Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सशस्त्र प्रहरी र एसएसबीबीच १० औं द्विपक्षीय समन्वय बैठक सुरु, सीमा सुरक्षा र अपराध नियन्त्रणमा छलफल

Advertisement800×200-1

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको १० औं द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले बैठक बसेको हो।

तीन दिनसम्म चल्ने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले गरेका छन्। प्रतिनिधिमण्डलमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिको सहभागिता छ। भारतीय पक्षबाट एसएसबीका महानिर्देशक संजय सिंघलले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्। उनीसँग गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र एसएसबीका उच्च अधिकारी सहभागी छन्।

बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भएका समन्वयात्मक प्रयासको समीक्षा गरिनेछ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीका अनुसार सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनका आधारमा दशगजा अतिक्रमण हटाउने तथा सीमा स्तम्भको संरक्षण, मर्मत सम्भार र निर्माणबारे छलफल हुनेछ। साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सीमापार प्रभाव पार्न सक्ने महामारी र विपद्को जोखिम न्यूनीकरणका लागि नियमित समन्वय बैठक र तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषय पनि एजेन्डामा छन्।

सीमावर्ती क्षेत्रका नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन र दुवै बलबीच आपसी सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुद लगायतका गतिविधि सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ।

बैठकमा दुवै संगठनबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने, नेपाल–भारत खुला सीमाको प्रयोग गरी हुन सक्ने तेस्रो मुलुकका नागरिकको अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने र सीमा व्यवस्थापनलाई चुस्त तथा आधुनिक बनाउन उपयुक्त प्रविधि प्रयोग गर्ने विषयमा विचारविमर्श हुनेछ। यसैगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्य प्रभावकारी बनाउने, सीमा नाकामा यात्रुको सहजताका लागि थप सहायता कक्ष स्थापना गर्ने तथा समस्या र चुनौती समयमै पहिचान र समाधान गर्न नियमित सम्पर्क, आपसी विश्वास र सूचनाको प्रभावकारी आदानप्रदान जारी राख्ने विषयमा पनि छलफल हुनेछ।

बैठकले नेपाल–भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वय र सहकार्य प्रभावकारी बनाउने विश्वास गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर