसका लागि प्रयोग गरिएको पत्रको आधिकारिकताबारे विवाद कायमै छ।

काफ्लेका अनुसार जसपा नेपालको नाम, लेटरहेड, छाप तथा पदाधिकारीको अख्तियार प्रयोग गरी तयार गरिएको पत्र भदौ २२ गते प्रदेशसभा सचिवालयमा दर्ता गराइएको थियो। त्यसैका आधारमा भदौ २४ गते उनलाई पदमुक्त गरिएको सूचना सार्वजनिक भएको थियो। पत्र पार्टीको आधिकारिक निर्णयबाट जारी नभएको र अनधिकृत रूपमा तयार गरी प्रयोग गरिएको उनको दाबी छ।

फिरादपत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ लगायत प्रचलित कानुनअनुसार दोषीमाथि कारबाही गर्न माग गरिएको छ। विवादित पत्रको सक्कल प्रति, दर्ता तथा चलानी किताब, सचिवालयका निर्णय र पार्टीका आधिकारिक पत्राचारको अभिलेख जाँच गर्न पनि उनले माग गरेकी छन्।

साथै विवादित पत्रमा प्रयोग गरिएको लेटरहेड, छाप र हस्ताक्षरको नमुना परीक्षण गरी वास्तविकता पत्ता लगाउन तथा पत्र तयार गर्ने र प्रयोग गर्ने कार्यमा संलग्नको भूमिका छानबिन गर्न उनले माग गरेकी छन्। उनले विवादित लिखतलाई कीर्ते तथा जालसाजीपूर्ण ठहर गरी अमान्य घोषित गर्न र आफूले व्यहोरेको क्षतिको कानुनी उपचार उपलब्ध गराउन पनि अदालतसमक्ष माग गरेकी छन्। मुद्दामा लगाइएका आरोप र दाबीको अन्तिम निरूपण भने न्यायिक प्रक्रियाबाट हुनेछ।

प्रदेशसभामा जसपा नेपालका ५ सदस्य रहेका थिए। चार जना अहिलेको सरकारको पक्षमा रहेपछि बहुमतका आधारमा संसदीय दलले काफ्लेलाई कारबाही गरेको थियो। तर पार्टी केन्द्रले ती चार जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी निर्वाचन आयोगमा पत्राचार गरिसकेको छ। जसपा नेपालबाट प्रदेश सरकारमा दुई जना मन्त्री रहेका छन्।

काठमाडौं उपत्यकामा बस्नेले अब उपत्यकैका जिल्ला प्रशासन कार्यालयबाट लिन सक्ने भए नागरिकताको प्रतिलिपि

काठमाडौं – काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नेपाली नागरिकले अब काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअन्तर्गत बुँदा नम्बर २१ को प्रतिबद्धता तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै नागरिकता आगलागी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कुनै कारणले प्रतिलिपि लिनुपर्ने व्यक्तिका लागि यस्तो व्यवस्था गरिएको जनाएको छ। गृह मन्त्रालयको २०८३/०७/०९ को परिपत्रअनुसार उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकको सेवामा सहजता ल्याउन यो व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा लिन सक्नेछन्। त्यसैगरी ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले, भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।

प्रतिलिपिका लागि सम्बन्धित कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकको नागरिकता प्रमाणपत्रबाहेकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख छ।

तर अभिलेख नभेटिएको, अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकता बाहकले भने साविककै जिल्ला, अर्थात् नागरिकता प्राप्त गरेको जिल्लामा सम्पर्क गर्नुपर्नेछ।

नयाँ व्यवस्थाले उपत्यकामा बस्ने अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला पुग्नुपर्ने बाध्यता हटाई सेवा प्रवाह सहज बनाउने अपेक्षा गरिएको छ।

कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा र हिमपातको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौं – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्ने र हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले विभागले उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ। त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा मात्रै यात्रा योजना बनाउन विभागले सुझाव दिएको छ।

यसैगरी, खुम्बु र मनाङलगायतका हिमाली क्षेत्रमा तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ।

मन्त्री बादी र आईजीपी कार्कीबीच भेटवार्ता: जातीय छुवाछुत नियन्त्रण, महिला तथा बालबालिकाको संरक्षणमा जोड

काठमाडौं, ११ कात्तिक – जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच बढाउने विषयमा छलफल भएको थियो। विशेषगरी जातीय भेदभाव तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान र कानुनी कारबाही, पीडितको संरक्षण तथा उजुरीको शीघ्र सम्बोधनलाई प्राथमिकतामा राखिएको थियो।

छलफलमा जातीय भेदभाव तथा छुवाछुतका घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रक्रिया प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय बनाउने, प्राप्त उजुरीलाई संवेदनशीलतापूर्वक ग्रहण गर्ने तथा अनुसन्धान र अभियोजन प्रक्रियालाई शीघ्र अघि बढाउने विषयमा कुरा भएको थियो। प्रहरी कर्मचारी तथा अधिकारीलाई नियमित ब्रिफिङ र तालिममार्फत जातीय विभेदविरुद्धको कानुनी व्यवस्था, पीडितमैत्री व्यवहार र जवाफदेहिताबारे थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।

महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई थप सक्रिय बनाउँदै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी पीडितमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो। सीमान्तकृत समुदायबाट प्राप्त उजुरी तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै पीडितलाई आवश्यक संरक्षण र कानुनी उपचारमा पहुँच सुनिश्चित गर्नुपर्ने विषय पनि उठेको थियो।

यसैगरी, सीमापार बालबालिकाको ओसारपसार तथा बेचबिखनको जोखिम न्यूनीकरण गर्न सीमा क्षेत्रमा जाँच तथा निगरानी सुदृढ गर्ने, स्थानीय बालकल्याण अधिकारी र स्थानीय तहसँग समन्वय बढाउने तथा सम्बन्धित निकायबीच सहकार्य प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार र सुरक्षासम्बन्धी सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने विषय पनि छलफलमा समेटिएको थियो।

भेटवार्तामा मन्त्रालय र नेपाल प्रहरीबीच समन्वय तथा सहकार्य सुदृढ गर्दै जातीय भेदभाव तथा छुवाछुतविरुद्ध प्रभावकारी कानुनी कारबाही, हिंसापीडितको संरक्षण र महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न थप प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिइएको छ।

सशस्त्र प्रहरी र एसएसबीबीच १० औं द्विपक्षीय समन्वय बैठक सुरु, सीमा सुरक्षा र अपराध नियन्त्रणमा छलफल

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको १० औं द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले बैठक बसेको हो।

तीन दिनसम्म चल्ने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले गरेका छन्। प्रतिनिधिमण्डलमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिको सहभागिता छ। भारतीय पक्षबाट एसएसबीका महानिर्देशक संजय सिंघलले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्। उनीसँग गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र एसएसबीका उच्च अधिकारी सहभागी छन्।

बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भएका समन्वयात्मक प्रयासको समीक्षा गरिनेछ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीका अनुसार सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनका आधारमा दशगजा अतिक्रमण हटाउने तथा सीमा स्तम्भको संरक्षण, मर्मत सम्भार र निर्माणबारे छलफल हुनेछ। साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सीमापार प्रभाव पार्न सक्ने महामारी र विपद्को जोखिम न्यूनीकरणका लागि नियमित समन्वय बैठक र तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषय पनि एजेन्डामा छन्।

सीमावर्ती क्षेत्रका नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन र दुवै बलबीच आपसी सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुद लगायतका गतिविधि सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ।

बैठकमा दुवै संगठनबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने, नेपाल–भारत खुला सीमाको प्रयोग गरी हुन सक्ने तेस्रो मुलुकका नागरिकको अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने र सीमा व्यवस्थापनलाई चुस्त तथा आधुनिक बनाउन उपयुक्त प्रविधि प्रयोग गर्ने विषयमा विचारविमर्श हुनेछ। यसैगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्य प्रभावकारी बनाउने, सीमा नाकामा यात्रुको सहजताका लागि थप सहायता कक्ष स्थापना गर्ने तथा समस्या र चुनौती समयमै पहिचान र समाधान गर्न नियमित सम्पर्क, आपसी विश्वास र सूचनाको प्रभावकारी आदानप्रदान जारी राख्ने विषयमा पनि छलफल हुनेछ।

बैठकले नेपाल–भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वय र सहकार्य प्रभावकारी बनाउने विश्वास गरिएको छ।

रसुवा–भोटेकोशी विपद्: पुनर्निर्माणमा ४.७५ अर्ब डलरसम्म लाग्ने अनुमान, तत्काल ५७ मिलियन आवश्यक

काठमाडौं – रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमानअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ। प्रारम्भिक पुनःस्थापनाका लागि मात्रै सरकारलाई तत्काल ५७ मिलियन डलर चाहिने भएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले बुधवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। गैरआर्थिक क्षतिको मूल्याङ्कन गर्दा आवश्यक रकम प्रारम्भिक अनुमानभन्दा बढ्न सक्ने उनले बताए। गैरआर्थिक क्षतिसहितको आधिकारिक विवरण पछि सार्वजनिक गरिने उनको भनाइ छ।

ढकालका अनुसार सरकारले सबै रकम एकैपटक जुटाउन सक्ने अवस्था छैन। त्यसैले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरिएको छ। लस एण्ड ड्यामेज फण्डको बैठकले नेपाललाई प्रस्ताव पेस गर्न २० मिलियन डलर उपलब्ध गराउने निर्णय गरेको छ। उक्त रकमबाट १.६ मिलियन डलर व्यवस्थापन खर्चका लागि छुट्याइएको छ।

फण्डको सचिवालयबाट औपचारिक पत्र प्राप्त भएपछि नेपालले २० मिलियन डलरका लागि प्रस्ताव तयार गरी पेस गर्ने ढकालले बताए। प्रस्ताव जति छिटो पेस गर्न सकियो, स्वीकृति र कार्यान्वयन प्रक्रिया त्यति नै छिटो अघि बढ्ने उनको भनाइ छ।

प्रस्ताव स्वीकृतिका लागि दुईवटा सम्भावित समयसीमा रहेका छन्। डिसेम्बर १५ देखि १७ सम्म फिलिपिन्सको मनिलामा हुने फण्डको बोर्ड बैठकमा प्रस्ताव पेस गर्न सकिनेछ। आवश्यक तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र समीक्षामा समय लागेमा भने मार्च १७ देखि १९ सम्म काठमाडौंमा हुने बोर्ड बैठकसम्म निर्णय हुन सक्ने उनले जानकारी दिए।

“४.७ देखि ४.७५ अर्ब डलरको आवश्यकता प्रारम्भिक अनुमान हो। गैरआर्थिक क्षति तथा नोक्सानी योभन्दा बढी हुन सक्छ,” ढकालले भने, “आधिकारिक तथ्याङ्कसहित विस्तृत विवरण पछि सार्वजनिक गर्नेछौँ।”

बैठकमा उनले विपद्सम्बन्धी अध्ययन गरिरहेका राष्ट्रिय सभा र प्रतिनिधि सभाका समितिबीच पनि समन्वय आवश्यक रहेको बताए। दुवै समितिले छुट्टाछुट्टै अध्ययन गरिरहेकाले उनीहरूका निष्कर्ष र सुझाव एकअर्काका परिपूरक हुनुपर्ने उनको भनाइ छ। दुवै प्रतिवेदनको मूल आशयमा एकरूपता भए सरकारलाई सुझाव कार्यान्वयन गर्न सहज हुने उनले बताए। सम्भव भए दुवै समितिले एउटै प्रतिवेदन तयार गर्न वा कम्तीमा सुझावबीच विरोधाभास नहुने व्यवस्था गर्न उनले आग्रह गरे।

एनपीएलमा एक्सट्रीमको विशेष पुरस्कार : उत्कृष्ट खेलाडीलाई चाँदीको बल

काठमाडाैं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा एक्सट्रीम इनर्जी ड्रिङ्क्सले आफूले प्रायोजन गरेका टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको छ। खेलमा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्सट्रीम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत उक्त उपहार प्रदान गरिनेछ।

खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान गर्ने उद्देश्यले एक्सट्रीमले यो पुरस्कारको व्यवस्था गरेको हो। यसअन्तर्गत एक्सट्रीम प्रायोजित टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मानित हुनेछन्।

पुरस्कारको व्यवस्थाअनुसार एक्सट्रीमले प्रायोजन गरेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीका खेलाडीले सम्मान पाउने अवसर रहनेछ। यस्तो खेलमा एउटा टोलीबाट मात्र उत्कृष्ट खेलाडी छानिने नभई दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ।

यसरी एक्सट्रीम प्रायोजित दुई टोली आमनेसामने भएको खेलमा कुल दुई खेलाडी ‘एक्सट्रीम म्यान अफ द म्याच’ पुरस्कारबाट सम्मानित हुनेछन्। टोलीको नतिजासँगै खेलाडीले मैदानमा देखाएको व्यक्तिगत योगदानलाई पनि सम्मान दिनु यस पुरस्कारको प्रमुख उद्देश्य रहेको छ।

क्रिकेटमा टोलीको सफलताका लागि खेलाडीको व्यक्तिगत प्रदर्शनको महत्त्वपूर्ण भूमिका रहन्छ। ब्याटिङ, बलिङ वा फिल्डिङमार्फत खेलमा योगदान दिने खेलाडीका लागि यस्तो सम्मान थप हौसला बन्न सक्छ। चाँदीको बलको उपहारले उत्कृष्ट प्रदर्शनको पहिचानसँगै खेलाडीलाई आफ्नो मेहनतको स्मरणीय चिनोसमेत दिनेछ।

एनपीएलमा प्रायोजनमार्फत जोडिएको एक्सट्रीमले यस पुरस्कारसँगै खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने पहल अघि सारेको हो। प्रतियोगिताको प्रतिस्पर्धाबीच उत्कृष्ट खेलाडीलाई दिइने यो विशेष सम्मानले उनीहरूको कौशल र मेहनतलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय महिला पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम लागूऔषध थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरणस्थित शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४६ वर्षीया शबानाबानु यार महम्मद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन्।

ब्युरोका अनुसार उनीहरू कात्तिक ९ गते थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडान नम्बर ओडी १८२ मार्फत काठमाडौं आएका थिए।

हवाई मार्गबाट नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनीहरूलाई जाँच गर्दा १४ किलोग्राम लागूऔषध थाई गाँजा फेला पारेको हो।

प्रहरीले उनीहरूको साथबाट लागू औषधसँगै दुई थान पासपोर्ट र दुई थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।

लागूऔषध नियन्त्रण ब्युरोले बरामद गाँजाको स्रोत, नेपाल ल्याउनुको उद्देश्य तथा सम्भावित कारोबारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यद्यपि, बरामद लागूऔषध नेपालमा कसलाई बुझाउने तयारी थियो वा त्यसमा अन्य व्यक्तिको संलग्नता थियो भन्ने विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।